सिद्धबाबा सुरुङका लागि विष्फोट सुरु
बुटवल । पाल्पाको सिद्धबाबामा आइतबारदेखि विस्फोट गराएर सुरुङ खन्ने कामलाई तीव्रता दिइएको छ । जिल्ला सुरक्षा समिति रुपन्देही र पाल्पाको निर्णय बमोजिम सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्न जेठ १३ गते आइतबारदेखि विस्फोट गराउने काम सुरु गरिएको हो । जिल्ला सुरक्षा समितिको बैठकबाट जेठ ११ गते शुक्रबार प्रारम्भिक रुपमा पूर्वअभ्यास गर्ने र १३ गतेदेखि आवश्यकता अनुसार सवारीसाधन रोकेर विष्फोट सुरु भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबामा १ हजार १ सइ २६ मिटर सुरुङ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ ।
नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकताअनुसार विस्फोट गराइने प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकार दिए । विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवागमन रोकिनेछ ।जेठ ११ गते शुक्रबार निर्माणस्थलमा नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा विस्फोटको पूर्वाभ्यासको काम गरिएको हो । आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेटअनुसार सुरुङ मार्गको भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको । मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको सद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जानकारी दिएको छ ।
पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ साल फागुनमा ठेक्का सम्झौता भएर सुरुङ निर्माणको काम भइरहेको छ । राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्न परेपछि सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माण गर्ने योजना सुरु भएको हो ।माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म सुरुङमार्ग निर्माणको काम भइरहेको छ । ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र निर्माणको काम पूरा हुनुपर्ने आयोजनाका प्रमुख रामपुकार जयसवालले जानकारी दिए । निर्माण कम्पनीले सुरुङमार्गको डिजाइनमा एक वर्ष समय खर्चिदा सुरुङ खन्ने काममा ढिलाइ भएको हो ।
मुख्य सुरुङमार्ग दक्षिण पोर्टलबाट ४८.३ मिटर सुरुङ खनिएको छ । उत्तर पोर्टलतर्फ ३७.४ मिटर सुरुङ खनेको जानकारी दिइएको छ । दक्षिण र उत्तरतर्फका दुवै पोर्टलका साथै निकासका लागि राखिएका तीनवटा बाइपास सुरुङहरूमा २३, १५, १५ मिटर मात्र खनिएको छ ।
आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी तीन–तीन सय मिटरको दुरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको आयोजनाले जनाएको छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको हो । जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे २ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने हुन्छ । तराइदेखि पहाडका पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा सुरुङमार्गले आवागमन सहज र सुरक्षित हुने विश्वास लिइएको तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले जानकारी दिए ।
लेखकको सम्वन्धमा