चर्चामा

निर्माणको ६० वर्ष पछि बुटवल-गोरूसिंगे-चन्द्रौटा सडकखण्ड ४ लेन बिस्तार हुँदै, समयमा निर्माण नसकिए अलपत्र पर्ने चिन्ता

निर्माणको ६० वर्ष पछि बुटवल-गोरूसिंगे-चन्द्रौटा सडकखण्ड ४ लेन बिस्तार हुँदै, समयमा निर्माण नसकिए अलपत्र पर्ने चिन्ता
0 0
Read Time:7 Minute, 1 Second

बुटवल । लुम्बिनी प्रदेश मात्रै नभई देशभर नै सञ्चालनमा आएका अधिकांश योजना समयमा सम्पन्न हुँदैनन् । बुटवल नारायणगढ ११४ किलोमिटर सडक विस्तार पनि समयमा नसकिँदा यात्रुले निकै सास्ती भोगिरहेका छन्।

Advertisement

पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल-गोरूसिंगे-चन्द्रौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई ‘फोर लेन’ स्तरोन्नति गर्ने ठेक्का लागेपछि समयमा पूरा गर्ने सडक विभागको लक्ष्य छ । आयोजनाको लागि २७ करोड ५० लाख डलर (झण्डै ३५ अर्ब रुपैयाँ) विश्व बैंकले उपलब्ध गराउने भएको छ ।

विक्रम संवत् २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ६० वर्षपछि फराकिलो हुन लागेको छ । त्यो बेला पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा राजा महेन्द्रले भारत, रूस र बेलायतको सहयोग मागेका थिए । सडकका डिभाइडर पनि बेलायती मोडलकै थिए । महेन्द्र शाहले नवलपरासीको गैंडाकोटमा राजमार्गको शिलान्यास गरेपछि ‘महेन्द्र राजमार्ग’ नामकरण गरिएको थियो ।देशमा गणतन्त्र आएपछि राजमार्गको ‘महेन्द्र’ नाम हटाएर ‘पूर्वपश्चिम’ राजमार्ग कायम गरिएको छ ।

सडक डिभिजन कार्यालय बुटवलका सिनियर डिभिजन इन्जिनियर होमबहादुर एसीले बढ्दो सवारीसाधनको चापले अब राजमार्गहरू कम्तीमा फोर लेन बनाउन अनिवार्य भइसकेको बताए ।

आयोजनाले नेपालमा छानिएका व्यापारिक कोरिडोरमा व्यापार, यातायात लागत र पारवहन समय घटाएर व्यापार र आबद्धता सुधार गर्ने विश्व बैंकले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले आयोजनाको शुभारम्भ गरेका थिए । आयोजनाबाट नेपालका विभिन्न प्रदेश र छिमेकी मुलुकसँग यातायात र व्यापार आबद्धता बढाउने भएकाले नयाँ आर्थिक सम्भावनाको ढोका खोल्ने जनाइएको छ ।

यसरी हुनेछ कार्य
निर्माण भएको ६० वर्ष पुगेको सडक अहिले साँघुरो र जीणर् छ । आयोजना अन्तर्गत बुटवलदेखि चन्द्रौटासम्मको सडक ४ लेन र बुटवलको तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने योजना छ ।
२ लेनमा रहेको पूर्वपश्चिम राजमार्गलाई अहिले विभिन्न खण्डमा गरी धमाधम स्तरोन्नति गर्ने काम भइरहेको छ । जसका कारण भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुनेछ ।नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

सडक विभागका सहसचिव विजय जैसीले आयोजनाको ठेक्का प्रक्रियामा छिट्टै जाने तयारी रहेको बताए । पहिलो चरणमा बुटवलदेखि गोरूसिंगे ५० किलोमिटर सडक स्तरोन्नति हुनेछ,’ जैसीले भने, ‘गोरुसिंगेदेखि चन्द्रौटासम्म १९ किलोमिटर डिजाइन भएको छैन । अबको १ महिनाभित्र ठेक्का भइसकेपछि भदौदेखि फिल्डमै काम हुन्छ ।’

सहसचिव जैसीले थपे, ‘हामीले कम्तीमा ३ वर्षभित्र सक्ने गरी ठेक्का लगाउने तयारी गरेका छौं । ‘हाइवे’ निर्माणमा ढिलाइ गर्नु हुँदैन । महत्त्वपूणर् आयोजनालाई समयमा सम्पन्न गराउने दायित्व सबैको हुन्छ ।’

सडक स्तरोन्नतिसँगै दोस्रो खण्डअन्तर्गत तिनाउ नदीमा सिग्नेचर पुल पनि नयाँ प्रविधिमा बनाइनेछ । युरोपका धेरै शहरहरूमा सिग्नेचर पुलहरू निर्माण भएका छन् । आकर्षक हुने भएकाले यसले पर्यटकीय महत्त्व समेत राख्नेछ । झट्ट हेर्दा नेटवर्क आर्क ब्रिज जस्तै डिजाइनमा बनेको देखिने भए पनि यो फरक खालको हुनेछ । पुलको लागत १ अर्ब रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हालको तिनाउ पुल जीणर् हुँदै गएको र बुटवल क्षेत्रको सवारी चाप समेत अत्यधिक बढेका कारण नयाँ ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि ३ वर्ष अघिबाट तयारी थालिएको थियो । यो बुटवल-चन्द्रौटा सडक विस्तार भएपछि पुरानो पुलले सवारीसाधनको चाप नथाम्ने भएका कारण पनि पुल निर्माण गर्न लागिएको हो ।

पुलको किनारामै नेपाली वीरताको गाथा बोकेको जीतगढी किल्ला समेत रहेकाले पर्यटनको सम्भावनालाई ध्यानमा राखेर पनि यो पुल सिग्नेचर ब्रिज हुने गरी निर्माण गर्ने योजना बनाइएको छ ।

स्थानीयमा आशंका
समयमा निर्माण नसकिएमा यात्रुले सास्ती भोग्नुपर्ने अवस्था आउनेप्रती स्थानीयहरुले चिन्ता ब्यक्त गर्न समेत थालेका छन् । रुपन्देही र कपिबलस्तुका स्थानीयले सडक निर्माणका क्रममा बुटवल नारायणगढ सडक जस्तै अलपत्र परेमा निकै समस्या भोग्नुपर्ने बताउँछन् । कपिलबस्तु बाणगंगा नगरपालिका २ का पवन पन्थी सडक निर्माणका कारणले सडक समयमा निर्माण सम्पन्न हुनेमा आशंका ब्यक्त गर्छन् । उनले शिलापत्रसंगको कुरकानीमा भने, ‘हामीले धेरै स्थानको सडक निर्माणका कामहरु देखिरहेका छाँै, कुनैपनि समयमा सम्पन्न भएका पाउँदैनाँै । त्यसैले यो सडक पनि समयमा सम्पन्न हुन्छ भन्नेमा ढुक्क चाँही छैनौँ।’उनले समयमा काम सम्पन्न गर्ने गरि काम गर्न आग्रह गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %