चर्चामा

बुटवल नगरप्रमुख पाण्डेय र बेलायती राजदुतावासकी विकास निर्देशकबीच भेटवार्ता, विकासमा सहकार्य गर्न प्रमुख पाण्डेयको प्रस्ताव

बुटवल नगरप्रमुख पाण्डेय र बेलायती राजदुतावासकी विकास निर्देशकबीच भेटवार्ता, विकासमा सहकार्य गर्न प्रमुख पाण्डेयको प्रस्ताव
0 0
Read Time:4 Minute, 36 Second

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डबीच भेटवार्ता भएको छ ।
बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा शुक्रबार बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग नगर प्रमुख पाण्डेयले बुटवलको विकास, यहाँका प्रयासहरु र बेलायतसँग गर्न चाहेको सहकार्यका बारेमा बताएका थिए।
भेटवार्ताका क्रममा प्रमुख पाण्डेयले सहमति, सहकार्य, एकता र मेलमिलापका आधारमा बुटवललाई आर्थिक केन्द्रको रुपमा स्थापित गर्ने योजनाका साथ अगाडि बढेको बताए । उनले औद्योगिक र पर्यटकीय हिसाबले पनि बुटवल अगाडि बढ्दै गरेकाले समग्र विकासका लागि सहकार्य गर्न प्रस्ताव गरेम थिए।
‘हामीले बुटवललाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार, उद्योग, कलकारखानाजस्ता क्षेत्रमा अग्रणी बनाउन चाहिरहेका छौं, उहाँले भन्नुभयो-त्यसका लागि बेलायतको तर्फबाट के कसरी सहकार्य गर्न सम्भव हुन्छ, त्यसमा चासो दिनका लागि मेरो अनुरोध छ ।’
उनले बुटवलमा अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण भइसकेको र प्रदर्शनी स्थल निर्माणका क्रममा रहेकाले पनि बुटवलले अन्तरराष्ट्रिय स्तरका काम गर्नका लागि तयार भएको बताए।
नगरप्रमुख पाण्डेयले लुम्बिनी भ्रमणमा आउने बेलायती मन्त्रीलाई बुटवलको जितगढी किल्ला र आसपासका पर्यटकीय स्थलको भ्रमण गर्नका लागि राजदुतावासकी विकास निर्देशक वर्डमार्फत निम्तो दिए।
नगरप्रमुख पाण्डेयले बुटवलमा मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्र र गृहणी महिला रोजगार कार्यक्रममा बेलायत सरकारले सहकार्य गर्न सक्ने भएकाले आवश्यक परामर्श र सहकार्यका लागि प्रस्ताव गरेका थिए।
उनले बेलायतको विकासबाट सिकेर बुटवलको विकासलाई अझै दिगो र लाभदायी बनाउनका लागि बेलायतको शहरसँग भगिनी सम्बन्ध कायम राख्न चाहेको र यसका लागि आवश्यक समन्वय र सहकार्य गर्नका लागि अनुरोध गरे।
भेटका क्रममा नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले बुटवलको बारेमा जानेर आफुलाई खुशी लागेको र सम्भव भएसम्मका सहकार्य गर्ने बताए।
उनले स्थानीय सरकारहरुसँग कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेकोले बुटवललाई प्राथमिकतामा राख्ने र सहकार्यका लागि प्रयास गर्ने बताए।
निर्देशक वर्डले मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्रमा बुटवलसँग सहकार्य गर्न इच्छुक रहेको भन्दै आगामी दिनमा सहकार्यका लागि हात अघि बढाउने बताए ।
उनले नेपालमा बेलायत सरकारले लामो समयदेखि सहकार्य गर्दै आएकोले आगामी दिनमा पनि सहकार्य गर्ने र त्यसमा बुटवललाई पनि प्राथमिकतामा राख्ने विश्वास दिलाए।
भेटका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, युएनओपिएस प्रोजेक्ट कोहेरेन्स युनिटका टीम लिडर डुयेन जोन्स र बुटवल कार्यालयका प्रमुख सन्तोष खतिवडाले भेटवार्ताको सहजीकरण गरेका थिए । बुटवल उपमहानगरपालिकाका प्रमुख र निर्देशक वर्ड नेतृत्वको टोलीले शनिबार बिहान बुटवलस्थित जीतगढी किल्लाको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement