बुटवललाई कुरूप बनाइरहेका अव्यवस्थित तार ब्यवस्थापन गर्दै उपमहानगर
बुटवल । अहिले बुटवलको मुख्य सडक निर्माणाधीन अवस्था छ । फुटपाथ पनि अस्तव्यस्त छ । त्यही फुटपाथमा लत्रिएका अव्यवस्थित तारका कारण पैदल यात्रुलाई हिँड्न समस्या छ । प्रदूषण पनि उत्तिकै भएको छ ।
मिलन चोकदेखि तीनकुनेतर्फ जाने सडकका पोल पोलमा तार चुँडालेर गुजुल्टो पारेर भुइँमै राखिएको छ । उक्त सडक पनि अहिले निर्माणको क्रममा छ ।
सडक निर्माणका क्रममा काटिएका तारहरूको गुजुल्टो र अस्तव्यस्त तारका कारण दुर्घटनाका घटनाहरूसमेत बढ्न थालेका छन् ।
अहिले बुटवलका चोक चोकमा तारहरू भुइँमै देखिन्छन् । बुटवलको योगीकुटी, मिलन चोक, बसपार्क, देविनगर, अस्पताल लाईन, ट्राफिक चोक, हाटबजार, दिपनगर, गोलपार्क क्षेत्रमा अहिले भित्री सडक र मुख्य राजमार्गमा तार यत्तिकै देखिन्छन् ।
विद्युत् सिर्जित फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ । विद्युतीय सामान बिग्रिएपछि वा समय सकिएपछि फोहोर भन्दै फाल्ने प्रवृत्ति छ । त्यस्ता सामानमा प्रयोग भएका रसायन र मर्करी मान्छेसम्म आउन सक्छन्, जुन जनस्वास्थ्यका लागि घातक मानिन्छ । तीव्र रूपमा बढ्दो विद्युतीय सामग्री प्रयोगले देशका ठूला शहरहरूमा ‘ई–वेस्ट म्यानेजमेन्ट’ प्रमुख चुनौतीको रूपमा खडा भएको हो ।
यसैबीच आर्थिक केन्द्रको रूपमा पहिचान बोकेको बुटवललाई कुरूप बनाइरहेका दूर सञ्चार, इन्टरनेट सेवा प्रदायक र विद्युतका तार व्यवस्थापन गर्न पहल सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले वडा कार्यालयहरुमार्फत कडाइका साथ व्यवस्थापनको काम सुरु गरेको छ।
उपमहानगरको पहल
यो समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकाले पहिलो चरणमा बुटवल १५ तामनगर–फर्साटिकर सडक र वडाका भित्री सडकको तार व्यवस्थापन गर्न आग्रह गरेको छ ।
सूचना जारी गर्दै उपमहानगरपालिकाले पोलमा रहेका तारका कारण गाउँ टोल अस्तव्यस्त भएको र यातायातको साधन आवतजावतमा समस्या भएकाले केवलको तारमा आफ्नो ट्याग लगाउन र तार पोल व्यवस्थित गर्न सबैलाई निर्देशन दिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष शिव रानाले यदि वडाभित्र तार व्यवस्थापन नभए सबैलाई कानुनअनुसार कारबाही गर्ने बताए ।
नगर प्रवक्तासमेत रहेका उनले तार व्यवस्थापन कार्यलाई सबै वडामा क्रमशः लागू गर्दै जाने बताए । ‘सबै वडाबाट गुनासो आएका छन् । हामीले क्रमशः यसको व्यवस्थापन गर्छौं । तार व्यवस्थापन भएपछि शहरको सौन्दर्यीकरण हुन्छ भने दुर्घटनाको जोखिम पनि कम हुन्छ’, उनले लुम्बिनीप्रेससंग भने ।
उनले बुटवलका केही वडामा यसअघि मौखिक आदेशअनुसार तार व्यवस्थापन गर्न लगाएको भए पनि अब उपमहानगरपालिकाले यस विषयमा कडा भएर लाग्ने बताए ।
बजेट घटाउनेसम्मको चेतावनी
शहरको सुन्दरता कायम गर्न स्थानीय तहले पनि आफ्नो अधिकार प्रयोग गर्न सक्छ । तर त्यो पनि हुन नसक्दा बुटवल तारकै कारण कुरूप देखिन्छ ।
बुटवल उप महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले भने शहरको सौन्दर्यीकरणलाई प्राथमिकतामा राखेर तारको व्यवस्थापन गरिरहेको बताए । उनले ६ महिना अगाडि विद्युत् कार्यालयका प्रमुख संयोजक, दूर सञ्चार कार्यालय र सम्बन्धित वडा अध्यक्ष सदस्य रहने गरी समिति बनाएर तार व्यवस्थापनको कार्य सुरु गरेको बताए ।
‘बुटवलमा २२ वटा केवलका संस्थाहरू रहेछन् । तर ३–४ वटा मात्र नगरमा सूचीकृत छन् । बाँकी सम्पर्कमा आएका छैनन् । करको दायराभित्र नआएका सबैका तार अब व्यवस्थापन नगरे वडाले काट्छ’, उनले भने ।
उनले पोलमा तार राखेबापतको राजस्व विद्युत् कार्यालयले ल्याउने भए पनि अहिले व्यवस्थापनको काममा केही जटिलता भने देखिएको उनले बताए ।
वडाले तारको व्यवस्थापन गर्ने भने पश्चात् बुटवल उपमहानगरपालिका वडा नं ६ ले तार काट्न सुरु गरेको छ । बुटवल उपमहानगरपालिकाले सम्पर्कमा नआउने संस्थाको तार पोलबाट हट्ने समेत बताएको छ ।
वडा कार्यालयले तारको व्यवस्थापन गर्दै तार नकाटे नगरले दिने १० प्रतिशत बजेट रोक्का गरिने नगरप्रमुख पाण्डेले चेतावनीसमेत दिएका छन् । तारको व्यवस्थापन हुन नसक्दा शहरको सौदर्यकरण हटेको उनको भनाइ छ । उनले बुटवलमा दर्ता नभई रहेका तारबाट गलत काम भएमा सुरक्षा चुनौती एव जिम्मेवार उपमहानगरले गर्न नसक्ने अवस्था आउन नदिन कडाइका साथ लागिएको उनको भनाइ छ।
उनका अनुसार यतिबेला बुटवलको वडा नम्बर १,४,५,६ र १५ ले तार व्यवस्थापनको काम गरिरहेका छन् ।
लेखकको सम्वन्धमा