रुपन्देही ५ मा एमालेभित्र अन्तरद्वन्द्व चर्कँदो : एमाले नेता विष्णु र शंकरको लडाईँको शिकार बन्दै वासुदेव घिमिरे

रुपन्देही ५ मा एमालेभित्र अन्तरद्वन्द्व चर्कँदो : एमाले नेता विष्णु र शंकरको लडाईँको शिकार बन्दै वासुदेव घिमिरे
0 0
Read Time:5 Minute, 58 Second

बुटवल, १ मंसिर । रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा टिकट वितरणमा भएको गुटबन्दीको प्रभाव निर्वाचनको मुखैमा आउँदासम्म पनि देखिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलमार्फत रुपन्देही क्षेत्र न.५ को टिकट पाएका वासुदेव घिमिरेलाई रोक्न महासचिव शंकर पोखरेलमार्फत टिकट ल्याएका एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई उम्मेद्वार बन्न नपाएपछि एमालेभित्र असन्तुष्टीको लहर निर्वाचनसम्मै देखिएको हो ।
राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक रहेका भट्टराईले चुनावका लागि बर्षौदेखि लुम्बिनी क्षेत्रमा गरेको कसरत उम्मेद्वारी नै खोसिएपछि असन्तुष्ट बनेका थिए । असोज २३ गते मनोनयनमा उत्साहका साथ पुगेका भट्टराई पार्टीभित्र पौडेल र पोखरेलको लडाईँका कारण आफुले तयार पारेको आधारभूमि मै ओझेलमा परेका हुन । ०७४ सालमा समेत भट्टराई नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलका कारण टिकट पाउनबाट बञ्चित हुनुपरेको थियो । पटक पटक धोका पाएपछि भट्टराई घिमिरेको चुनावी प्रचारमा औपचारिकताका लागि मात्रै खटिएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनालाई समेत लुम्बिनीमा ल्याएर समुदाय र त्यस क्षेत्रको विकासका लागि भट्टराईले विभिन्न अभियान सञ्चालन गर्दै आएका थिए । नयाँ अनुहार त्यो पनि टुरिष्ट उम्मेद्वार रुपन्देही क्षेत्र न। ५ मा आएपछि त्यहाँका एमाले कार्यकर्ताले समेत प्रचारमा रुची देखाएनन । ‘भट्टराई जीले लुम्बिनीमा काम गर्नुभएको थियो, हामी उहाँका लागि जे पनि गर्न तयार थियौं, घिमिरे जी नयाँ मान्छे भएकाले उत्साह नै छैन’ लुम्बिनीका एक एमाले कार्यकर्ताले भने ।
एमालेको प्रदेश सदस्य घिमिरेले टिकट पाउँदा केन्द्रीय राजनीतिमा प्रभाव राख्ने भट्टराईले प्रतिनिधिसभामा टिकट नपाएपछि एमालेको स्थानीय नेतृत्व पनि भित्रभित्रै रुष्ट बनेको श्रोतको बताउँछ । उपाध्यक्ष पौडेलले घिमिरेसँग गरेको वाचा पूरा गर्न निर्वाचन क्षेत्र न। ५ मा टिकट दिलाएपनि आन्तरीक रुपमा गुटबन्दीले घिमिरेलाई अहिले असहयोग भैरहेको छ । भट्टराईको मनोनयनमा उत्साहका साथ पुगेका लुम्बिनी प्रदेशसभाको क तर्फका उम्मेद्वार भूमिश्वर ढकाल समेत घिमिरेको उम्मेद्वारी कायम भएपछि असन्तुष्ट छन ।
ढकाल आफै प्रतिनिधिसभाका लागि इच्छुक र दावेदार रहेकोमा उनले भट्टराईका लागि संघ छाडेर पुनः प्रदेशमा दोहोरिएका हुन । आफूभन्दा जुनियर कमिटिमा रहेको नेतालाई प्रतिनिधिसभामा स्वीकार गर्नु परेको भन्दै ढकाल पनि रुष्ट छन् । ढकाल तिनै व्यक्ति हुन् जसले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ तोक्नमा निर्णायक भूमिका खेलेका थिए ।
एमाले महासचिव शंकर पोखरेलका दाहिने हात मानिने ढकालले उपाध्यक्ष विष्णु पौडेललाई बाइपास गरेर काम गर्ने गरेको आरोप लाग्दै आएको छ । प्रचार प्रसारमा सँगसँगै रहेपनि एमाले उम्मेद्वार घिमिरेका लागि भट्टराई र ढकालको औपचारिक सहयोग मात्रै रहेको एमालेका एक नेताले बताए । पार्टीभित्रको आन्तरीक द्वन्द्वको चपेटाको शिकार घिमिरे हुने सम्भावना बढेको उनले बताए । त्यसो त ०७४ सालमा प्रदेशसभा सदस्य भइसकेका ढकालले गत स्थानीय तह निर्वाचनमा विष्णु पौडेल पक्षका मेयरका उम्मेद्वार चित्रबहादुर कार्कीलाई हराउन कम्मर कसेर लागेको आरोप लाग्ने गरेको छ । यता घिमिरेले पार्टी कार्यकर्तालाई कन्भिन्स गर्न आफूले तिलोत्तमामा मेयर हुँदा नमूना काम गरेको बताउने गरेका छन ।
त्यतिमात्रै होईन लुम्बिनी र गैडहवा क्षेत्रका मतदाता रिझाउन उनले मधेशकै पहिरन लगाएर चुनावी प्रचारमा होमिने गरेका छन । गाउँमा जाँदा खिमलाल भट्टराई मात्रै चिन्ने बताएपछि उनले भट्टराईको सहारा मागेका थिए । तर, भट्टराई भने विरामी भएको भन्दै लामो समय प्रचारमा खटिएनन् । एमालेभित्रको गुटगत राजनीतिका कारण यसअघि लगातार निर्वाचन जित्दै आएका नेपाली काँग्रेसका नेता भरत कुमार शाहलाई यो निर्वाचन जित्न झनै सजिलो हुने देखिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement