छाेरी १० वर्ष पुगिन् ? रजस्वलाबारे यी कुरा नलुकाइ भनिदिनुस्
विज्ञहरूका अनुसार, छोरी १० वर्ष पूरा भइन् भने उनलाई रजस्वला (पिरियड्स) बारे जानकारी दिने यो नै सही समय हो । किनकि, १० वर्षको उमेरपछि केटीहरूमा किशोर अवस्थाको सुरुवात हुन्छ । यस्तोमा एक्कासि पिरियड हुँदा उनी डराउन सक्छिन् । तर, अधिकांश आमाबुबाले आफ्नी छोरीसँग यसबारे कुराकानी गर्न चाहँदैनन् ।
हालै भएको नयाँ अनुसन्धानअनुसार, मानिसहरू यो विषयमा आफ्नी छोरीसँग कुरा गर्न असहज महसुस गर्छन् । अध्ययनमा ८९ देखि १६ वर्ष उमेर समूहका बालिकाका १ हजार आमाबुबालाई समेटिएको थियो । मेन्स्टुअल प्रोडक्ट मेकर अलवेजद्वारा गरिएको अध्ययनअनुसार, तपाईंले छोरीलाई आगामी समयका लागि तयार गर्नुभयो भने सबै कुरा सजिलै रहनेछ । उनको आत्मविश्वासको स्तर पनि उस्तै रहनेछ । विज्ञले सुझाएअनुसार, १० वर्ष पूरा भएकी छोरीलाई तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ, प्रमुख बुँदाहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।
कुराकानी गर्नुहोस्
सबैभन्दा पहिले उनलाई किशोर अवस्थाबारे सिकाउनुपर्छ । उनलाई यसबारे गलत जानकारी त छैन भन्ने कुरामा सचेत हुनुपर्छ ।
सामान्य शब्दमा बुझाउनुस्
आफूलाई असहज लाग्ने कुरा घुमाइफिराइ गर्ने धेरैको बानी हुन्छ । तर, रजस्वलाबारे आफ्नी छोरीलाई सम्झाउँदा यस्तो गर्न हुँदैन । निकै सरल शब्दमा, उनले बुझ्ने गरी भन्नुपर्छ । मेन्स्टुअल साइकिल महिलाको जीवनको जरुरी पक्ष हो, कुनै किशोरी पछि आमा बन्न सक्छिन् कि सक्दिनन् भन्ने कुरा यसैबाट थाहा हुन्छ भनेर सम्झाउनुपर्छ ।
आफ्नो अनुभव शेयर गर्नुहोस्
खासगरी आमाले छोरीसँग आफ्ना अनुभव सुनाउन सक्छिन् । आफ्नो पिरियड्स कहिले सुरु भयो, त्यो बेला कस्तो अनुभव भएको थियो इत्यादि । यसबाट छोरीले निकै सहज महसुस गर्नेछिन् ।
प्रश्न सोध्न दिनुस्
छोरीले यसबारे कुनै प्रश्न सोध्न चाहेमा उनलाई नरोक्नुहोस् । बरु शान्तिपूर्वक सही जवाफ दिनुहोस् । ताकि उसको मनमा पिरियड्सप्रति कुनै नकारात्मक धारणा नबनोस् ।
साथी बन्नुहोस्
तपाईंकी छोरीले साथी वा अन्य कुनै माध्यमबाट रजस्वलाबारे बुझेकी हुन सक्छिन् । यस्तोमा कुनै पनि कुरा लुकाउनुको साटो उसको साथीजस्तै भएर उनीसँग कुरा गर्नुहोस् ।
पुस्तक पढ्न सुझाउनुहोस्
तपाईंकी छोरी इन्ट्रोभर्स टाइपकी छिन् भने हुन सक्छ उनी तपाईंसँग यसबारे कुरा गर्न चाहँदिनन् । यस्तोमा उनलाई पुस्तक वा इन्टरनेटको माध्यमबाट सही ज्ञान लिन सुझाव दिनुहोस् ।
प्याडको प्रयोग गर्न सिकाउनुस्
धेरै किशोरीहरूले सुरुमा प्याडको प्रयोग गर्न जान्दैनन् । त्यसैले सबैभन्दा पहिला उनीहरूलाई प्याड वा ट्याम्पोनको प्रयोग ठीकसँग गर्न सिकाउनुपर्छ ।
सुरक्षित रहन सिकाउनुस्
यी सबैका साथ तपाईंले छोरीलाई सुरक्षित रहन सिकाउनुपर्ने हुन्छ । स्कुलमा भएको बेला पिरियड्स भएमा शिक्षकलाई भन्नुपर्छ । ब्यागमा प्याड राख्नुपर्छ, ताकि स्कुलमा कुनै समस्या नपरोस् ।
रजस्वलाबारे आफ्नी छोरीसँग बढीभन्दा बढी जानकारी र सजगताका उपायहरू शेयर गर्नुहोस् ताकि आउँदा दिनका सम्भावित शारीरिक तथा मानसिक समस्याबाट जोगिन उनलाई मद्दत मिलोस् ।
लेखकको सम्वन्धमा