परिवर्तन भैरहेको बुटवल बसपार्क, थपिएका संरचनाले सर्वोत्कृष्ट बनाउने दाबी
बुटवल । सामान्यतया बसपार्क भन्दा गाडिहरु खचाखच हुने, यात्रु समेत त्यस्तै भिडभाड हुने ठाउँ दिमागमा आउँछ। जहाँ न आराम गर्ने स्थल हुन्छ, न त सौच गर्ने सफा चर्पी। तर बुटवलमा रहेको बसपार्कले यो सोचाई चिर्नेगरी कामहरु गरिरहेको छ।
अहिले बसपार्क पुग्दा फ्री वाईफाई, आराम गर्न तथा खाजा खान क्यान्टिन तथा शुरक्षाको लागि सिसिटिभी जडानले यात्रुहरुमा सुरक्षित महसुस भएको छ भने अर्कोतिर बसपार्कभित्र बन्दै गरेका भौतिक संरचनाले थप व्यवस्थित बन्ने देखिन्छ ।
बुटवल सरसफाई अभियानबाट सुरु गरिएको कार्यक्रम अहिले आधुनिक स्नानगृह सहितको व्यवस्थित शौचालय सम्म पुगेको छ । बुटवल शहरमा अहिले यहाँको जनघनत्व पनि बढ्दै गएको छ भने बुटवल अस्तव्यस्त देखिन्छ । बैदेशिक रोजगारका लागि भारतीय प्रवेशद्वार पनि नजिकै भएका कारण सुनौली नाका हुँदै भारत जाने आउने यात्रुहरुको चाप पनि उत्तिकै देखिन्छ ।
लुम्बिनी प्रदेशका १२ जिल्ला बाहेक अन्य छिमेकी जिल्लाबाट समेत बुटवल बसपार्क हुँदै आवातजावत गर्नेहरुको संख्या पनि बढ्दै गएको देखिन्छ । यसले गर्दा बुटवल बसपार्कमा सवारी साधन र यात्रुहरुको चाप बढी नै छ । यी सबै बिषयलाई मध्यनजर गर्दै लुम्बिनी बस टर्मिनलाई यात्रु सेवामैत्री बनाउन शुद्ध पिउने पानी, व्यवस्थित खाजा घर, शौचालय सहितको स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित बिश्राम स्थल निर्माण गरी सुविधा सम्पन्न बसपार्क बनाउने रणनीतिक योजना साथ बुटवल उपमहानगपालिका आगाडि बढेको छ । यसले सवारी चालक र यात्रुहरुलाई त स्वाभाविक रुपमा फाईदा र सहजता हुने देखिन्छ भने अर्कोतिर बसपार्क छेउँछाउँमा भााड तिरेर सञ्चालन गरिरहेका होटल व्यवसायीहरु भने बिस्थापित हुने सम्भावना पनि देखिन्छ ।
२०५७ सालमा बनेका बुटवल बसपार्कका शौचालयहरुलाई परिवर्तन गर्न बुटवलले उपमहानगरले काम अगादी बढाएको छ। बुटवलको नयाँ बसपार्कमा १ करोड ८० लाख ८४ हजार रुपैयाँ लागतमा यात्रुलक्षित सुबिधा सम्पन्न स्मार्ट स्नानगृह सहितको शौचालय निर्माण कार्य भैरहेको छ । बसपार्कलाई गुणस्तरीय, सुविधासम्पन्न र सुरक्षितरुपमा विकास गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले स्नानगृहसहितको शौचालय बनाउन थालेको हो ।
अहिले उक्त स्नानगृहको भौतिक प्रगति भने भने ८० प्रतिशत सम्पन्न भैसकेको पूर्वाधार बिकास शाखा अधिकृत रुक्मांगत बस्यालले बताए । उनले भने, “सुबिधा सम्पन्न स्नानगृहको व्यवस्थापन र सरसफाईमा भने चुनौती नै देखिन्छ । यसका लागि युटिलिटी सपको ठेक्का कुनै एक व्यक्तिलाई दिन सक्यौ भने जिम्मेबारीसँगै सरसफाइ र व्यवस्थापनमा पनि राम्रो हुनेछ । ‘
बुटवल बसपार्कलाई स्तरीय, सुविधासम्पन्न दैशकै नमुना बसपार्कको रुपमा विकास गर्नेगरी योजना अगाडि बढाएको सोही पालिकाका प्रमुख पाण्डेले बताए । यात्रुहरु एकठाउँबाट लामो समय यात्रा गरी अर्को ठाउँमा जाँदा बसपार्कमै स्नान गरी आराम गरेर पुन गन्तव्यतर्फ जान सहज हुनेछ भने यात्रुलाई स्नानको लागि होटल छिर्न पनि परेन र आर्थिक रुपमा पनि यात्रुलाई सहज हुने भएको कारण पनि यस्तो अबधारण ल्याएको प्रमुखले बताए ।
उनले भने, “बसपार्कको पूर्वपट्टी निर्माणाधीन स्नान गृह रहेको छ भने दक्षिणतर्फ कार पार्किङ सहितको ७ तले व्यबस्थित व्यवसायिक भवन निर्माण गर्न डिपिआर तयार भैसकेको छ । ३ सय जना अट्ने क्यान्टिको व्यबस्थापन पनि गरिदै छ बाहिरबाट आउनु यात्रुहरुको लागि सुबिधायुक्त न्युनतम मूल्यमा खाना खुबाउने र प्याकेजिङ खानाको पनि व्यवस्था गराउने तयार गरेको उनले बताए ।
अहिले पुरानो शौचालय भएको स्थानमा भने कोसेली घर निर्माणको लागि लगानीकर्तासगै दीर्घकालिन प्रयोजनामा आउने गरी अध्ययन अनुसन्धान चलिरहेको छ । बसपार्क क्षेत्रलाई फ्रि वाईफाई जोन बनाउने र स्वच्छ पिउने पानीको व्यबस्था गरिने तयारी भैरहेको छ । रात्रीकालिन समयमा पनि सुरक्षित महसुस गराउनको लागि नाईटभिजन सिसिक्यामेरा जडान गर्ने र ५ सय मिटर दुरी सम्म उज्यालो दिने २ वटा हाईमास्ट लाईट जडान गर्ने र त्यसको निगरानी स्वरुप नगरप्रहरी परिचालन गर्ने योजना रहेको प्रमुख पाण्डेले बताए ।
पहिलाको बसपार्क ठेलागाडा र सेकुवा कर्नरले अस्तव्यस्त देखिन्थ्यो महिलाहरुका लागि रात्रीकालिन अबस्थामा बस चढ्न र ओर्लने समेत असुरक्षित भएको थियो । अहिले ती सबै हटाईएको छ । आत्यधिक मात्रामा गुट्खा, भोला र सुर्तीजन्य बस्तुहरु सेवनले पनि बसपार्क फोहोर हुने हुँदा त्यसलाई जथाभावी फ्याक्न समेत निषेध गरिएका छ सरसफाइमा पालिका आफै प्रत्येक्ष रुपमा सहभागी हुने र बसपार्कलाई सुबिधासम्पन्न सुरक्षित बसपार्क सुन्दर बसपार्क र हरियाली बसपार्क गराउने उद्देश्य रहेको नगर प्रमेख पाण्डेले बताए । यस बिषयमा यातायात व्यबसायी, होटल व्यवसायी र स्थानीयहरुसँग छलफल गरी उनीहरुको सुझाब अनुसार अगाडि बढ्ने उनले बताए ।
पश्चिम बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेलले बसपार्क भित्र आधारभुत कुराहरू एकैठाउ हुनुपर्ने बताउछन् । उनले यात्रुलाई सङै सवारी र चालकहरुको आवश्यकतालाई बुझ्नुपर्ने उल्लेख गरे। बसपार्कभित्र यात्रुहरु मैत्री सामाजिक वातावरण छ कि छैन सावारी भाडा दरमा यात्रुहरु मारमा परेका छन कि छैन यात्रुको गुनासो के छ भन्ने जस्ता बिषयमा अनुगमन निरीक्षण गर्नु पालिकाको जिम्मेवारी भएको उनले बताए । लामो दुरीबाट आएको सवारी चालक र यात्रुलाई मध्यनजर गरी बसपार्कमा होहल्ला धेरै हुन्छ त्यसकारण अन्य कुनै बाहिर क्षेत्रमा रिफ्रेस सेन्टर जहाँ चालकले एकाध घण्टा आराम गरेर जान सकोस् त्यस्तो खालको अबधारणा ल्याउन जरुरी रहेको अध्यक्ष खरेलले बताए ।
लेखकको सम्वन्धमा