मानव बेचबिखन नियन्त्रणका लागि छिटो न्याय सम्पादनमा ध्यान दिन सरोकारवालाको आग्रह
बुटवल । मानव बेचबिखन नियन्त्रणका लागि छिटो न्याय सम्पादनमा ध्यान दिन सरोकारवालाहरूले आग्रह गरेका छन्। युएसएआइडी,सेलर्ड काठमाडौँ र विनरकको आयोजनामा फौजदारी न्यायका सरोकारवालाहरू सँगै मानव बेचबिखन तथा ओसारपसार अपराधका मुद्दालाई उठान गरी न्यायिक प्रक्रियामा लैजान र पीडितको पहुँचलाई अभिवृद्धि गराउन समन्वय बैठकमा छलफलमा सरोकारवालाहरूले यस्तो बताएका हुन।
छलफलमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाले कानुनमा उल्लेख भएका व्यवस्थाको बारेमा जानकारी गराउँदै अहिले सम्म भए गरेका कामहरूको बारेमा बताए। उनले काम कसरी हुन्छ भन्ने प्रक्रियाको बारेमा बताएका थिए।उनले पीडितले न्याय पाउने काममा अदालत एकोहोरो रहेको बताउँदै कानुन अनुसारका कामहरू गर्न अदालत बाध्यकारी रहेको बताए।
बैठकमा बोल्दै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दान बहादुर थापाले पीडितलाई उचित न्याय प्रदान गराउन नेपाल प्रहरीले हरेक अवस्थामा पहल गर्दै आएको बताउँदै अनुसन्धानका क्रममा हुने विभिन्न कुराहरूलाई सहयोग परिवार वा अन्य क्षेत्रबाट सहयोगको अपेक्षा गर्ने बताए। जनताले सामान्य कुराहरूको बारेमा जानकारी नराख्दा प्रहरीको काम प्रति प्रश्न उठ्ने गरेको भन्दै दुखेसो गरे। उनले छिटो न्याय प्रदान गर्न प्रहरी दृढ रहेको उल्लेख गरे।
रुपन्देही जिल्ला अदालत बार एसोसिएसन अध्यक्ष शिवहरि अधिकारीले उमेर पुगेमा दुई पक्ष राजी खुसी प्रेम गर्ने र यसलाई बिभिन्नमुद्दा आउने गरेको बताउँदै सुरुवातमै अनुसन्धान गरेर प्रक्रिया अगाडि बढाएमा मुद्दा नबिग्री पीडितले न्याय पाउने अवस्था सिर्जना हुने बताए। उनले सही किसिमबाट मुद्दा आएमा कानुन व्यवसायीले कसुर अनुसारको फैसला प्रदान गराउन प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै माइती नेपाल प्रतिनिधि माया क्षेत्रीले मानव बेचबिखनका सम्बन्धमा हुने गरेका विषयमा जानकारी गराउँदै यो विषयमा न्याय सम्पादनको समय घटाउँदै छिटो निर्णय हुनुपर्ने बताइन।
शान्ति पुनः स्थापना गृहकी जिल्ला कार्यक्रम संयोजक निशा पन्थीले अनुसन्धानको लागि छुट्टै संस्था हुनुपर्ने बताइन।उनले यसले अनुसन्धानलाई अझै प्रभावकारी हुने न्यायमाथिको विश्वास कायमै रहने बताइन।
साना हातहरू नेपाल रुपन्देहीका अध्यक्ष भोजलाल चौधरीले मानव बेचबिखनका मुद्दाको जाहेरी दिने कुराको बारेमा समेत धेरैलाई थाहा नभएको गुनासो गरे।
आफन्त नेपालकी पदमा आचार्यले बयान परिवर्तन हुन नदिनका लागि सबै पक्ष राखेर भिडियोमार्फत बयान लिने वातावरण बनाउनुपर्ने बताइन।
कार्यक्रममा जिल्ला अदालतका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवाली,सेलर्ड रुपन्देहीका कानुन अधिकृत हेमा न्यौपाने, सेलर्ड काठमाडौँका सचिव शुकदेव सापकोटा लगायतले बोलेका थिए।
लेखकको सम्वन्धमा