लुम्बिनीमा पुरुष भन्दा महिला धेरै, जन्मिने भने छोराको संख्या उच्च
बुटवल । २६,६७,६७० । तपाईलाई थाहा छ ? यो अंक लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेको महिलाको संख्या हो । राष्ट्रिय योजना आयोगले राष्ट्रिय तथ्यांक कार्यालयले संकलन गरेको २०७८ सालको जनगणना अनुसार महिलाको संख्या २६ लाख ६७ हजार ६७० रहेको छ ।
लुम्बिनीको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ रहेकोमा पुरुष २४ लाख ५४ हजार ४०८ र महिला २६ लाख ६७ हजार ६७० रहेको छ । लुम्बिनी प्रदेशमा पुरुषभन्दा महिलाको जनसंख्या २ लाख १३ हजारले बढी छ । जनगणनाको रिपोर्ट हेर्दा जसअनुसार प्रदेशको लैंगिक अनुपात १०० महिलामा ९२ जना पुरुषमात्र रहेका छन् । अर्थात लुम्बिनी प्रदेशमा महिला र पुरुषको अनुपात १००ः९२ रहेको छ ।
पछिल्लो १० वर्षमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर लुम्बिनी प्रदेशमा रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार प्रदेशगत रुपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष छ। १० वर्षमा ६ लाख २४ हजार ९ सय ५३ अर्थात १३.८९ प्रतिशत वृद्धिदर रहेको छ।
सबै जिल्लामा पुरुषको संख्या न्युन
प्रदेशका सबै जिल्लामा महिलाको तुलनामा पुरुषको संख्या न्यून छ । समग्रमा लुम्बिनी प्रदेशमा १०० महिला बराबर ९२.०१ जना पुरुष रहेका छन् । जिल्लागत रुपमा हेर्दा प्यूठानको लैंगिक अनुपात सबैभन्दा कमजोर छ । यहाँ १०० महिलामा ८१.४३ जनामात्र पुरुष छन् । प्युठानमा २ लाख ३१ हजार ८ सय ४८ जनसंख्या मध्ये १ लाख ४ हजार ४ सय ६३ जना पुरुष छन भने १ लाख २७ हजार ३ सय ८५ जना महिला छन् ।
गुल्मीमा महिला पुरुषको अनुपात १००ः ८३.३१ रहेको छ । यहाँ २ लाख ४६ हजार ८ सय ३६ जनसंख्या मध्ये १ लाख १२ हजार ७८८ पुरुष छन भने महिलाको संख्या १ लाख ३४ हजार ४८ रहेको छ ।
अर्घाखाँचीमा लैंगिक अनुपात १००ः८३.६७ रहेको छ। यहाँ १ लाख ७७ हजार २ सय जनसंख्या मध्ये महिलाको संख्या ९६ हजार १८७७ महिला छन् भने ८१ हजार १३ पुरुष छन् ।
पाल्पामा महिला पुरुष अनुपात १००ः८५.२५ रहेको छ । यहाँ २ लाख ४२ हजार ४२३ जनसंख्या मध्ये महिलाको जनसंख्या १ लाख ३० हजार ४८३ रहेको छ भने पुरुषको संख्या १ लाख ११ हजार ९४० रहेको तथ्यांक छ ।
बर्दियामा १००ः८९.१५ र रोल्पामा १००ः८७.९५ लैंगिक अनुपात रहेका छन् । बर्दियामा ४ लाख ६० हजार ८३१ जनसंख्या मध्ये २ लाख ४२ हजार ९८१ महिला छन् भने २ लाख १७ हजार ८५० महिला रहेका छन् । यस्तै रोल्पामा २ लाख ३६ हजार २२६ जनसंख्या मध्ये १ लाख २५ हजार २६० महिला छन् भने १ लाख १०० हजार ९६६ पुरुष छन् ।
यसैगरी दाङमा १००ः९०.४५, रुकूमपूर्वमा १००ः९४.०१ नवलपरासीमा १००ः९४.७१, कपिलवस्तुमा १००ः९६.१, रुपन्देहीमा १००ः९६.३३ र बाँकेमा १००ः९६.८३ महिला र पुरुषको लैंगिक अनुपात रहेको छ । दाङमा रहेका ६ लाख ७६ हजार २७७ जनसंख्या मध्ये ३ लाख ५४ हजार ३७६ महिला छन् भने ३ लाख २१ हजार ९०१ पुरुष छन् ।
रुकुम पूर्वमा ५७ हजार ९६२ जनसंख्या मध्ये २९ हजार ७३६ महिला छन् भने पुरुषको संख्या २८ हजार २२६ रहेको छ । यस्तै नवलपरासी पश्चिममा रहेका ३ लाख ८५ हजार ५१५ जनसंख्या मध्ये १ लाख ९७ हजार ४३९ महिला छन् भने १ लाख ८८ हजार ७६ पुरुष रहेका छन् ।
