स्वरोजगार बन्न विद्या र संस्कृतिले रोजेको ‘चटपटे व्यापार’
बुटवल। भुईँमा सानो प्लाई, त्यसमाथि कार्टुन, त्यसमाथि दुई कार्टुन, अनि क्यारेट र माथि प्लाइ अनि प्लाईको माथि चटपटे बनाउन चाहिने सामाग्री । दुई १७ वर्षीया विद्या पाण्डे र संस्कृति घिमिरे यी सामाग्री सहित चाँदवारिमा भेटिन्छन् ।
दैनिक ३ बजे उनिहरु चटपटे बनाउने सामाग्रीसहित आईपुग्छन । योगिकुटि घरबाट कहिले माईक्रोबस त कहिले ईरिक्सामा उनीहरू बुटवल ६ अन्नपूर्ण कलेज बाहिरको घुम्टीमा चटपटे बेच्नकै लागि आउने गरेका छन्।
कालिका मानव ज्ञान क्याम्पसमा व्यवस्थापन सङ्कायमा कक्षा १२ मा अध्ययनरत उनिहरुको यो कार्य जो कोहीको लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ ।
पढ्ने समयमा अरू काम गर्दा क्याम्पसमा थाहा भएमा शिक्षकहरूले गालिगर्ने डर उनीहरूमा छ। यसो त क्याम्पस सकेर विभिन्न काममा जाने बिद्यार्थीहरु ८-९ घण्टा काम गर्ने गरेको भएपनी उनीहरू ३/४ घण्टा समय मात्रै यता प्रयोग गर्ने गरेको बताउँछन्।क्याम्पसको पढाइ सकेर घरमा आएर आफ्नो पढाइलाई कुनै समस्या नहुने गरी ३-४ घण्टा समय निकालेर व्यवसाय गरेको बताउँदै उनीहरूले यो व्यवसायको बारेमा क्याम्पस र साथीहरूलाई समेत थाहा नभएको बताए।
निकै लजालु स्वभावकी विद्या पाण्डे स्वरोजगार बन्दै समय कटाउन यो व्यवसाय सुरु गरेको बताउँछिन्। उनी भन्छिन्,’ साथीहरूले विभिन्न क्षेत्रमा जागिर गर्छन्,कामको निकै प्रेसर पर्ने गरेको सुनाउँछन्। प्रेसरमै काम गर्न मन लाग्दैन, आफलाइ रोजगारी दिने गरी यसको योजनामा लाग्यौ।’
उनीहरूको यो पहिलो काम भने होइन। यो भन्दा अघि हार्पिक तथा चिया पत्तीको मार्केटिङ समेत काम गरिसकेको उनी बताउँछिन्। मार्केटिङ गर्दा सामाग्री झोलामा बोकेर हिँड्दा निकै गाह्रो हुने भएकोले आफ्नै केही गरौँ भन्ने सोचले यो काम सुरु गरेको उनी बताउँछिन्। उनी भन्छिन्,’ ६/७ महिना जति हार्पिक र चिया पत्तिमा सँगै मार्केटिङ गर्यौ,घर घर झोलामा सामाग्री बोकेर हिँड्नुपर्ने निकै दुख थियो। आफ्नै केही गरौँ भन्ने भावनाले यसको योजनामा लाग्यौ।’
परिवारमा बुबाको पार्टनरसिप व्यवसाय भएपनी बुबा र आमाको साथले व्यवसाय गर्ने ऊर्जा थपेको बताइन। परिवारको साथ सहयोगले गर्दा नै काम गर्न सहज भएको उनको भनाई छ।उनी भन्छिन्,’मैले यो काम गर्छु भन्दा परिवारले पनि समर्थन सहित नयाँ तरिका पनि सिकाइदिनु भयो,त्यही कारणले काम गर्न सजिलो भएको छ।’
यता संस्कृति घिमिरेले १ महिनाको अवधिमा राम्रै आम्दानी भइरहेको बताउँछिन्। अन्य स्थानमा निकै प्रतिस्पर्धा भएपनी यो ठाउँमा प्रतिस्पर्धा नभएकोले राम्रै आम्दानी भइरहेको उनको भनाई छ।
उनी भन्छिन्,’यो ठाउको बारेमा धेरैलाई थाहा छैन। हामी स्कुल बिदा हुने समयमा आउँछौ, सर म्याडम तथा विद्यार्थी र टोलका मानिसहरूले खानुहुन्छ। सुरुवात हो खुसी नै छौ। ‘
उनले घर नजिकै बेच्ने योजना बनाए पनी त्यता धेरै प्रतिस्पर्धा हुने भएकोले सफल भइने नभइने जोखिम रहेकोले यहाँ आएको बताइन। उनले भनिन्,’योगिकुटी नजिकमा १० भन्द बढी स्थानमा चटपटे बेच्छन्, उता प्रतिस्पर्धा गर्न गाह्रो हुन्थ्यो यता आएका छौ। यता सफल हुन्छौ भन्नेमा छौ।’
परिवारका सदस्यको सहयोगले सफल बन्न लागेको बताउँदै उनले भनिन,’घरमा बाबाको आफ्नै बिजनेस रहेको बताउँदै चटपटे बेचेर स्वरोजगार बन्छु भन्दा बाबा दाइ र ममिले समर्थन गर्नुभयो त्यसैले सजिलो भएको छ।’
जुनसुकै कुराको पनि सकारात्मक र नकारात्मक कुरा हुने भएजस्तो उनीहरूलाई पनि चुनौती समेत नआएका होइनन् । परिवार लाई नकारात्मक कुरा लगाउने देखि आफ्नो काममाथि नै प्रश्न खडा गरिने गरेको उनीहरू बताउँछन्। ‘घरमा के आईपर्यो यति सानी छोरीलाई चटपटे बेच्न पठाउन पर्यो भन्दै अभिभावकलाई सुनाउने व्यक्तिहरू धेरै छन्।म माथि विश्वास छ, त्यसैले सजिलो छ। ‘विद्या पाण्डे भन्छिन्,’राम्रो गरेछौ भन्नेहरु आउनु हुन्छ, राम्रो भन्ने तारिफले काम गर्न जाँगर आउँछ र दैनिक यहाँ आउँछौ।’
कक्षा १२ मा अध्ययन गर्दा निरन्तरता दिने मनस्थिति बनाएका उनीहरूले त्यसपछिको दिनको बारेमा त्यत्ति योजना बनाएका छैनन्। विदेश जाने मनस्थिति नबनाएका उनीहरू दुबै जनाले देशको आर्थिक अवस्था हेरी आवश्यक काम गर्दै जाने बताउँछन्।
उनीहरूले गर्दै आएको यो कामको प्रेरणा लिएर खाली समयको उपयोग गरी पढ्दै कमाउँदै गर्न सके सकारात्मक सन्देश जाने देखिन्छ। यसले विद्यार्थीहरूले पनि सानो उमेर देखि नै व्यवहारिक सीप सिकेमा पछिका दिनमा अनुभव प्राप्त हुने विश्वास लिइन्छ।
लेखकको सम्वन्धमा