रुपन्देहीमा मेलाको माहोल शुरु,तिलोत्तमामा मंसिर १ गतेदेखि व्यापार मेला हुँदै
बुटवल । तिलोत्तमा उद्योग वाणिज्य संघले मंसिर १ देखि मंसिर १२ गते सम्म तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्दैछ । “सवल अर्थतन्त्रको आधार, कृषि पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ संघले मेला आयोजना गर्न लागेको अध्यक्ष गुणानिधि भण्डारीले जानकारी दिए ।
मेलाको जानकारी दिन शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले मेलामा ५ लाख दर्शकले मेलाको अवलोकन गर्ने र मेला अवधिभित्र करिब १५ करोडको कारोवार हुने जानकारी दिए । जिल्लाकै मध्यभागमा पर्ने तिलोत्तमा नगरपालिकामा लगानीको राम्रो सम्भावना रहेको र यस क्षेत्रमा उद्यमशिलताको विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्नका लागि मेला कोशेढुंगा सावित हुने आयोजकको विश्वास छ । ‘अहिले कोभिडको त्रास हटेको छ ।
जनजीवन केही लयमा फर्के पनि उद्योग÷व्यवसायले गति समाइ नसकेको अवस्था छ । निजी क्षेत्रको विकासको लागि निजी क्षेत्रनै अग्रसर हुनुपर्ने मान्यतासहित हामीले यो मेलाको आयोजना गरेका छौं,—पत्रकार सम्मेलनमा भण्डारीले भने ।
सरकारले तिलोत्तमा नगरपालिका घोषणा गरेलगत्तै २०७१ सालमा स्थापित तिलोत्तमा उद्योग बाणिज्य संघले २०७३ सालमा पहिलो पटक र २०७६ सालमा दोस्रो औद्योगिक व्यापार मेला गरेको थियो । त्यसको अनुभव र सिकाईबाट अहिले त्यसैको परिस्कृत रुपमा तेस्रो औद्योगिक व्यापार मेला गर्न लागिएको हो ।
तिलोत्तमामा स्थायी मेला स्थलको अभाव छ । स्थायी मेला स्थलका लागि नगरपालिका संग माग गरिएको छ । स्थायी मेला स्थल नहुंदा स्टल लगायतका संरचना निर्माणमा निजी क्षेत्रको लाखौं रुपैयां खर्च हुने गरेको छ । निर्माणका क्रममा हुने यो खर्च कम गर्नका लागि पनि स्थायी मेला स्थलको आवश्यक्ता खडकिएको छ ।
१२ दिनसम्म सञ्चालन गरिने मेलाको प्रमुख आकर्षणको रुपमा विगतमा जस्तै परम्परागत शैलीको उखु पेल्ने र खुदो वनाउने उपकरण राखिने छ । नेपाली कला, संस्कृति, भेषभुषा संरक्षणकालागि बिभिन्न जातजातीका भेषभुषामा नृत्य प्रतियोगिता, जी बब, मिष्टर डी, मिष्टर र्यापर आफिम, र्यापर लाहुरे, तिलोत्तमा लोक आइडल सिजन टु, राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारहरुको सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, मम्मी डान्स आइकन, लगायतका प्रतियोगिता गराईने छ । साथै मेला तथा महोत्सवलाई मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम लगायतका कार्यक्रमहरु आयोजना गरिने छ ।
यस्तै दर्शकहरुको माग र चाहना अनुसार मेलामा नेपाली र भारतीय कुस्तीवाजहरु वीच कुस्ती प्रतियोगिता आयोजना गरिने छ ।
मेला अवलोकनका लागि ८० रुपैंया टिकट शुल्क निर्धारण गरिएको छ भने विद्यार्थीलाई परिचय पत्रको आधारमा रु. ४० र ७० वर्ष माथिका ज्येष्ठ नागरिक र ५ वर्षमुनिका बालबालिका तथा अपाङ्गता भएका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
मेलामा बालबालिका सहित आउने महिलाहरुको सुविधाकालागि सुरक्षित स्तनपान कक्षको व्यवस्था गरिएको छ । विक्री भएको टिकटको ५ प्रतिशत रकम सामाजिक सुरक्षा कोषका लागि छुट्टाइने अध्यक्ष भण्डारीले बताए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार,मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुनेछ । माछा पालनयस क्षेत्रका व्यवसायिक माछा पालक किसानहरुले लाभ उठाउन सकुन भन्ने उद्देश्यले मेला परिसरमा माछा पोखरी तथा माछा पालन सम्वन्धी जानकारी गराउन छुट्टै स्टल राखिने छ । यस बाट किसानहरुले लाभ लिन सक्ने छन् ।
मेलामा ९÷९ फुट क्षेत्रफलका स्टल रहने छन् । स्टलमा एक थान टेवल, २ थान कुर्ची र एक थान सिएफएल बल्व आयाजकको तर्फबाट व्यवस्था गरिने छ । स्थानीय उद्योगी व्यवसायीका लागि स्टलमा तोकिएको शुल्कमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने अध्यक्ष भण्डारीले बताए । प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामा नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवद्र्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको छ ।
मेला तथा महोत्सवका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्रिया रहने छन् ।
मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने छन् ।
मेला सञ्चालनका ५५५ सदस्यीय मुल समिति, सल्लाहाकार समिति र विभिन्न उपसमिति गठन गरिएको छ । तिलोत्तमा–५ मणिग्राममा सञ्चालन हुने महोत्सवका लागि प्रदर्शनी स्थलमा सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने स्टल, गेट तथा अन्य निर्माणको काम भैरहेको छ ।
लेखकको सम्वन्धमा