चर्चामा

आहा ! क्या बनिरहेछ ‘जितगढी’

आहा ! क्या बनिरहेछ ‘जितगढी’
1 0
Read Time:10 Minute, 39 Second

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तरगतको बुटवलको तिनाउ पुलबाट १ किलोमिटर भन्दा कम दुरीमा रहेको ऐतिहासिक स्थल जितगढी किल्ला पछिल्लो सयम निकै परिवर्तित भईरहेको छ । ‘जितगढी किल्ला’ त्यही किल्ला हो जहाँ विसं १८७२ बैशाख ७ गते अर्थात् २०९ वर्षअघि दिन भएको लडाइँमा नेपालसँग हारेपछि तत्कालीन अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ।

Advertisement

बुटवल वडा नम्बर १ स्थित जितगढी किल्ला नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) युद्धमा (विसं १८७१/७२) वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थल हो। बुटवल गढी कब्जा गरी पाल्पा हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अंग्रेज गर्भनर लर्ड हेस्टिङ्ग्सको निर्देशन र अंग्रेज सेनाका मेजर जनरल सुलीभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वमा रहेको हतियारधारी अंग्रेज सेनालाई नेपाली वीर योद्धाले लडेर पराजित गरेका थिए। अंग्रेज फौजसँगको युद्धमा कर्णेल उजिरसिंह थापाको कमाण्डमा अदम्य साहस, रणकौशलता, पौरख एवं वीरताका साथ युद्ध गरी नेपालीले विजय हासिल गरेको भूमि हो जितगढी।

केहीसमय अघिसम्म बालबालिका खेल्ने मैदान जस्तै बनेर ओझेलमा परेको वीरताको जीवित गाथा सम्झाउने जितगढी किल्लाको स्वरुप अहिले भने पूरै फेरिएको छ। बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्राथमिकतामा परेको जितगढीलाई राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थलका रुपमा विकास गर्न लागिएको हो।
अहिले बैशाख ७ गतेलाई विजय उत्सव दिवसका रुपमा मनाउने परम्पराको थालनी भएको छ। ऐतिहासिक सम्पदाका रुपमा रहेको यो किल्लाको संरक्षणको पहल भएको झण्डै २५ वर्षपछि बुटवल उपमहानगरपालिकाले अहिले विशेष कार्यक्रम बनाएर संरक्षण सुरु गरेको बुटवल उपमहानगरपालिकाका पूर्वाधार शाखा प्रमुख एवं स्थानीय रुकमागत बस्यालले बताए ।

किल्लाको संरक्षण र संवर्द्धन गर्दै यसलाई प्रदेशको मात्र नभई देशकै पर्यटकीय स्थलको रुपमा विकास गर्ने र बटौली पर्यटन सर्किटको मुख्य केन्द्र नै जितगढीलाई बनाउने बुटवलको लक्ष्य छ। जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइरहेको छ।

अंग्रेजलाई हराउने कणर्ेल उजिरसिंह थापाको पूर्णर्ण कदको शालिक निमार्ण गरिएको छ। नजिकै १३ जना वीर योद्धाहरु काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, समशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शूरवीर बोहरा, हवल्दार रणशूर बानियाँ, सिपाही हंशवीर अधिकारी, जुठे बस्नेत र थरघर नकुल बानियाँको सालिक ठडिएका छन्।

किल्लाको वास्तुकला, इतिहास, नेपाल-अंग्रेज युद्धका बारेमा जानकारी दिने डिजिटल बोर्ड तयार भएको छ । पानीको फोहोरा सहित हरियाली गार्डेन तयार भएको छ।त्यस्तै, किल्लाको पूर्वतर्फ बगिरहेको तिनाउ नदी अवलोकन गर्न मिल्ने गरी भ्यू डेक बनेका छन् ।
सराया नाचलगायतका साँस्कृतिक नाच तथा झाँकीहरु प्रदर्शन गर्न मिल्ने गरी छुट्टै स्थान तोकिएको छ। यसका लागि संरचना तयार भएको छ।त्यस्तै, रंगभूमिको पछाडिको भागमा अवलोकनकर्ताहरुले नेपालको रणनैतिक आक्रमणका ठाउँहरु देखाइएको नेपालको ठूलो तस्वीर राख्ने काम सुरु भएको छ।

यसरी भए काम
जितगढीमा अंग्रेज-नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन वि.सं. १८७१ बैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उप-महानगरपालिकाको ०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रुपमा मनाउन सुरु गरेको थियो । जितगढीमा वि.सं.१८७२ बैशाख ७ गते भएको लडाइँमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ । सोही दिन (बैशाख ७ गते) लाई विजय उत्सव दिवसका रुपमा बुटवल उप-महानगरपालिकाले मनाईरहेको छ । उत्सवको अवसरमा ११ दिन लामो पैदल यात्रामा नेपाली सेनाको टोलि जितगढी आउने गरेको छ। 

नेपाली सेनाको स्वामित्वमा रहेको जितगढी किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा किल्ला बुटवललाई हस्तान्तरण गरिएको हो। हस्तान्तरण भएर आएपछि बुटवलले निकै प्राथमिकताका साथमा कामहरू गरिरहेको छ।

अबका योजना यस्ता छन्
जितगढी किल्ला परिसरमा रहेको करिब तीन बिगाहा जग्गामा विभिन्न संरचना निर्माणका लागि गुरुयोजना बनाइएको छ । त्यहाँ सार्वजनिक, सरकारी पुर्जा तथा व्यक्तिको नामको र सुकुम्बासी जग्गा रहेको छ । यी सबैलाई एकैठाउमा समेट्ने तथा व्यक्तिको जग्गा र त्यहाँ बनेका घरहरुको समेत मुआब्जा दिएर किल्लामा ल्याइने उपमहानगरका शहरी पूर्वाधार विकास महाशाखा प्रमुख गौतम रौनियारले जानकारी दिए । उनका अनुसार किल्लाको बाहिरी र वरपरको भागलाई आकर्षक बनाइने छ, तिनाउ नदीलाई व्यवस्थित गर्दै जलपर्यटनका रुपमा विकास गरिने छ भने किल्लासंगै पर्यटनलाई मणिमुकुन्दसेन दरबार क्षेत्र, नुवाकोट गढीसहितका पर्यटन क्षेत्रसंग जोडेर सर्किट बनाइने छ ।

अस्तीत्व जोगाउन ईतिहासबिदको पहल

‘जितगढी सम्पदाको गुरुयोजना बनाएर काम गरेपछि जितगढी सम्पदाको कायापलट भएको छ’, स्थानीय अगुवा ईतिहासबिद् रवीन्द्र गोपाल लाकौल भन्छन्, ‘इच्छाशक्ति र दृढता भयो भने काम सफल हुने रहेछ भन्ने उदाहरण जितगढी बनेको छ।’

लाकोल जस्ता ईतिहासबिदहरुले पटक पटक आवाज उठाउने एवं पहिले देखिका कुराहरुमा पटक पटक आवाज उठाउँदै गर्दा जितगढीको अस्तीत्व बनिरहेको छ ।संघीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग, नेपाली सेनालगायतका सुरक्षा निकायहरु, बटौली संरक्षण समिति तथा स्थानीय संघ-संस्था तथा क्लबहरुको सहकार्यमा जितगढीको संरक्षण र संवर्द्धनका तथा बटौली पर्यटन सर्किट व्यवस्थित गर्ने काम भइरहेको छ।

यस्ता छन् चुनौती
प्रशिद्ध स्थल जितगढी किल्लामा पुग्नको लागि बुटवलका स्थानीयलाई समेत निकै सास्ती खेप्नुपर्छ । किनी बुटवलमा कुनैपनि स्थानमा जितगढी जाने बाटो यहाँ हो भन्ने लेखेको पाईँदैन् । जितगढी पुग्ने सवारी पार्किङको समेत स्थान अभाव रहेको छ । साथै किल्ला प्रवेश गर्दा काटेको टिकटको उपयोगिताको बारेमा समेत प्रश्नहरु उठ्ने गरेका छन् । 


यसरी राम्रो व्यवस्थापन गर्दै छ उपमहानगर

बुटवलमा रहेको जितगढी किल्लाको प्रचारप्रसार गर्नको लागि बुटवल उपमहानगरपालिकाले जानकारीमूलक सामाग्री राख्न लागेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। उनले बुटवल राजमार्ग चौराहा, बुटवल बसपार्क, फुलबारी लगायतका क्षेत्रमा जितगढी किल्लाको प्रचार सामाग्री राखिने उल्लेख गरे। उनले जितगढीमा टिकट काट्ने ब्यवस्था समेत केही समयमा शुरु हुने भन्दै पार्किङ लगायतका समस्या समाधान हुने दाबी गरे।

उनले तिनाउ नदि किनारमा आरती केन्द्र स्थापनाको योजना रहेको सुनाए। उनले यो आयोजनाले सन्ध्याकालमा स्थानीय एवं अन्य क्षेत्रका पर्यटकहरुको आकर्षक बढ्ने उल्लेख गरे। उनले जितगढीको बारेमा बालबालिकाहरुलाई समेत सानो उमेर देखि नै जानकारी दिनको लागि बुटवलले स्थानीय पाठ्यक्रममा समेत समावेश गरेको उल्लेख गरे।

बुटवल उपमहानगरपालिकाले योजना बनाएका काम हेर्दा यहाँका स्थानीयहरुले जितगढीलाई आहा! क्या ! राम्रो भन्न थालेका छन। जितगढी उत्सवको अवसरमा गरिने र्‍याली तथा विभिन्न कार्यक्रमहरुले पनि स्थानीयगरुमा उत्साह थपिरहेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %