आज असार १५ कृषकलाई थाहा छैन
वुटवल। नेपाल कृषि प्रधान राष्ट्र हो । धेरै नेपालीहरूको मुख्य पेसा पनि कृषि नै रहेको छ । तर परम्परागत कृषिको कारणले उत्पादन कमी हुँदा कृषि पेसामा व्यक्ति रुचि बढेको पाईँदैन् । कृषकहरूको मुलुक नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ।
यो दिन परापूर्व कालदेखि नै मानो रोपेर मुरी फलाउने दिनको सुरुवाती दिनको एवं दही–चिउरा खाने दिनको रूपमा लिइन्छ। यस दिनलाई विगत २० वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ। तर यो दिनमा गरिने क्रियाकलाप तथा हुने गतिविधि परम्परागत रूपमा मात्रै मनाउँदै आए पनि यसको मौलिकता र फाइँदाको बारेमा धेरै अनविज्ञ रहेका छन् ।
आफ्नो जीवनकालको ३० वर्षभन्दा धेरै कृषि क्षेत्रमा बिताएका कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ३ का ४४ वर्षीय पवन खत्री ८ बिगाहा खेतमा धान खेती गर्दछन् । असार १५ आउने विषयमा उनी जानकार हुन्छन् तर असार १५ मा गरिने क्रियाकलाप एवं त्यसका फाइँदाको बारेमा उनलाई थाहा छैन ।
उनले आफूले सुरुवात गर्दा असार १५ मा रमाइलो गर्ने, दही चिउरा खाने, धान दिवस मनाउने भन्ने कुरा त थाहा भयो, तर यसो गर्दा आफूलाई के फाइदा हुन्छ भन्ने थाहा छैन । उनी भन्छन्, ‘मलाई यसको फाइदा भन्ने त थाहा छैन, तर यो दिन यसो गर्छन् चाहिँ भन्न सक्छु । ’
उनी मात्रै होइन गुल्मी पिपलधाराका सोभाखर घिमिरे पनि ५५ वर्षका भए तर उनीहरूलाई असार १५ को मौलिकता बारे खासै थाहा छैन । असार १५ मा दही चिउरा खाने प्रचलन रहिआएको र त्यसलाई निरन्तरता दिँदै आएको प्रतिक्रिया दिए ।
उनीहरू मात्रै होइन, असार १५ मा गरिने धेरैजसो गतिविधिको बारेमा कृषकहरूलाई थाहा छैन । असार १५ को मौलिकता एवं यसका फाइदाहरूको विषयमा सबैले थाहा पाएमा यसको गरिमा अझै बढ्ने भएकोले यसको महत्व बुझाउन थालिएको कृषिसँग विभिन्न संघसंस्थाहरुले आवाज उठाउन थालेका छन् ।
यस्तो गरिन्छ असार १५ मा
यस वर्ष “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि “ भन्ने नाराका साथ २०८१ को राष्ट्रिय धान दिवस मनाउने सरकारले निर्णय गरेको छ ।किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार १५ गते राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो। यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ। त्यसैले हरेक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी धान दिवस मनाउने गरेको लुम्बिनी प्रदेश कृषि मन्त्रालयका सचिव यमनारायण देवकोटाले बताए ।
उनले सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेका बताउँदै नेपालमा पनि कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आइएको बताए । उनका अनुसार नेपालमा १४ लाख हेक्टर जमिनमा हरेक वर्ष धान खेती हुँदै आएको छ।
सरकारले असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधि र सिप आम किसान माझ अझ पुग्न नसकेका कारण खेती योग्य जमिन भएर पनि धान उत्पादनमा वृद्धि हुन नसकेको कृषि विज्ञहरूको भनाई छ।
नेपाली संस्कृति अनुसार असार १५ मा दही चिउरा खाने प्रचलन छ। खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ।वर्षा याममा हिलाम्य भएको शरीरमा दही खाँदा ऊर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन्।
असार १५ रमाइलो दिन मात्र होइन, महत्वपूर्ण दिन पनि हो। त्यस दिन माना रोपेर मुरी फलाउने उक्ति नै प्रचलित छ। धानको उत्पादनले नेपाली कृषकहरूको जीवनमा मात्र होइन, राष्ट्रको जीवनमा पनि प्रभाव पार्दछ। धानको उत्पादन राम्रो भएमा त्यसले हाम्रो आर्थिक जीवनमा सकारात्मक प्रभाव पार्दछ।
पहिले कृषकको लागि मात्र महत्वपूर्ण दिन थियो भने अहिले यो दिनको महत्व व्यापक भएको छ। गीत गाउनेहरू पनि असारमा रमाउँछन्। असारे गीतको भाखा भन्नासाथ लोभिनेहरू धेरै छन्। जनकवि केशरी धर्मराज थापाले ” हो हो माले हो हो ” भन्ने गीत गाए पछि यसको महत्व अरू बढेको छ। पर्यटन क्षेत्रमा लागेकाहरूले पनि असार १५ को महत्व बढाएका छन्।
पहिले असार १५ मा कृषकहरू मात्र हिलो खेल्थे र धान रोप्थे भने अहिले पर्यटन व्यवसायीहरू पनि खेतमा झरेका छन्। हिलो खेल्ने गरेका छन्। पर्यटन व्यवसायीहरू मात्र होइनन् उनीहरूले विदेशी पर्यटकहरूलाई समेत हिलो खेल्न लगाएका छन्।
असार १५ को हिजो सांस्कृतिक महत्व थियो भने अहिले त्यसको आर्थिक महत्व पनि भएको छ। पर्यटकहरूलाई हिलो खेतमा लैजानमा पोखराका पर्यटन व्यवसायीहरूले सिर्जनात्मक भूमिका खेलेका छन्। अहिले अरू ठाउँहरूमा पनि पोखरेली व्यवसायीहरूले गरेझैँ विदेशी पर्यटकहरूलाई खेतमा लैजान थालेका छन्।
असार १५ मनाउने तौर तरिकामा धेरै परिवर्तन आएको छ। हिजो दही चिउरा खाएर दिनभरि खेतमा काम गर्दथे भने अहिले केही ठाउँमा होटलको परिकार पस्कने गरिएको छ। २÷३ घण्टा रमाइलो गरी जानेहरूको सङ्ख्या बढ्दै छ। गीतको भाखा पनि फेरिन थालेको छ। परिवर्तन त आयो, नयाँ किसिमले रमाइलो पनि भयो। तर यसको मौलिकता कतै लोप होला कि भन्ने आशङ्का उत्पन्न भएको छ।
यस्तो छ वैज्ञानिक कारण
हिउँदे अन्नबाली भित्राउँदा उत्पन्न हुने विभिन्न किसिमका भुसका कारणले स्वासप्रस्वासमा समेत प्रभाव पर्न जान्छ । यस्तो अवस्थामा दही चिउरा खाँदा त्यो भुस घाँटीमा रहेर इन्फेक्सन फैलाउन नसक्ने चिकित्सकहरू बताउँछन् । उनीहरू पहिलेदेखि चलिरहेका कुराहरूमा कुनै न कुनै वैज्ञानिक आधार भएको बताउँदै असार १५ मनाउँदा मानव स्वास्थ्यमा समेत राम्रो प्रभाव पर्ने फिजिसियन चिकित्सक डा. महेश घिमिरेले बताए । उनले असार १५ मा दही चिउरा खाने प्रचलनले पाचन प्रणालीलाई फाइदा पुग्ने कुरा सबैसम्म जानकारी नभएको आफूले महसुस गरेको उल्लेख गरे ।
दहीको प्रयोगले सारिरमा निकै फाइदा पुग्ने बताउँदै उनले दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण स्वास्थ्यका लागि फाइदाजनक हुने बताए ।
उनका अनुसार दही मुटुको समस्या र उच्च रक्तचापका बिरामीलाई फाइदाजनक मानिन्छ । पेटसम्बन्धी समस्या हुनेलाई दहीको सेवन अत्यन्त उपयोगी मानिन्छ । अरुचिको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ । आन्द्रा तथा पेट सम्बन्धी रोगहरूमा दहीको नियमित सेवनले फाइदा पु¥याउँछ । दहीको सेवनले उच्च रक्तचाप नियन्त्रणमा सघाउ पु¥याउँछ । दहीको नियमित सेवनले कोलेस्ट्रोल स्तर बढ्नबाट रोक्दछ । मुटुको धड्कन बढ्ने समस्यामा पनि दहीको सेवन लाभदायी हुन्छ । दहीको सेवनले हड्डीहरूको विकासमा सहयोग पु¥याउँछ । दाँत, नङ बलियो पार्न पनि दहीको सेवन उपयोगी हुन्छ ।अनिन्द्राका समस्या भएकाहरूले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ । दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन
लेखकको सम्वन्धमा