राजनीतिक अहम्ताको चपेटामा नेपाल संस्कृत विश्वविद्यालय
मुना खनाल
नेपाल संस्कृत विश्वविद्यालय संस्कृत विद्याको संरक्षण र संवर्धनका विराट् उद्देश्यबाट स्थापित उच्च शैक्षिक संस्था हो । संस्कृत विद्या मानवसभ्यताको एक महान् निधि हो । यसप्रति संसार आकृष्ट छ । यसमा ज्ञान र विज्ञानका अनेक शाखा–उपशाखा छन् । यसर्थ नेपाल संस्कृत विश्वविद्यालय वस्तुतः एक सुस्पष्ट औचित्य बोकेको उच्च शैक्षिक संस्था हो । यसको स्थापना २०४३ सालमा भएको हो । यसका स्थापनामा संस्कृत विद्याप्रति हार्दिक निष्ठा हृदयभरि बोकेका मान्य विद्यामनीषीहरूको त्याग र निष्ठाको इतिहास गाँसिएको छ । विशेषतः दाङको विद्वत्श्रम यस विश्वविद्यालयका जीवनसँग गाँसिएको छ ।
यस विश्वविद्यालयको स्थापना भएको आज करिब करिब ३७ वर्ष जति भएछ । यस अवधिमा यसले उच्च प्रतिष्ठा र हेर्न लायक संस्थागत रूप लिइसक्नुपर्ने हो तर त्यसो हुन सकेको छैन । यो दुःखद पक्ष हो । विराट् उद्देश्यबाट जन्माइएको यस संस्थालाई सुकेनास लाग्यो । रोगाउनसम्म रोगायो यो । झन् झन् मरन्च्याँसे बन्दै गएको भान हुन्छ । यसको कारण हो यस संस्थाभित्र उच्च मानसिकताका साथ शैक्षिक तथा प्राज्ञिक गतिविधि नहुनु । यसभित्र त दुर्गन्धित स्वार्थ र अपाच्य राजनीतिक दुराग्रहले मात्र अड्डा जमायो । मरि पनि नहाल्ने, खुट्टा टेक्न पनि नसक्ने अवस्थामा यो संस्था पुगेको देखिन्छ ।
पञ्चायती कालमा स्थापित यस विश्वविद्यालयका प्रारम्भकालीन पदाधिकारीहरूले लामो समयसम्म काम गर्न पाएनन् । पञ्चायत ढल्यो । पञ्चायती सत्ताले नियुक्त गरेका पदाधिकारीहरू बिदा भए । त्यसपछि बहुदलीय सत्ता सुरु भयो । त्यही सत्ताले विश्वविद्यालय नेतृत्व चुन्न थाल्यो । क्रमशः मुलुकमा काङ्ग्रेसको हालीमुहाली चल्न थाल्यो । त्यसमा पनि खुमबहादुर खड्काजस्ता खरा राजनीतिक नेताको प्रभाव क्षेत्र भएकाले काङ्ग्रेसी राजनीतिले विश्वविद्यालयलाई नराम्रोसँग दुष्प्रभावित गर्न थाल्यो । काङ्ग्रेसबाहेक अरूले ढिम्किन नपाउने अवस्था सिर्जना भयो । यस्तो स्थिति लामै समयसम्म रह्यो । त्यस चरम काङ्ग्रेसीकरणको दुष्प्रभाव विश्वविद्यालयले अहिले पनि भोगिरहेको छ । विश्वविद्यालयमा काङ्ग्रेसी जनहरूसँग “हामी ठूलो सङ्ख्यामा छौँ, वामपन्थीहरू कम छन्, त्यसैले
हाम्रै हालीमुहाली चल्नुपर्छ“ भन्ने गुप्त दम्भ जुन अहिले पनि विद्यमान छ, त्यस दम्भको कारण त्यही काङ्ग्रेसीकरण हो ।
मुलुकको राजनीतिक उतारचढावसँगै विश्वविद्यालयमा कहिले काङ्ग्रेसी र कहिले वामपन्थीहरूले नेतृत्वको अवसर पाउन थाले । कहिले समन्वयमा विश्वविद्यालयको नेतृत्व आयो । वामपन्थीहरू नेतृत्वमा आउँदा आफ्नो भाग खोसिएको अनुभव भयो काङ्ग्रेस पक्षधरहरूका लागि । त्यसैले बाधाव्यवधान सिर्जना गर्न प्रारम्भदेखि नै थालियो । मुलुकका राजनीतिभित्र वामपन्थीहरूको पनि वर्चस्व बढ्दै गएकै थियो । काङ्ग्रेसको एकल बोलवाला हराउँदै गयो । मुलुकका हरेक ठाउँमा वामपन्थीहरू पनि सशक्त बन्दै गए । यस अवस्थामा मुलुकभरिका काङ्ग्रेसी वृत्तमा खपिनसक्नु भयो । त्यसैले ’नरहे बाँस, बजे बाँसुरी’ को शैली अपनाउँदै गैरजिम्मेदार बनेर संस्थाहरूमा काङ्ग्रेसीहरू आफ्ना हर्कत देखाउन थाले । यस्ता हर्कतले के शैक्षिक, के सामाजिक; कुनै पनि संस्थालाई हित गर्दैन । गरेन पनि । यसले इगोको बीजारोपण भयो । तब काङ्ग्रेसीहरू नेतृत्वमा आउँदा वामपन्थीहरू पनि आफ्नो शक्तिप्रदर्शन गर्न थाले । ’यहाँ तिमीहरू मात्र छैनौ, हामी पनि छौँ’ भनी जानकारी उनीहरूले पनि सशक्त ढङ्गले दिन थाले । तर जब काङ्ग्रेस सत्तामा आसीन हुन्छ, विश्वविद्यालयजस्ता संस्थाहरूमा पनि भाँडभैलो सुरु हुन्छ । आज नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला त्यसैको ज्वलन्त नमुना हो । प्राध्यापक प्रेम चलाउनेमाथिको मरणान्त आक्रमण तथा पूर्वाञ्चल विश्वविद्यालयका सेवा आयोग अध्यक्ष प्रा. महेश दाहालमाथि गरिएको असभ्य र अभद्र व्यवहार त्यसैका सच्चा उदाहरण हुन् ।
नेपाल संस्कृत विश्वविद्यालयमा वर्तमानमा वामपन्थी विचारका व्यक्तिहरूको नेतृत्व छ । आजका नेतृत्वले विश्वविद्यालयलाई केही न केही श्रेय दिन खोजेकै देखिन्छ । हरेक क्याम्पसमा क्याम्पस–प्रमुखको पदावधि सकिएको वर्षौँ वर्ष भइसक्दा पनि अघिल्लो नेतृत्वले वास्ता गरेन । वर्तमान नेतृत्वले सबै क्याम्पसमा क्याम्पस प्रमुख दियो । संघ–संगठनका बीच समन्वयको भावना राखेर त्यो भएको छ । बाह्र वर्षदेखि रोकिएको दीक्षान्त पूरा ग¥यो अहिलेकै नेतृत्वले । अधिकांश क्याम्पसमा तथा विश्वविद्यालयअन्तर्गतका प्रायः सबै कार्यालयहरूमा आवश्यक शिक्षक र कर्मचारीको अभाव भएको धेरै भयो । त्यस आवश्यकतालाई पूरा गर्न वर्तमान नेतृत्वले विज्ञापन ग¥यो । विधि र आवश्यकताअनुसार खुल्ला तथा आन्तरिक विज्ञापन भएका छन् । रोकिएको पुरानो कर्मचारी विज्ञापनको काम पूरा ग¥यो यही नेतृत्वले । भौतिक विकासका कामको गति पनि बेगिलो बनेको छ । यसरी केही उल्लेखनीय कामहरू भएका कुरामा विमति राख्ने ठाउँ नै छैन । विज्ञापनअनुसार सेवा आयोगले प्राध्यापकको विज्ञापानलाई पनि पूर्ण गरिसकेको छ । यसरी निष्क्रिय भएकाले खिया लागेर पत्रु बन्न आँटेका विश्वविद्यालयीय पार्टपुर्जालाई पुनः सक्रियता दिने काम वर्तमान विश्वविद्यालय नेतृत्वले गरेको छ । यति हुँदाहुँदै पनि काङ्ग्रेस पक्षधर वृत्तबाट विश्वविद्यालयका सक्रियताको बाटो छेक्ने काम भएको छ । कति दुर्भाग्य ?
वास्तवमा विश्वविद्यालयमा खुला विज्ञापनलाई पूरा हुन दिने हो भने विश्वविद्यालयलाई काङ्ग्रेसमय बनाउने लक्ष्यमा बाधा हुन्छ भन्नेमा विश्वविद्यालयको काङ्ग्रेस–वृत्त स्पष्ट छ । अयोग्य भए पनि आफ्ना मान्छेलाई विश्वविद्यालय सेवामा प्रवेश गराउनै पर्ने ख्वाब बोकेको काङ्ग्रेसी धार सेवा आयोगका परीक्षाबाट नआत्तिने कुरै भएन । त्यसैको परिणाम हो अहिलेको तालाबन्दी । सत्ताशक्तिको दुरुपयोग गरेर खुला विज्ञापन रोक्नका लागि पहिलेदेखि नै गरेका हर्कतको पछिल्लो रूप नै अहिलेको तालाबन्दी हो ।
काङ्ग्रेसी वृत्त काङ्ग्रेसी सत्ताबाट कति पात्तिएको र मात्तिकएको छ तथा कतिसम्मका निकृष्ट हर्कत गर्न पनि पछि पर्दैन भन्ने कुराको नमुना हेर्न आदरणीय गुरु प्रेम चलाउनेमाथि भएको साङ्घातिक हमला र पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष प्रा. महेश दाहालमाथि भएको बर्बर आक्रमणबाट थाहा हुन्छ । जति अपराध भए पनि सरकार आफूनिकटलाई संरक्षण दिइहाल्छ । प्रेम चलाउने काण्डका अपराधीहरूका विरुद्धको मुद्दा फिर्ता भएबाट यसबारे धेरै स्पष्ट भइसकेको छ । त्यसैले अहिले ने.वि.संघलाई अगि सारेर विश्वविद्यालयका अग्रपथमा बाधा खडा गरिएको छ । सरकारको साथ त्यसमा छँदै छ । जसरी भए पनि खुला विज्ञापनको गति बन्द गर्नु छ, विश्वविद्यालयलाई आफ्ना अयोग्य मान्छेको अखडा बनाउनु छ र विज्ञापन गरे पनि अहिले बन्द गरेर पछि काङ्ग्रेसी पक्षधर नेतृत्वमा गराएर जथाभावी गरी आफ्ना मान्छेलाई छिराउनु छ । यही मक्सदले विश्वविद्यालयमा काङ्ग्रेस–वृत्तबाट तालाबन्दी गरिएको कुरा छर्लङ्गै छ ।
लोकतान्त्रिक पद्धतिलाई अँगालेको मुलुकमा खुला विज्ञापनलाई रोक्न मिल्छ ? खुला विज्ञापनको मूल ढोकालाई बन्द गरेर करार, आंशिकलगायतका अनेक प्रकारका उपायबाट आफ्ना मान्छेलाई जागिर खुवाउने र पछि तिनैलाई जस्केलाबाट विश्वविद्यालयका स्थायी सेवामा तान्न मिल्छ ? सबै योग्य नागरिकको अधिकार होइन खुला विज्ञापनमा भिड्ने ? वास्तवमा भन्ने हो भने अहिले विश्वविद्यालयमा भएका तालाबन्दीले लोकतान्त्रिक पद्धतिकै उपहास गरेको छ । साँच्चै भन्ने हो भने विश्वविद्यालयजस्ता शैक्षिक संस्थामाथिको भर्त्सनीय बलात्कार हो यो तालाबन्दी । विश्वविद्यालयको अस्तित्वलाई प्रतिष्ठित बनाउने हो भने खुला विज्ञापनलाई रोक्ने अवाञ्छित हर्कतलाई निस्तेज गरी अहिले रोक्न खोजिएको खुल्ला विज्ञापनलाई सुचारु हुन दिनुपर्दछ र योग्य नेपाली नागरिकलाई प्रतिस्पर्धाबाट वञ्चित हुन दिनुहुँदैन । खुल्ला विज्ञापनविना दक्ष जनशक्तिको प्रवेश असम्भव छ ।
अहिले वामपन्थी पक्षधरको विश्वविद्यालयीय नेतृत्वलाई व्यवधान गरेर भोलि एकछत्र गरौँला भन्ने मनसाय पनि त्यति सजिलो चाहिँ छैन । भोलि अर्को आउँदा पनि अर्का पक्षले तालाबन्दी गर्न सक्छ । मुलुकमा कुनै एक दल वा संगठनमात्र छैन । थुप्रै राजनीतिक शक्तिहरू बलशाली छन् । बजारमा तालाचाबी पनि सकिएका छैनन् । आज लागेकोभन्दा ठूलो ताला लाग्न सक्छ भोलि । यही इगो र प्रतिइगोको शृङ्खलालाई निरन्तरता दिइरहने हो भने विश्वविद्यालयको हबिगत के होला ?
सबैलाई हेक्का हुनुपर्दछ । के विश्वविद्यालयले आफ्नो लक्ष्य बमोजिम प्राज्ञिक र शैक्षिक लक्ष्य हासिल गर्न सकेको छ ? विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या कति छ ? के दुनियाँका सामु संस्कृत शिक्षाको विश्वासिलो केन्द्रका रूपमा यस विश्वविद्यालयले आफ्नो प्रतिष्ठा कायम राख्न सकेको छ ? के आधिकारिक विद्वान्हरुका उत्पादनमा यो विश्वविद्यालय अब्बल बन्न सकेको छ ? यी सबै प्रश्नहरूले यस विश्वविद्यालयले आफ्ना गतिलाई तीव्र मात्र होइन, तीव्रतम बनाई अगि बढ्नुपर्ने आवश्यकतातर्फ सङ्केत गर्दछन् । संस्कृत शिक्षा संसारमा अलोकप्रिय छैन । नेपालका सन्दर्भमा भन्ने हो भने विश्वविद्यालयभित्र हुने गरेका गैरजिम्मेदार गतिविधि भने असाध्यै अलोकप्रिय र घातक देखिएका छन् ।
संसार कुन गतिमा अगि बढेको छ ? त्रि.वि. र ने.सं.वि. भन्दा धेरै पछि मात्र स्थापना भएको काठमाडौं विश्वविद्यालयले कस्तो संस्थागत रूप लिइसकेको छ ? नयाँ पुस्ताले कस्ता विश्वविद्यालयमा अध्ययन गर्न चाहन्छ ? अध्यापन र अध्ययनको आदर्श रूप के हो ? यी सबै सवालहरू संस्कृत विश्वविद्यालयका सामु उभिएका छन् । त्यसैले अब तालाबन्दी होइन, बाधा र अड्चन होइन, आफ्ना वा पराईको परीक्षण होइन; विश्वविद्यालयलाई उच्च प्रतिष्ठा र गरिमा दिने कुरामा विश्वविद्यालयभित्रका सबै राजनीतिक विचारहरू, नागरिक समाज, सरकार, स्थानीय विद्वत्–समाज तथा सबै राजनीतिक दलहरूले समेत रुचि देखाउन् र समाधानमुखी बनेर अगाडि बढुन् ।
लेखकको सम्वन्धमा