सस्तोको पछि लाग्दा स्वास्थ्यमा हुनसक्छ दीर्घकालीन असर !
बुटवल । हिन्दुधर्मालम्बीहरुको साउने संक्रान्ती पश्चात् चाडपर्वहरू सुरु हुन्छन् । चाडपर्व सुरु हुने हुँदा व्यक्तिहरू आफूप्रतिको स्याहारसुसारमा पनि केही ध्यान दिन थाल्दछन् । यसको लागि यस सँग सम्बन्धित क्षेत्रहरूले विभिन्न कुराहरूमा छुटका अफरहरू समेत ल्याएका हुन्छन् ।
तर आफ्नो छाला, कपालको अवस्था थाहा नपाई छुटको अफर प्रयोग गर्दा व्यक्तिको स्वास्थ्य माथि समेत असर पर्ने गरेको छ । विशेषतः चाडपर्वको अवसरमा कपाल तथा छालामा हुने प्रयोगले राम्रो नतिजा नआउँदा धेरै समस्याहरू भोगेका उदाहरणहरू पनि रहेका छन् ।
गुल्मी तम्घास घर भएका अरुण कुमार श्रेष्ठले गत वर्ष दशैभन्दा अघि हाटमा ट्याटु बनाए । बुटवलमा बस्ने अफरमै बनाएको ट्याटु उनको २ महिनाबाट नै पानीको फोका बनेजस्तै देखिन थाल्यो । आमा मात्रै अक्षर लेखेका उनले त्यो ट्याटु निको पार्न छाला रोग विशेषज्ञकोमा पुग्नुपरेको बताउँछन् ।
यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका घर भएका रुद्र मरासिनी कपाल पाल्न रुचाउँथे । सामान्य हेरचाह गर्दै बुटवलमा बस्ने उनले अघिल्लो साउनको तीजमा चलेको अफरमा कपाल कलर गर्नुका साथै हेयर केराटीन गरे । न त उनले भनेजस्तो कलर कपालमा आयो न त केराटीनको प्रभाव नै देखियो । उल्टै उनको पहिलेको भन्दा कपालको अवस्था खराब भयो ।
कपिलवस्तु बाणगंगाकी मिना पौडेल अध्ययनको सिलसिलामा बुटवलमा बस्छिन् । तीजका गीतहरूमा कोरस नृत्य प्रस्तुत गर्ने उनी बुटवलको कुनै एक सलोनमा चलेको अफरमा मेकअप तथा स्किन केयर सेवा लिइन् । उनको पैसा त खर्च भयो तर उनको अनुहार राम्रो हुनुको साटो पिम्पलहरू आउने तथा नराम्रो देखिन थाल्यो ।
यी त सामान्य उदाहरणहरू मात्रै हुन् । चाडपर्वको अवसरमा हुने अफरहरूमा केही कमसल सामाग्रीहरूको प्रयोग बढ् नसक्ने आशङ्का तथा प्रयोगका आरोपहरू समेत आउने गरेका छन् ।
यस्तो भन्छन् व्यवसायीहरू
लामो समय देखी बुटवलमा सौन्दर्यकला व्यवसायमा जमेका मोहन ठाकुरले अफरको नाममा सबैले नराम्रा सामाग्री मात्रै दिन्छन् भन्नु गलत हुने बताउँछन् । उनले बुटवल बिकासउन्मुख स्थान भएकोले यहाँ धेरै व्यवसायीहरू आउँदा सौन्दर्यकला व्यवसायमा चुनौतीहरू भने थपिई रहेको बताउँछन् ।
उनले यहाँ खुल्ने सलोन तथा पार्लरहरूको डेकोरेसन तथा विज्ञापनले विश्वास लिने तर राम्रो सेवा नदिँदा त्यसको प्रत्यक्ष प्रभाव व्यक्तिलाई पर्ने उल्लेख गरे । उनले भने, ‘राम्रो डेकोरेशन तथा विज्ञापनले ग्राहक सहजै झुक्किन सक्छन्, त्यसैको फाइदा उठाउँदै केहीले कमसल सामाग्रीहरूको प्रयोग समेत गरेको गुनासोहरू हामीहरू सँग पनि आई पुग्छन् । ’
प्रतिस्पर्धात्मक अवस्थामा आम मान्छेले राम्रो, बढी विश्वसनीय सलुन छान्नु कला जस्तै भएको बताउँदै ग्राहकहरू नै सचेत हुनुपर्ने उनी बताउँछन् । उनले गुगल रिभ्युको प्रयोग गर्न सुझाव दिन्छन् । उनी भन्छन्, ‘ अहिलेको अवस्थामा ग्राहकहरू सचेत हुन जरुरी छ । लगानी अनुसारको नतिजा आओस् भन्ने चाहाना छ । सैलुन वा कुनै पनि क्षेत्र छनोट गर्दा क्याईन्टको रिभ्यिु हेर्ने, इतिहास हेर्नुपर्छ । त्यसले जोखिम कम हुन्छ ।’
उनले गुगलमा गएर रिन्यु हेर्ने प्रचलन नेपालमा नरहेको बताउँदै सोसल मिडियामा आएको भरमा यो राम्रो छ भन्दै जाँदा लगानी खेर जानुका साथै आफ्नो छाला तथा कपालहरू बिग्रने सम्भावना हुने र त्यसको जिम्मेवार स्वयम आफै नै भइने उनको तर्क छ ।
यस्तै अर्का सौन्दर्यकला व्यवसायी एवं एसियन ब्युटी जोनका सञ्चालक धनु गुरुङले सेवा दिने व्यक्ति वा त्यस संस्थाको सञ्चालकलाई के कति ज्ञान छ भन्ने कुरामा ध्यान प¥आउनुपर्ने बताउँछिन् । उनले सेवा दिने कर्मचारी कति जान्ने छन् र त्यहाँ सेवा लिएका व्यक्तिले कस्तो बताउँछन् भन्ने कुरामा ध्यान दिएमा सहजै उत्कृष्ट सलोन फेला पार्न सकिने बताइन् । उनले ग्राहकहरू सस्तोको पछाडि दौडिँदा नराम्रो सामाग्रीको प्रयोग गर्ने गरेको सुन्नमा आएको बताइन् ।
कमसल केराटिनले क्यान्सरको जोखिम
कपाललाई पोषण दिँदै राम्रो बनाउने भन्दै बजारमा आएको हेयर केराटिनले क्यान्सरको जोखिम बढाएको स्वास्थ्यचिकित्सकहरु समेत बताउँछन् । यो कुरा सामाजिक सञ्जाल सहित जताततै आएको छ । सौन्दर्यकला व्यवसायीहरू पनि यो कुराबाट जानकार रहेको बताउँछन् ।
सौन्दर्यकला व्यवसायी एवं समृद्धि युनिसेक्स सलोन एन्ड एकेडेमीका सञ्चालक मोहन ठाकुरले कमसल खालको सामाग्रीहरूको प्रयोग गरी गरिने केराटीनले मात्रै क्यान्सर गराउने बताए । उनले आफ्नो स्वास्थ्यसँग जोडिने कुरामा ग्राहक चनाखो हुनुपर्ने बताए ।
उनले आफ्नो शरीर वा कपालमा के लगाइँदै छ, त्यसको बारेमा जानकारी राख्नुपर्ने र सलोन एवं सेवा प्रदायकले जानकारी प्रदान गर्नुपर्ने बताउँछन् । उनले कमसल खालको सामाग्री प्रयोग गर्नु पूर्व यसको जोखिमको बारेमा पहिले नै जानकारी गराउनुपर्ने बताउँछन् ।
यसो गर्दा हुन्छ जोखिम कम
कुनै पनि कामको नतिजा तुरुन्तै खोज्दा प्रभावकारी नतिजा नआउने र दीर्घकालीन जोखिमको सम्भावना हुने भएकोले छाला तथा कपालको काम गर्दा आत्तिनु नहुने व्यवसायीहरू बताउँछन् ।
उनीहरूले चाडपर्वको समयमामात्र सौन्दर्यमा चनाखो हुँदा नराम्रो स्थानमा पुगिने सम्भावना बढी हुने उनहरूको भनाई छ । व्यवसायीहरूले एक पटक भन्दा पटक पटक गरेमा नतिजा राम्रो आउने भएकोले त्यसतर्फ ग्राहकहरूले नसोच्दा जोखिम बढी हुन जाने अवस्थामा पुगेको बताउँछन् ।
अफरमा जोखिम !
