भीम अस्पतालको विकासका लागि सरकारबाट सहयोग नपाएको गुनासो
बुटवल । भैरहवास्थित भीम अस्पतालको विकासका लागि पछिल्लो समय सरकारबाट सहयोग नभएको अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताएका छन् । उनले अस्पताल विकासका लागि विकास समितिले मात्र एक्लै गर्न नसक्ने भएकाले सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
अस्पतालबाट आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित स्वास्थ्य सेवाहरुको वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै अध्यक्ष भण्डारीले अन्य अस्पताललाई करोडौं बजेट पर्दा भीम अस्पतालले पाउने बजेट शुन्य भएको भन्दै असन्तुष्टी व्यक्त गरे । उनले भने, ‘१९९० सालमा बनेको अस्पतालको भवनबाट सेवा दिइरहेका छौं । सरकारले यसबारे के सोचेको छ ? ’
अध्यक्ष भण्डारीले दैनिक २/३ सय बिरामीको उपचार हुने यो अस्पतालमा अहिले आउने बिरामीको संख्या बढेर ७/८ सय पुगेको बताए । अस्पतालको आम्दानीसँगै कर्मचारीको संख्या पनि बढेको उनको भनाइ छ । सरकारले विशेषज्ञ डाक्टर उपलब्ध नगराए अब विकास समितिबाट राख्ने तयारीमा रहेको उनले सुनाए ।
कोभिड–१९ महामारीमा आफ्नो ज्यान जोखिममा राखेर बिरामीको सेवा गर्नुभएका स्वास्थ्यकर्मीलाई अहिलेसम्म सरकारले भत्ता उपलब्ध नगराएको उनले बताए । अध्यक्ष भण्डारीले अस्पतालप्रति सरकारी चासो नभएको र किन पक्षपातपूर्ण व्यवहार भयो भन्दै प्रश्न गरे । अस्पताललाई बलियो बनाउन आफूरु लागिपरेको उनको भनाइ छ । उनले भने, ‘अस्पतालमा हुने भिडभाड र फोहोरमैला व्यवस्थापनका लागि अघि बढेका छौं । ’उनले ५० शैयाको जनशक्तिले अस्पताल धान्न निकै कठिन रहेको बताए ।
पछिल्लो समय देशका विभिन्न क्षेत्रमा स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै यस्तो काम बन्द गरेर स्वास्थ्यकर्मीको मनोबल बढाउने काम गर्न आग्रह गरे ।
त्यस्तै अस्पताल विकास समितिकी सदस्य लक्ष्मी केसीले जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पताल कतिपय सेवासुविधाबाट वञ्चित भएको बताइन् । उनले अस्पतालमा जनशक्तिको अत्यन्तै अभाव भएको बताए । सदस्य केसीले अस्पतालको सेवालाई उत्कृष्ट बनाउन दरबन्दी अनुसारको स्वास्थ्यकर्मी र कर्मचारी आवश्यक रहेकोमा जोड दिइन् । उनले आर्थिक वर्ष २०७९/०८० मा ९० हजार बढी बिरामीले भीम अस्पतालबाट सेवा लिएको बताइन् ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निमित्त निर्देशक रामजनम चौधरीले चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवहार बिरामीप्रति गोलीले भन्दा बोलीले सञ्चो गराउने खालको हुनुपर्नेमा जोड दिए । उनले सेवाग्राही सन्तुष्ट भएर अस्पतालबाट निस्कने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
भीम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बीमा अन्तर्गतको रकम समायोजन हुन नसक्दा समस्या भएको बताए । उनले बीमावापत दावी गरिएको रकम २ करोड २४ लाख रुपैयाँमा प्राप्त भएको रकम १ करोड ६४ लाख रहेको र ६० लाख भुक्तानी हुन बाँकी रहेको जनाए ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सरकारी अस्पताललाई जनताको बाध्यताको केन्द्र नभइ रोजाइको क्षेत्र बनाउनुपर्ने बताए । उनले उपलब्ध साधनस्रोतको अधिकतम सदुपयोग गरेर गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरे । प्रजिअ अर्यालले बिरामीले अस्पतालको गेटबाटै आफू निरोगी भएर फर्कन्छु भन्ने सोच बनाउनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले स्वास्थ्य सेवामा रुपन्देही अगाडि रहेको बताए । उनले भीम अस्पताल हिजो भन्दा फरक छ भन्ने बुझाउनुपर्ने बताए । उनले अस्पतालमा ‘मुस्कानसहित सेवा’ छ भन्ने सन्देश दिन आग्रह गरे ।
लेखकको सम्वन्धमा