यस्तैगरि कपिलबस्तुमा रहेका ६ लाख ८६ हजार ७३९ जनसंख्या मध्ये ३ लाख ४८ हजार १३५ महिला छन् भने ३ लाख ३७ हजार ६०४ पुरुष रहेका छन् ।
रुपन्देहीका रहेका ११ लाख १८ हजार ९७५ जनसंख्या मध्य ५ लाख ७१ हजार ४३० महिला रहेका छन् भने ५ लाख ४७ हजार ५४५ महिला रहेका छन् ।
बाँके जिल्लामा रहेका ६ लाख ३ हजार ३९३ जनसंख्या मध्ये ३ लाख ८ हजार २८१ महिला रहेका छन् भने २ लाख ९५ हजार ११२ पुरुष रहेका छन् ।
जन्मिँदा छोरा बढी
पछिल्लो समय अधिकांश जिल्लामा जन्मँदा छोराको संख्या धेरै देखिएको छ । तर, समग्रमा महिलाको संख्या २ लाख १३ हजारले बढी छ । राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार लुुम्बिनी प्रदेशका केही जिल्लामा छोराको अनुपातमा छोरीको जन्म आश्चर्यजनक ढंगले घटेको छ ।जन्मँदा छोरा बढी देखिए पनि वास्तविक जनसंख्यामा महिला अधिक देखिएपछि स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधिलाई आश्चर्यमा पारेको छ ।
तथ्यांक कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा.हेमराज रेग्मीका अनुसार अर्घाखाँची जिल्लामा १०० छोरी जन्मँदा १२४ जना छोरा जन्मिएको जानकारी दिए । उनका अनुसार जन्मँदाको लैंगिक अनुपात पाल्पामा १००ः११३, बाँके र बर्दियामा १००ः११२, पश्चिम नवलपरासीमा १००ः१११, रुपन्देही, दाङ र रुकुमपूर्वमा १००ः११० देखिएको छ ।प्यूठानमा १००ः१०९, गुल्मीमा १००ः१०८, कपिलवस्तुमा १००ः१०६ र रोल्पामा १००ः९७ देखिएको छ । प्रदेशमा रोल्पा अपवाद जिल्ला देखिएको छ । जहाँ छोराभन्दा छोरी बढी जन्मिएका छन् ।
‘यो तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ ले देखाएको हो’, डा.रेग्मीले भने, ‘लैंगिक रुपमा यस्तो खाडल हुनुका धेरै अर्थ छन् । यसले समाजमा जनसांख्यिक असन्तुलन त ल्याउँछ नै । छोरी नजन्मँदै विभेदको शिकार भएका छन् भन्ने कुराको पुष्टि पनि यो तथ्याङ्कले गरेको छ ।’
उनका अनुसार गर्भपतनसम्बन्धी खुकुलो कानूनका कारण भ्रुण पहिचान गरेर छोरी भए गर्भपतन गराउने व्यापक प्रचलन बढेपछि जनसंख्यामा यस प्रकारको
दृश्य देखिने गर्छ । नेपालमा औसत जन्मँदाको लैंगिक अनुपात १००ः११२ छ ।
भारत र चीनमा क्रमशः १००ः११२ र १००ः११८ छ । यसले दक्षिण एसिया नै छोरीको जन्मप्रति अनुदार हुँदै गएको पुष्टि हुने रेग्मी बताउँछन् । २०६८ सालको जनगणनामा जन्मँदाको लैंगिक अनुपात १००ः१०७ थियो । अहिले एक दशकपछि बढेर १००ः११२ पुगेको छ ।
‘यो विषय धेरै गम्भीर हो । किनकि अवस्था यस्तै रहने हो भने अबको २० वर्षपछि प्रत्येक १०० जना महिलाको विवाह हुँदा १० देखि १२ जना पुरुषले जोडी नपाउन सक्छन्’, रेग्मीले भने ।
राष्ट्रिय योजना आयोगले राष्ट्रिय तथ्यांक कार्यालय मार्फत २५ कात्तिक देखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो ।नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१ करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.३१ प्रतिशत (१ करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ ।
वि.सं. २०७८ जेठ २५ देखि असार ८ सम्म हुने गरी तय गरिएको यो जनगणना कोरोना भाइरस प्रकोपको कारण स्थगित गरी वि.सं. २०७८ कात्तिक २५ देखि मङ्सिर ९ सम्म आयोजना गरिएको थियो।
पहिलो पटक पुरुषको दाँजोमा महिला बढी देखिएका हुन् त ?
एक दशकमा नेपालको जनसङ्ख्या १०।१८ प्रतिशतले बढेको देखिन्छ। विगत १० वर्षको वृद्धिदर ०।९३५ देखिएको छ। यो अघिल्लो जनगणनाको तुलनामा कम हो।
विसं २०६८ मा गरिएको जनगणनामा उक्त दर १।३५५ थियो।
यस पटक कुल जनसंख्यामा ४८।९६ प्रतिशत पुरुष छन् भने र ५१।०४ प्रतिशत महिला । महिलाको सख्या बढी भएको यो पहिलो पटक होइन भन्ने कुरा विगतका तथ्याङ्कहरूले पनि पुष्टि गर्छन्।
दश वर्षअघि २०६८ सालको जनगणनामा कुल जनंसख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ मध्ये ४८।५ प्रतिशत पुरुष थिए भने महिला ५१।५५ थिए।
हालको प्रारम्भिक नतिजाअनुसार लैङ्गिक अनुपात ९प्रति १०० महिलाको तुलनामा पुरुषको संख्या० ९५।९१ रहेको छ जुन पछिल्लो जनगणनामा ९४।१६ थियो,तथ्याङ्क विभागले जनाएको छ। त्यस्तै २०५८ र २०४८ सालमा भएको जनगणनामा प्रति १०० महिलामा पुरुषको अनुपात क्रमशः ९९।८ र ९९।५ रहेको थियो। विसं २०३८ र २०२८ मा भने १०५।० र १०१।४ रहेको तथ्याङ्क छ । विगत २० वर्षदेखि महिलाको जनसंख्या तुलनात्मक रूपमा बढ्न थालेको डा.रेग्मीले बताए ।
पछिल्ला केही जनगणनाहरूदेखि नै महिलाहरूको संख्या बढी देखिएको छ। तर लैङ्गिक अनुपातमा सामाजिक समस्या सिर्जना हुनेगरी ठूलो अन्तर देखिँदैन,डा. रेगीले भने।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए। लिङ्गका आधारमा औसत आयु छुट्टाउँदा महिलाको ७४ वर्ष दुई महिना र पुरुषको ६९ वर्ष आठ महिना थियो।
महिलाको तुलनामा पुरुषहरू बढी शारीरिक दबाव पर्ने काम गर्ने, चुनौतीपूर्ण गतिविधिमा संलग्न हुने, मादकपदार्थ, लागुऔषधि सेवन गर्ने भएकाले उनीहरूको औसत उमेर कम हुन्छ।
विकास उन्मुख देशहरूमा पुरुषको तुलनामा महिलाको औसत आयु डेढदेखि दुई वर्ष बढी छ भने विकसित देशहरूमा पाँच वर्षसम्म महिला बढी बाँच्ने बताइन्छ।
“त्यसैले नेपालमा पनि पुरुषभन्दा महिलाको संख्या बढी देखिनु स्वाभाविक कुरा हो । प्राकृतिक, जैविक साथै आर्थिक विकासको प्रभाव मानिनु पर्छ,“ उनले भने।
लेखकको सम्वन्धमा