तीज देखी छट पर्वसम्म हिन्दुहरूका चाडपर्व क्रमशः छन् । चाडपर्वमा सबैले सेवा लिन सकुन् भन्नको लागि व्यवसायीहरूले अफर सञ्चालन गरेका हुन्छन् ।
व्यवसायी गुरुङले अफर सबै एउटै प्रयोजनका लागि नहुने बताउँछन् । कोही व्यवसायीले छोटो सयमा धेरै नाफा कमाउनको लागि कमसल समाग्रीहरुको प्रयोग गर्ने गरेको भेटिएको बताउँदै उनले दीर्घकालीन योजनाका साथमा काम गरेमा समस्या नहुने उल्लेख गरिन् ।
उनले कोभिड पछि सुस्ताएको बजारमा खर्च गर्ने अवस्थामा नरहेको अवस्थामा सुहाउँदो र मिल्दो मात्रै छुट दिने गरेको उनी बताउँछिन् ।६ हजार सम्म हुने केराटीन २ हजार २५ सय भनेका भन्ने गरेको बताउँदै उनले शुल्क कम हुने स्थानमा गुणस्तरीय सामाग्री नपाइने सम्भावना बढी हुने बताउँछिन् ।
व्यवसायी ठाकुरले १०–३० प्रतिशतका हाराहरिका छुट भने स्वाभाविक भएको बताउँछन् । उनले प्रायः २० प्रतिशत सम्म छुट दिनेहरूले गुणस्तरीय समाग्रीहरुने प्रयोग गर्छन् भन्ने अनुमान लगाउन सकिने बताए ।
उनले स्वास्थ्य सँग प्रत्यक्ष जोडिएको विषयमा बार्गेनिङ गर्नुभन्दा पनि बरु ५ सय बढी लेउ गुणस्तरीय र नराम्रो असर नगर्ने सामाग्री प्रयोग गरिदेउन् भन्नुको साटो कपडा किन्दाजस्तो बार्गेनिङ हुने गरेको सुनाउँछन् ।
उनी भन्छन्, ‘केराटिनहरु सामान्यता ६ हजार भन्दा थोरै पैसाको नगर्नुस् । फेस सँग सम्बन्धित काममा न्यूनतम ३ हजार सम्मको गर्नुहोस् । कलर पनि ४ हजार ५ सय सम्म खर्च हुन्छ । तर अफरमा केही छुट छन् भने त्यसमा नाफा घटाइएको छ भन्ने बुझ्नुस्, धेरै नै सस्तो छ भने त्यो नगर्नुस्, म त यही सुझाव दिन्छु । ’
सिकारुको प्रयोगको जोखिम
बुटवलमा सौन्दर्यकला सम्बन्धी धेरै एकेडेमीहरू पनि रहेका छन् । सिक्दै गरेको बिद्यार्थीहरुलाई ग्राहकलाई सेवा दिन लगाउने गरेको पनि पाइन्छ । यसले पनि सही तरिकाले काम नहुने तथा जोखिम बढ्ने हुन्छ । सिक्ने काम डमीमा हुनुपर्ने व्यवसायीहरू बताउँछन् । सिक्ने काममा अनिवार्य दक्ष व्यक्तिको निगरानीमा मात्रै व्यक्तिमाथि प्रयोग गर्न दिनुपर्ने बताउँछन् ।
शरीरमा अनावश्यक प्रयोग भयो –चिकित्सक
पछिल्लो समय सुन्दर बन्ने चक्करमा शरीरमा अनावश्यक प्रयोगहरू भएको चिकित्सकहरू बताउँछन् । के प्रयोग गर्दा त्यसको प्रभाव कस्तो पर्छ भन्ने थाहा नपाउँदा अनावश्यक प्रयोग भइरहेको छाला रोग विशेषज्ञहरू बताउँछन् । वरिष्ठ छाला रोग विशेषज्ञ डा. मनीलाल श्रेष्ठले कुन कुराले के प्रभाव पार्छ भन्ने थाहा नपाई प्रयोग गर्दा उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरू उपचारको लागि आउने गरेको बताए ।
उनले कपाल झर्ने तथा ट्याटु सँगै मेकअप तथा मेहेन्दी लगायतका कुराहरूको प्रयोग गर्दा एलर्जी लगायतका समस्याहरू आएको बताए । उनले पहिले मेकअप, ट्याटु, कपाल बनाउँदा खर्च गर्ने तथा पछि बिरामी भएपछि खर्च हुने गरेको जनाए । स्वास्थ्य सँग सम्बन्धित क्षेत्रमा हेलचेक्राई नगर्न उनको सुझाव छ ।
गुणस्तरको बारेमा अनुगमन हुँदैन
अनुगमनको जिम्मा स्थानीय निकाय र प्रशासनले गर्दछ। पछिल्लो समय हुने अनुगमनले दर्ता नवीकरण, कर चुक्ता तथा न्यूनतम सरसफाइ एवं अन्य मापदण्डको बारेमा हेर्न गरेको पनि त्यहाँ प्रयोग हुने सामाग्रीको अनुगमन हुँदैन।
अनुगमनका क्रममा सञ्चालनको मापदण्ड तथा सरसफाइको बारेमा हेर्न गरेको बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्याल बताउँछिन् ।उनले गुणस्तरको बारेमा मापन गर्ने प्रविधि नभएकोले कुनै अनुगमन नभएको बताइन् ।
उनले सलोन तथा पार्लरहरूमा मुल्यसूचिको विषयमा पटक पटक गुनासो आउने भएकोले दर्ता मूल्यसुचि तथा अन्य आवश्यक मापदण्डको बारेमा अनुगमन हुने गरेको सुनाइन् ।
लेखकको सम्वन्धमा