बुटवल उद्योग वाणिज्य संघनिर्वाचन : अर्याल र श्रेष्ठ प्यानलमा यस्ता छन उम्मेदवार
बुटवल । यस क्षेत्रकै पुरानो व्यावसायिक संस्था बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । संघका पूर्ववाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल र वरिष्ठ उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
दुवै टिमले बुटवलमा पत्रकार सम्मेलन गरी प्यानलसमेत घोषणा गरिसकेका छन् । उनीहरू दुई छुट्टाछुट्टै समूह बनाएर आन्तरिक प्रचारप्रसार तथा भेटघाटमा जुटिरहेका छन् ।
धेरै उद्योगी व्यवसायी आवद्ध रहेको संघको संघको यही असोज १९ गतेदेखि ७०औं साधारणसभा तथा २५औं अधिवेशन हुँदैछ । अहिले बुटवलमा व्यवसायीहरूमा चुनावी सरगर्मी बढेको छ ।
उम्मेदवारहरू आफूलाई जिताउन आग्रह गर्दै व्यवसायिक प्रतिष्ठानमा पुग्ने, छलफलका कार्यक्रम गर्नेलगायत काम गरिरहेका छन् । यसअघिका अध्यक्षका प्रत्यासीसमेत रहेका अर्याल विगतको निरन्तरतालाई क्रमभंग गर्ने तयारीमा छन् भने श्रेष्ठ विगतको परिवेशलाई निरन्तरता दिने तयारीमा छन् ।
सबै विचार, समूह, लैंगिकता, जातीय समावेशी भएर आफू चुनावमा होमिएको अध्यक्षका आकांक्षी अर्यालले बताए । उनलाई पूर्वअध्यक्ष महेशमान सिंह र खिमबहादुर हमालको समेत समर्थन छ । बुटवलको गिर्दो व्यापारलाई पूरानै लयमा फर्काउने एजेन्डा अगाडि सारेका छन् ।
अर्का उम्मेदवार श्रेष्ठले निरन्तर संघमा गरेको काम, योगदान र धेरै व्यवसायीको समर्थन आफूलाई रहेको बताए । उनले प्रतिस्पर्धी संघ र प्रतिस्पर्धी बजार बनाएर आफू अघि बढ्ने बताए ।
अर्याल कार्यसमिति सदस्य, महासचिव र वाणिज्य उपाध्यक्ष भइसकेका छन् भने श्रेष्ठले कार्यसमिति सदस्य, कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्षको भूमिका निभाएका छन् । बुटवल उद्योग वाणिज्य संघमा एक हजार ७७८ व्यवसायी आवद्ध छन् ।
अर्यालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनकला खनालले उम्मेदवारी घोषणा गरे । टंक गैरे र विमलराज भटटराई दुवै प्यालनमा रहेका छन् ।
लेखकको सम्वन्धमा