चर्चामा

स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी
0 0
Read Time:6 Minute, 57 Second

बुटवल । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्विर चर्चामा छ । जुन तस्विरमा स्टेचरमा एक महिलालाई बोकेर स्वास्थ्यकर्मीहरू लम्किरहेको देखिन्छन् । तस्विर सञ्जालमा सार्वजनिक भएपछि जसको बारेमा प्रतिक्रियाहरू पनि आइरहेका छन् । आउने अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन्, जसमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गरिएको छ । सञ्जालमा छाइरहेको उक्त तस्विर प्यूठानको ऐरावती गाउँपालिका- ६, काल्नेको हो ।

Advertisement

काल्नेकी ३० वर्षीया जीवा विकलाई एक्कासी सुत्केरी व्यथाले च्याप्यो । शनिबार बेलुकी करिब ८ बजे उनी बर्थिङ सेन्टरमा भर्ना भइन । आमासँग हिँडेर मल्लरानी- ३ स्थित धरमपानी स्वास्थ्य चौकी पुगेकी जीवाले त्यसैदिन राति १० बजे छोरी जन्माइन । आमा र बच्चाको आवश्यक उपचारपछि स्वास्थ्य संस्थाले घर जान सल्लाह दियो । तर, उनी आफँै हिँडेर घर जान सक्ने अवस्था थिएन । एक्ली आमाले उनी र बच्चालाई लैजान सक्ने अवस्था झनै रहेन ।

लगातारको झरीले बाटो बिगारेकाले यातायातका साधन आउने स्थिति थिएन । गाउँका युवाहरू बोलाउ भने पनि घरमा छैनन् । उनका श्रीमान भारतमा रोजगारी गर्दछन् । अब के गर्ने ? स्वास्थ्यकर्मीहरू पनि अलमल परे । अरु कुनै उपाय नभएपछि स्वास्थ्यकर्मीले आफैँ बोकेर सुत्केरीलाई घरसम्म लैजाने निधो गरे । वर्षाले सडक बिग्रिएको र गाउँमा युवाहरूसमेत नभएका कारण सुत्केरी महिलालाई स्वास्थ्यकर्मीहरूले बोकेरै घरसम्म पुर्‍याएको धरमपानी स्वास्थ्य चौकीका इञ्चार्ज टुकाराम पोख्रेलले बताए ।

‘भर्खरकी सुत्केरीलाई हिँडाउँदा झन जोखिम हुने देखेर बोक्न तयार भयौं,’ उनले भने-‘सडक अवरुद्ध थियो । गाउँमा युवा भेटिएनन् । अनि बोक्न स्टेचर उठायौं ।’

सुत्केरी जीवाको घरदेखि धरमपानी स्वास्थ्य चौकी करिब एक घण्टाको दूरीमा छ । साढे २ किलोमिटर अफ्ठेरो बाटोमा बोकेर सुत्केरीलाई घर पुर्‍याइएको हो । ‘स्वास्थ्य चौकीमा ७ जना कार्यरत छौं,’ उनले भने-‘एक जना सिस्टरलाई कार्यालयमा छोडेर अरु सबै सुत्केरी बोक्न गयौं ।’
बाटोमा स्वास्थ्यकर्मीहरूले सुत्केरी बोकेको देखेर पनि कोही मान्छेले पनि सहयोग नगरेको इञ्चार्ज पोखरेलले गुनासो गरे । उनले भने-‘बाटोमा मान्छेहरूले हामीलाई हेरिरहे । तर, सहयोग गर्न आएनन् ।’

स्वास्थ्य चौकी इञ्चार्ज पोख्रेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जीवालाई पालैपालो बोकेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनीहरुले कहिले खालीखुट्टा त कहिले चप्पल लगाएर सुत्केरी बोकेर हिँडेको देखिन्छ । जीवा विक मल्लरानी-२ को स्याला भन्ने ठाउँबाट हालैमात्र बसाइँ सरेर ऐरावती गाउँपालिकामा गएकी थिइन् ।

यो स्वास्थ्य चौकी प्यूठानको चुजाठाँटी बजार नजिकै पर्छ । जीवाको घर जाँदा त्यही बजारको बाटो हुँदै जानुपर्छ । स्वास्थ्य चौकीमा आएका व्यक्तिहरुले बोक्न नमाने पनि बजारबाट कसै न कसैले पक्कै काँध थापेर साथ देलान् भन्ने लागेको थियो स्वास्थ्यकर्मीहरुलाई । तर, बजार क्षेत्रबाट पनि कोही सहयोगी निस्किएन् । आठ वर्षदेखि अनमी पदमा कार्यरत पार्वताका लागि सुत्केरीलाई बोकेर घरैसम्म पुर्‍याइदिएको पहिलो अनुभव हो ।

‘हामीले केहीबेर दुःख पाए पनि सुत्केरी र शिशु दुवै स्वस्थ हुनुहुन्छ भन्ने कुरा सुनेका छौं । त्यही थाहा पाउँदा पनि आनन्द लाग्छ,’ उनले भनिन्-‘हामीले जे सक्थ्यौं, त्यही गर्‍यौं ।’ एक घण्टा स्टेचरमा बोकेर घरसम्म पुर्‍याउन पाएकामा स्वास्थ्यकर्मी खुसी छन् । तर, स्थानीयहरुबाट सहयोग नपाउँदा भने दुःख व्यक्त गरेका छन् । ‘बजारको बाटो भएर गयौं । कसैले पनि काँध थाप्न आएनन्,’ पोख्रेलले भने-‘स्वास्थ्य चौकीबाट हिंडाउँदा आउँछन् की भन्ने लागेको थियो । हेरेर बसे तर, काँध थाप्न आएनन् ।’

स्वास्थ्यकर्मीको माया र साथ पाएकोमा जीवा खुसी छिन् । सो स्वास्थ्यचौकीमा प्यूठानको मल्लरानी, ऐरावती गाउँपालिका र अर्घाखाँचीको भूमिकास्थानको १ नम्बर वडाका स्थानीयले सेवा लिँदै आएका छन् ।

स्वास्थ्य चौकीमा २४ घण्टा सेवा
स्वास्थ्य चौकीको खुल्ने समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हो । तर, ऐरावती गाउँपालिकाको यो स्वास्थ्य चौकीमा २४ घण्टा उपचार सेवा प्रदान गरिंदै आएको छ । स्वास्थ्य चौकी प्रमुख पोख्रेलका अनुसार गत वर्ष जिल्लामा कार्यसम्पादनमा दोस्रो स्थान प्राप्त गरेको थियो, स्वास्थ्य चौकीले ।

‘स्वास्थ्य चौकी भएर पनि हामीले २४ घण्टा उपचार सेवा दिएका छौं,’ उनले भने-‘यसपाली पहिलो स्थानमा पुर्‍याउने अठोट छ ।’ प्राथमिक स्वास्थ्य केन्द्रभन्दा राम्रो स्वास्थ्य उपचार प्रदान गरिरहेको भनाइ उनको रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %