प्राविधिक शिक्षा र सीप महत्वपूर्ण : सासद हेमा बेल्बासे के.सी.
भैरहवा । लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी.ले प्राविधिक शिक्षा र सीप महत्वपूर्ण रहेकोमा जोड दिएकी छन् । उनले प्राविधिक शिक्षा र सीपले स्वरोजगार बन्न सहज हुने बताइन् । चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीको आयोजना तथा आस्था महिला उद्यमी संघको सह–आयोजनामा भैरहवामा दुबोको माला बनाउने तालिमको सोमबार उद्घाटन गर्दै सांसद् के.सी.ले यस्तो बताएकी हुन् ।
उनले सीप सिकेर आयआर्जन गर्न सकिने भएकाले सीप महत्वपूर्ण रहेकोमा जोड दिइन् । उनले भनिन्, ‘कुनै पनि तालिम सञ्चालन गर्दा बजारको मागलाई पनि ध्यान दिनुपर्छ । एक जनाले मात्र कमाएर परिवार चलाउन ग्राहो हुने भएकाले महिलाहरु पनि आर्यआर्जनमा लाग्नुपर्छ ।’
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक समेत रहेकी के.सी.ले आफूले महिलाको हकहित र स्वरोजगारका कुराहरुबारे सदनमा पटकपटक बोल्दै आएको बताइन् । उनले आफू प्रदेश सभा सदस्यसँगै महिला उद्यमी पनि भएको बताइन् । उनले भनिन्, ‘म सामान्य परिवारमा जन्मिएको व्यक्ति हुँ । सीप सिकेर विगत १० वर्षदेखि भैरहवामा ए. फोर टेनिङ्ग सेन्टर प्रा.लि. सञ्चालन गरी तालिमसँगै रोजगार पनि उपलब्ध गराउँदै आएको छु । त्यस्तै महिला उद्यमीले उत्पादन गरेका सामग्रीको बजार व्यवस्थापनमा सहयोग गर्दै आएको छु । ’ सकारात्मक सोचका साथ अघि बढे सफलता हासिल गर्न सकिने उनको भनाइ छ ।
तालिमको अवधि बढाएर आगामी दिनमा कम्तीमा ३९० घण्टा सञ्चालन गर्नुपर्ने उनले सुझाव दिइन् । महिलाहरु केवल चुलो चुकौमा सीमित नभइ अब उद्यमी बनी अरुलाई उद्यमी बन्न प्रेरित गर्नुपर्नेमा सांसद् के.सी.ले जोड दिइन् । कसले के भन्छ भनेर सोच्नुभन्दा आत्मनिर्भर बन्ने कार्यमा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
चेम्बर अफ कमर्श, रुपन्देहीले महिलालाई सीप सिकाउने कार्यमा प्राथमिकता दिएको भन्दै संस्थाको प्रशंसा गरिन् । संगठनलाई तालिम सञ्चालन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘यहाँहरुसँग हातेमालो गरेर अघि बढ्छौं ।’
जयसवाल महिला सेवा समिति भैरहवाकी अध्यक्ष पुनम जयसवालले संगठनले राम्रो कार्यक्रम ल्याएको भन्दै धन्यवाद दिइन् । उनले भनिन्, ‘मनले सिक्नुहोस्, आफूले सिकेका कुरा अरुलाई पनि सिकाउनुहोस् । कुनै पनि काम सानो/ठूलो हुँदैन ।’
त्यस्तै चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन) रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले महिलाहरुलाई लक्षित गर्दै संस्थाले विभिन्न तालिम सञ्चालन गर्दै आएको बताए । उनले दुबोको माया स्वास्थ्यका लागि समेत राम्रो रहेको बताए ।
संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले यस्ता सीपमूलक तालिमले महिलालाई रोजगार प्रदान गर्ने बताए ।
आस्था महिला उद्यमी संघकी अध्यक्ष मिनिता थापाले दुबोको माला शुभको प्रतीक भएको बताइन् । आगामी दिनमा अझ राम्रा तालिम सञ्चालन गरिने उनले बताइन् ।प्रशिक्षक सुष्मा भण्डारीले तालिममा आफूले जानेका कुरा सिकाउन पाउँदा खुसी भएको बताइन् ।
तीनकुने टोल सुधार समितिका अध्यक्ष तुल्सीराम पराजुलीले संगठनले विभिन्न समयमा तालिम सञ्चालन गर्दै आएको बताए ।
चेम्बर अफ कमर्श, रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीले ६० जना महिलाको सहभागीता रहेको तालिममा प्रमुख प्रशिक्षक पम्फा सुवेदी र प्रशिक्षक सुष्मा भण्डारीले सहजीकरण गरेको बताइन् ।
कार्यक्रम संयोजक तथा आस्था उद्यमी महिला संघकी निवर्तमान अध्यक्ष विन्दु न्यौपानेको स्वागत तथा उद्योग व्यापार संगठनकी महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
लेखकको सम्वन्धमा