म्याद सकिन डेढ महिना बाकी हुँदा बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै
बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको दोस्रो पटक थपिएको म्याद सकिन डेढ महिना बाँकी रहँदा सडक बिस्तारले गति लिन सकेको छैन । तुलनात्मक रूपमा विगतको भन्दा केही छिटो काम भएपनि म्याद सकिने अवधि सम्म ७० प्रतिशत बढि काम सक्ने बताएको ठेकेदारले हालसम्म जम्मा ५० प्रतिशत काम सकेको छ । आयोजनाका दाउन्ने पश्चिम खण्डका योजना प्रमुख शशांक मिश्रले हालसम्म ५०.६२ प्रतिशत काम सकिएको जानकारी दिए । पछिल्लो पटक थपिएको म्याद सकिँदा सम्म ५५ प्रतिशत बढि काम हुने आँकलन गरिएको छ ।
गत वर्षनै वर्षायाम अगावै सक्ने भनिएको ठूला तथा साना पुलको काम अझै सकिएको छैन् । पश्चिम खण्डमा पर्ने ९ ओटा ठुला पुल मध्ये ५ ओटा सकिएको छ भने एउटाको काम नै सुरु भएको छैन् बाँकी तिन ओटा निर्माणको चरणमा छ । वर्षायाममा पुल निर्माण सम्पन्न नभए डाईभर्सन बगाएर पटक पटक सडक अवरुद्ध हुने समस्या हुने भएकाले ठेकेदारलाई पुलको काम छिटो सक्न ताकेता गरिएको आयोजनाको भनाई छ तर वर्षायाम अगावै काम सकिनेमा शंका छ । यसैगरी साना ३८ ओटा पुल मध्ये ३३ ओटा पुल निर्माण सम्पन्न भएको छ भने २ ओटा निर्माणको चरणमा छ, तिन ओटा साना पुलको कामनै अझै सुरु भएको छैन् ।
१ सय ९५ ओटा कल्र्भट मध्ये २ सय ६३ वटाको निर्माण सकिएको छ भने २८ वटाको काम भईरहेको योजना प्रमुख मिश्रले बताए । हालसम्म पश्चिम खण्डमा एकातर्फ दुई लेनमा साढे २८ किलोमिटर कालोपत्र भएको छ भने दुवैतर्फ कालोपत्र भएको दुरी ११ किलोमिटर मात्रै छ । जीर्ण सडक समयमै कालोपत्र नहुँदा धुलोका कारण सडकनै नदेखिने समस्या छ । दाउन्ने क्षेत्रमा सडक विस्तारको काममा ढिलाई हँुदा यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । वर्षायाम नजिकिँदै गर्दा दाउन्ने खण्डमा जम्मा एक किलोमिटर मात्र सडक पिच भएको छ । थप दुई किलोमिटर वर्षायाम अगावै सक्ने ठेकेदारले प्रतिवद्धता जनाएपनि त्यतिले मात्रै दाउन्नेको सकस टर्ने छैन् । दाउन्ने अहिले पनि बाक्लो धुलोका कारण दिउँसै लाईट बालेर हिँड्नुपर्ने र सडक तथा सवारी साधननै नदेखिने समस्या छ । अझ पानी पर्ने वित्तिकै सडकमा गाडी फस्ने र चिप्लने समस्या भएपनि समाधानका लागी ठेकेदार गम्भीर देखिएको छैन । दाउन्ने खण्डमा निर्माण गनुपर्ने चार ओटा साना पुल मध्ये दुई ओटा निर्माणको चरणमा छ भने बाँकी दुई ओटाको कामनै सूरु भएको छैन् । यस वर्ष दाउन्नेमा वर्षायाम अगावै उपयुक्त समाधान नखोजे ठूलो सास्ती खेप्नुपर्ने अवस्था भएपनि सम्बन्धित निकायले कछुवाको गतिमा काम गरिरहेको भन्दै यात्रुले असन्तुष्टि पोख्दै आएका छन् । दाउन्ने पूर्वी खण्डमा पनि हालसम्म ५० प्रतिशत नै काम सम्पन्न भएको छ ।
२०७५ पुस ५ मा सुरु ठेक्काअनुसार २०७९ साउन २२ भित्रै नारायणगढ–बुटवल सडक विस्तारको काम सकिसक्नुपर्ने भएपछि थप म्याद दिनुपर्ने निश्चित छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा थालिएको सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले पाएको छ । यो सडकमा विस्तारको काम थालेदेखि नै यात्रुले सास्ती खेपिरहेका छन । काममा प्रगति नहुँदा आयोजनाले २०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको थियो । ठेकेदारले चाँडै काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । ठेकेदार कम्पनीले काम अघि बढाएन, बरु ढाँटिरह्यो । काममा प्रगति नभए पनि दोस्रो पटक २०८१ असार सम्मका लागि म्याद थपियो । सम्झौताअनुसार दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रूपैयाँ छ । निर्माण कम्पनीले भने ०८२ मंसिरसम्मका लागि परामर्शदाता मार्फत म्याद थप मागेको छ । बुटवलटुडेबाट
लेखकको सम्वन्धमा