सानैदेखीको हुटहुटीमा सफल बनेकी सौन्दर्यकला व्यवसायी अम्बिका

सानैदेखीको हुटहुटीमा सफल बनेकी सौन्दर्यकला व्यवसायी अम्बिका
0 0
Read Time:9 Minute, 20 Second

बुटवल । कुनै पनि काम गर्नको लागि ब्यक्तिमा इच्छा शक्तिको आवश्यकता पर्दछ । आफुले केही गर्छु भन्नेहरू प्रायः अन्ततः सफल नै बनेका हुन्छ । कुनै पनि क्षेत्र रोज्न वा मन पराउनको लागि विभिन्न कुराहरूले उत्प्रेरणा दिने गर्दछ।

Advertisement

यस्तैमा निकै लामो दृढ अठोटले सफल बनेकी छन् ब्युटिसियन अम्बिका लम्साल । बुटवल ११ बुद्धनगरमा न्यु फेमिना ब्युटी पार्लर तथा एकेडेमी सञ्चालन गर्दै आएकी अम्बिकाको कहानी पनि रोचक रहेको छ ।

मध्यम वर्गीय समुदायमा २०३८ सालमा जन्मिएकी अम्बिकाले केही सिकौँ, केही नयाँ गरौँ भन्ने हुटहुटीलाई एउटा उचाइमा पुग्न सफल भएकी छन् ।

बुटवल उपमहानगरपालिका ११ बुद्ध नगर मा न्यु फेमिना व्युटिपार्लर तथा एकेडेमी तथा बुटवल ९ तीनकुनेमा सलोन सञ्चालन गरिरहेकी छन् ।

पहिले देखी नै सौन्दर्यकला व्यवसाय क्षेत्रमा निकै उत्साहका साथ लागेकी उनले बुटवलमा आएर करिब २० वर्ष अघि एक जना साथीसँग मिलेर ५५ हजार लगानी गरी सुरु गरेकी थिइन् ।

आफूलाई स्थापित गर्नको लागि १५ वर्षको सेरोफेरो समय लगाएकी उनको व्यवसाय अहिले ५० लाखको सेरोफेरोको लगानीमा पुगेको छ । उनी स्वरोजगार बन्नको लागि सञ्चालन गरेको व्यवसायबाट यति बेला उनले ५ जनालाई प्रत्यक्ष रोजगारी समेत दिई रहेकी छन् ।

यस्तो थियो हुटहुटी

अम्बिकालाई विद्यालयमा अध्ययनमा त्यत्ति रुचि थिएन । केही नयाँ गरौँ केही नयाँ सिकौँ भन्ने भने भित्रभित्र भई नै रहन्थ्यो ।
अम्बिकाका ४ दाईभाई र २ दिदीबहिनी रहेका थिए । भारतमा रहेका स्वर्गीय बुबा तिलक बहादुर थापा ३÷४ महिनामा नेपाल आउने जाने गर्दा बुबाकै पछि लागेर हिँड्दा अध्ययन कक्षा ९ सम्म मात्रै पुराएर छोडिन् ।

मलाई विद्यालय गई पढौँ भन्ने रुचि कहिल्लै भएन, तर केही नयाँ सिकौँ भन्ने चाहिँ अत्यधिक थियो ।’– उनी भन्छिन्, ‘ मेरो बुबा भारतीय आर्मीमा हवलदार हुनुहुन्थ्यो, उहाँ ३÷४ महिनामा नेपाल आउनु हुन्थ्यो, उहाँ आउँदा म उहाँकै पछि पछि हिँड्दथे ।’

भारतमा नै आउने जाने गर्दा भारतमा आर्मी प्रहरीका छोरीको लागि व्युटिसियन सिप सिकाउने गरेको स्मरण गर्दै भारतमा सिप सिकेर नेपाल आइन् ।

अध्ययन पूर्ण रूपमा छोडेकी अम्बिकाले नेपालमा ब्युटिसियन क्षेत्रमा केही समय अझै राम्रो सम्भावना नरहेकोले सिलाई कटाई व्यवसाय सिकिन् ।

उनी भन्छिन्,‘भारतमा ब्युटिपार्लरको काम सिकेँ । तर नेपालमा आउँदा कहीँ कतै पनि मेकअप गर्ने भन्ने केही नभएकोले सिलाई कटाई सिकेँ । ’

दुई सिप भएकी अम्बिकाले दोभान मै सामान्य पसल व्यवसाय गरिन् । तर त्यहाँ सिलाईकटाईको काम धेरै गर्थिन् । केही समय त्यहाँ व्यवसाय गरेकी उनले सानो क्षेत्रमा ठुलो सम्भावना नदेखेपछि बुटवल झरिन् ।

१६ वर्षको उमेरमा पाल्पा दोभानका तायोनाथ लम्साल सँग मागी विवाह गरेकी अम्बिका ३ छोरी छन् । पाल्पा व्यवसाय गर्दा आम्दानी गरेर बचाएको केही रकम सहित बुटवल लक्ष्मिनगरमा एक जना साथीसँग मिलेर २ जनाले २५ र ३० हजार गरी ५५ हजार रुपैयाँ लगानी गरेर ब्युटी पार्लर सञ्चालन गरिन् ।

१५ वर्ष भन्दा धेरै समय लक्ष्मिनगर क्षेत्रमा व्यवसाय गरेकी उनी हाल बुद्ध नगर क्षेत्रमा व्यवसाय गरिरहेकी छन् । उनले एउटा शाखा समेत खोलिसकेकी छन् । उनले यो क्षेत्रमा आफ्नो जीवनको महत्त्वपूर्ण २४ वर्षभन्दा धेरै समय खर्चिएकी छन् ।

हिंसा समेत भोग्नुपरेको गुनासो

केही वर्ष पहिले सम्म सौन्दर्यकला व्यवसायी तथा यस क्षेत्रमा काम गर्नेहरूलाई समाजका व्यक्तिहरूले गर्ने व्यवहार निकै तल्लो स्तरको रहेको अवस्थामा सुरुवाती चरणमा हिंसा समेत भोग्नु परेको अम्बिकाको गुनासो छ।

पाल्पामा सामान्य कोठामा व्यवसाय गरेकी उनले रुपन्देहीमा व्यवसाय गर्ने योजना बनाउँदा दर्ता प्रक्रियामा पुग्न जरुरी लागेको र सोही अनुसार दर्ता गर्न भैरहवामा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा पुग्दा आफुमाथी हिंसा भएको महसुस गरेको सुनाउँछिन् ।

लाइनमा महिलाहरू अन्य व्यवसाय दर्ता गर्दा केही नभनेको त्यहाँका कर्मचारीहरूले आफ्नो पालो आउँदा ‘ए तिम्रो पार्लर पो हो, म आउँछु कालो लगाइदिनु है ’ भन्दै नराम्रो तरिकाले जिस्काएको बताइन् ।

महिलाहरूलाई व्यवसाय गर्न निकै चुनौतीको अवस्थामा समेत लगानी जुटाएर पुगेकी अम्बिकालाई हिंसा भोग्नुपरेको स्मरण गरिन् ।
उनले भनिन्, ‘महिलासँग एक त पैसा हुँदैन, परिवारको साथ हुँदैन त्यस्तो अवस्थामा एउटा महिला व्यवसाय दर्ता गर्न सरकारी कार्यालय पुग्दा छोरी उमेरकी चेलीलाई हजुरबुबा पुग्न लागेका उमेरका पुरुषले निकै जिस्काउने शैलीमा भन्दा निकै दुःख लागेको थियो ।’

सुरुवाती समयमा हिंसा भोग्दा यो पेसा नै छाडौँ कि भन्ने सम्म भएको बताउँछिन् । उनले आफूलाई सबै क्षेत्रबाट हतोत्साहित गर्ने काम भए पनि त्यसलाई शक्तिको रूपमा लिएर अगाडी बढेको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘ हरेक क्षेत्रबाट हतोत्साहित गर्ने काम भएको थियो, त्यति बेला मैले नराम्रो काम नै गरेँ कि भन्ने लाग्न थालेको थियो । तर मैले हिम्मतका साथ काम गरेँ।’

हरेक महिला रोजगारीमा जोडिनुपर्छ

सौन्दर्यकला व्यवसायमा जोडिएकी अम्बिका लम्सालले हरेक महिलाहरूले केही न केही आम्दानी हुने काम गर्नुपर्ने बताउँछिन् । श्रीमानको साथ सहयोग सँगै केही आम्दानी गर्न सकेमा दुख पर्दा श्रीमानलाई आर्थिक सहयोग समेत गर्न सकिने उल्लेख गरिन् ।

उनले हरेक महिला रोजगारीमा जोडिँदा परिवारमा हुने सम्मान तथा खर्च गर्न सक्ने अवस्थाको लागि पनि आफूलाई सिप वान बनाउन जरुरी रहेको बताइन् ।
उनी भन्छिन्, एक महिला सफल बन्न श्रीमान् र परिवारको साथ सहयोग राम्रो पाउनुपर्ने हुन्छ, परिवारले सहयोग गरेमा हामी सफल हुन सकिन्छ । आफ्नै कमाई भएपछि आफूलाई चाहिएको कुरा किन्न हिचकिचाउन पर्दैन । ’

३ हजारलाई दक्ष बनाइन्

विगत २४ वर्ष देखी सौन्दर्यकला व्यवसायमा रहेकी अम्बिका लम्सालले सबैलाई रोजगारीमा जोड्नुपर्ने बताउँदै यसको लागि उनले तालिम दिई रहेकी छन् । बुटवल ११ बुद्ध नगरमा रहेको मा न्यु फेमिना व्युटिपार्लर तथा एकेडेमीबाट २०५९ साल देखी दक्ष जनशक्ति तयार गर्न तालिम प्रदान गर्दै आएकी छन् । उनले अहिले सम्म ३ हजार बढिलाई प्रशिक्षण प्रदान गरेको बताइन् ।

उनले भनिन्, ‘अब, मेरो सुरुदेखिकै रुचिको विषय भयो, म जस्ता रुचि भएका र स्वरोजगार हुन सिप सिक्न चाहनेको लागि तालिम दिई रहेकी छु । यकिन तथ्याङ्क त छैन । तर ३ हजार बढिलाई प्रशिक्षण प्रदान गरिसकेको स्मरण छ । ’

Happy
Happy
80 %
Sad
Sad
0 %
Excited
Excited
10 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
10 %