फोहोर ब्यवस्थापनमा बुटवलको सहकारी अभियान,नगरकै नमुना फोहर व्यवस्थापन
माधव पौडेल / बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ८ की सीता आचार्य एक वर्षअघिसम्म घरबाट निस्कने फोहोर कता फयाक्ने चिन्तामा हुन्थिन । दिन बिराएर घरमा संकलन भएको फोहोर कहिले नजिक जंगल त कहिले नालामा फयाक्ने गर्थिन । घरमा सामानसंगै भित्रने प्लाष्टिकजन्य फोहोर र अन्य फोहोर फयाक्न दिनदिनैको टाउको दुखाई थियो । पछिल्लोसमय भने उनी घरमा उत्पादन हुने फोहोर सहजै ब्यवस्थापन गर्न सफल भएकी छिन । ‘बिहानै घरदैलोमा नै फोहोर उठाउने गाडी आउछ ।’—उनले भनिन । सहकारीबाट फोहोर ब्यवस्थापनको परियोजना संचालन भएपछि निक्कै सहज भएको उनि बताउछिन । कुहिने र नकुहिने दुई थरी बकेटमा संकलन गरि उचित ब्यवस्थापन गर्दै आएको उनले बताईन । ‘फोहोर कहा फयाक्ने भन्ने चिन्ता छैन ।’—उनले भनिन । एक परिवारको न्युनतम ७० रुपैयामा फोहोरको सहि ब्यवस्थापन गर्न पाउदा उनि खुशी छिन । सहकारीको सदस्य समेत रहेकी उनि फोहोरबाट पनि आम्दानी गर्न पाउदा दंग छिन । पहिले फोहोर फाल्ने चिन्ता लिने उनि अहिले यसैबाट आम्दानी भएको बताउछिन ।
सोही वडाका राम शर्मा पोखरेल पनि सहकारीमार्फत फोहोर ब्यवस्थापनको नया शुरुवातसंगै धेरै सहज भएको बताउछन । घरघरबाट निस्कने फोहोरलाई बैज्ञानिक ढंगबाट ब्यवस्थापनसंगै मोहर संकलन गर्न पाउदा धेरै खुशी छन । ‘पहिलेपहिले हप्ता दिनसम्म फोहोर नउठ्ने समस्या भोगेका थियौ ।’— उनले भने । सहकारी स्थापनाभएसंगै दैनिक फोहोर संकलन हुने गरेको उनले बताए । घरमै फोहोर संकलन गर्ने गाडी आउदा सहज भएको उनि बताउछन । यो काम अन्य स्थानले समेत सिको गरेमा राम्रो हुने थियो ।’
सोही वडाका विष्णु कँडेल सहकारी सदस्य भएर फोहोर ब्यवस्थापनमा स्थापनाकादेखी काम गर्दै आएका छन । शुरुवातमा स्थानियहरुले यो काममा बिश्वास नगरेको उनी बताउछन । फोहोर ब्यवस्थापनको काम सहकारीले गर्न नहुने केहीको तर्क आएको उनि स्मरण गर्छन । ‘अहिले काममा सफल भएपछि भने अहिले उनिहरु नै दंग छन ।’— उनले भने ।
बुटवल उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिबनगर सामुदायिक वन उपभोक्ता समुह तथा बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्था लि.को सहकार्यबाट दुई वटा वडामा नमुना फोहोर व्यवस्थापन हुदै आएको छ । बिसं २०७६ पुस १६ गते स्थापना भएर सहकारीले
बिसं २०७७ साल कार्तिकमा फोहोर ब्यवस्थापनको अभियानलाई शुरु गरेको थियो । बिसं २०७९ चैत २६ बाट फोहोर संकलन र ब्यवस्थापन गर्दै आएको सहकारीको कार्य अहिले प्रभावकारी देखिएको छ ।
धेरैजसो स्थानीय तहमा फोहर व्यवस्थापनको काम टाउको दुखाइ बनिरहेको बेला बुटवल उपमहानगरपालिकाका दुई वडामा सुरु गरिएको काम उदाहरणीय बनेको छ । करीब डेढ करोड रुपैया लागतमा फोहोर प्रशोधन केन्द्र स्थापना भएको हो । बिहान सबेरै ३ वटा टेक्टरबाट घरदैलो गरि फोहोर संकलन गरिन्छ । फोहोरमैला व्यवस्थापन केन्द्रका संयोजक फोहोरविज्ञ टोपलाल शर्माले स्थानियहरुलाई फोहोर ब्यवस्थापनको ज्ञान सहकारीमार्फत दिन सफल भएको बताउछन । फोहोर ब्यवस्थापन चुनौती देखिएको बेला आफूले यो परियोजना सुरु गरेको उनले बताए । ‘हामीले शुरुवातमा सहकारीमार्फत वडाबासीलाई जोड्ने काम गर्यौ ।’—उनले भने । सुरुमा उपभोक्तालाई बनी पार्न गारो भएको बताउने उनि आजभोलि भने धेरै सुधार हुँदै आएको उनि बताउँछन । उनिहरुलाई फोहोर के हो ? यसको सही ब्यवस्थापनका फाईदा/बेफाईदा बारे सचेतना जगाउने कार्यक्रमहरु गरेको उनले बताए । घरबाट निस्कने फोहोर एकै ठाउमा राख्ने चलनलाई तोड्न दुख भएको उनि बताउछ । कुहिने र नकुहिने फोहोर संकलन गर्ने विधि र यसलाई छुट्याउदा आम्दानी गर्न मिल्ने समेत ज्ञानहरु दिदा अभियान प्रभावकारी भएको उनले दाबी गरे । ‘फोहोरका रुपमा संकलन हुने फलाम, काँच, प्लास्टिक, विद्युतजन्य सामग्री, कार्टुन, कागजलगायत ६० प्रतिशत वस्तु छुटाएर बिक्री गछौ ।’—शर्माले भने । बुटवल उपमहानगरपालिकामा वातावरण तथा सरसफाइ शाखाको प्रमुख भएर फोहोर ब्यवस्थापनमा काम गरेका उनि फोहोर व्यवस्थापन हरेक व्यक्ति जिम्मेवार भएको बताउछन । फोहोरलाई शुरुवातमा छुट्उदा डम्पिङ साइटसम्म पुर्याउनुपर्ने फोहोरको मात्रा कम हुने उनी बताउछन । यसबाट ढुवानी खर्च पनि बचत हुने गरेको उनको अनुभव छ । कुहिने फोहोरलाई घरमा नै मल बनाउन सकिने भन्दै उनले सहरी क्षेत्रमा गरिने कौसी खेती र सजावटका बिरुवा रोप्दा यही मलको प्रयोग गर्न सकिने उनि बताउछन । महँगोमा मल किन्नुको साटो घरैमा कुहिने फोहोर छुट्ट्याएर व्यवस्थापन गर्नु उपयुक्त हुने उनको तर्क छ । फोहोर प्रशोधन केन्द्रसम्म आएका कुहिने फोहोरलाई कम्पोष्ट मल बनाएर बेच्ने गरेको उनले बताए । अहिले दुई वडाको फोहोर ब्यवस्थापन गर्दै आएको केन्द्रमा विद्युत् र उपकरण स्तरवृद्धि गर्न सके बुटवल बजारको फोहोर प्रशोधन सकिने उनि बताउछन । फोहोर प्रशोधन केन्द्र बुटवल-७ शिवनगर सामुदायिक वनलाई विभिन्न प्रजातिका रुख र फूल रोपेर सुन्दर बनाइएको छ । नजिकै दिपनगर र सुक्खानगरको बाक्लो बस्ती रहेपनि डम्पिङ साइट रहेको स्थानियबासीहरुलाई आभास नहुने उनी दाबी गर्छन ।
नगरपालिकाका वातावरण शाखाका प्रमुख तुलसा अर्याल शहरीकरण भएसंगै बुटवल नगरको फोहोर ब्यवस्थापनमा धेरै चुनौती थपिएको बताउछिन । बुटवलको १९ वडाबाट दैनिक ६० टन फोहोर उत्पादन हुने उनले बताईन । यसमध्येको केन्द्रमा दैनिक ५ टन फोहोर संकलन गरि ब्यवस्थापन हुने गरेको बताए । नगरकै नमुना फोहोर ब्यवस्थापनको शुरुवात भएको उनि बताउछिन । संकलित फोहरमध्ये कुहिने फोहोरलाई एक ठाउँमा राखेर कम्पोस्ट मल बनाएर फलफूल तथा तरकारीका बेर्ना उत्पादन गरी सहर भित्रका कौसी खेतीलाई सहुलियत रुपमा बिक्री वितरण गर्ने काम समेत भएको छ । त्यहाँ दैनिक, अर्ध साप्ताहिक र साप्ताहिक रुपमा फोहोर संकलन गरिँदै आएको छ । नगरपालिकाले हरेक घरबाट फोहोर संकलन वापत उपभोक्ताबाट परिवार संख्या, ब्यवसायका आधारमा मुल्य निर्धारण गरेको उनले बताईन । अहिले उपभोक्तालाई मासिक ७० रुपैयाँदेखि २ हजार १ सय रुपैयाँसम्म मुल्य लिने गरिएको छ । शिवनगर सामुदायिक वन उपभोक्ता समुहको करिब ३ बिगाहा क्षेत्रफलमा केन्द्र रहेको छ । फोहोर विसर्जन स्थलमध्ये करिब डेढ रोपनी क्षेत्रफलमा सरसफाइ पार्क निर्माण हुँदैछ । केन्द्रको सञ्चालन खर्च नकुहिने फोहोर बिक्रीबाट उठ्ने गरेको उनले बताईन । फोहोर संकलन, मेशिन संचालनमा गरि ३० जनाले रोजगारीसमेत पाएका छन ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवलको मुख्य चुनौतीमध्ये फोहोर एक भएको बताउछन । फोहोरलाई श्रोतको रुपमा प्रयोग गरि आम्दानी गर्ने योजनाका साथ परियोजनाहरु अगाडी बढाएको उनले बताए । बुटवल सहरलाई सरसफाइयुक्त सहरको नारालाई साकार बनाउने अभियानमा आफ्नो टिम लागेको उनले दाबी गरे । बुटवलको बसपार्क र सुखौरा खोलाबाट सरसफाई अभियान सुरु गरिएको उनले बताए । खुल्ला ठाउँमा फाल्ने फोहोरलाई ब्यवस्थित तवरबाट सहकारीमार्फत एकीकृत रुपमा ब्यवस्थापन गर्ने थालनी शुरु भैसकेको उनले दाबी गरे । फोहोरबाट मोहर आम्दानी गर्ने गरी अगाडि बढेको उनले बताए । फोहोरकै कारण नगरमा दुर्गन्ध, डेंगुजस्ता रोगको समस्या प्रत्येक वर्ष हुने गरेको स्मरण गर्दै उनले स्थानियहरुमा सचेतना बढाउने गरि कार्यक्रमहरु वडावडामा चलाउदै आएको बताए । पहिलो चरणमा सचेतना दिने र बिस्तारै फोहोर ठिक ढंगबाट ब्यवस्थापन नगर्नेलाई कारवाहीको दायरामा ल्याउने उनले बताए । स्थानिय टोल, वडा कार्यालयमार्फत यसको जिम्मेवारी दिईने उनले बताए । शिवनगर वनभित्रको प्लान्ट परीक्षणको रुपमा रहेको हुँदा त्यसको प्रतिफल हेरी अन्य वडाहरुमा पनि यस्तै प्लान्ट स्थापन गर्ने लक्ष्य नगरपालिकाको रहेको भन्दै उनले थप २ वटा प्लान्ट निर्माण गर्ने तयारीमा नगरपालिका रहेको उनले बताए । नगरको फोहोरलाई दीर्घकालिन समस्या समाधान हुने गरि काम अघि बढाउने उनले बताए ।
लेखकको सम्वन्धमा