सत्यवतीमा मंसिर ७ देखि ११ गतेसम्म ५ दिन मेला हुँदै

सत्यवतीमा मंसिर ७ देखि ११ गतेसम्म ५ दिन मेला हुँदै
0 0
Read Time:4 Minute, 42 Second

बुटवल । पाल्पाको सत्यवती तालमा यसपटक पाँच दिन मेला लाग्ने भएको छ । मंसिरको एकादशीदेखि पूर्णिमा सम्म मंसिर ७ गतेदेखी ११ गतेसम्म मेला लाग्ने सत्यवती मन्दिर ताल व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले आइतबार तालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
पाल्पाको तिनाउ गाउँपालिका-४, सत्यवती जंगल क्षेत्रमा लाग्ने मेलामा श्रद्धालुको संख्यामा अघिल्लो वर्ष उल्लेख्य वृद्धि भएको र यसवर्ष पनि कमी नआउनने उनले बताए ।


मेलामा नेपाल र भारतका गरी एक लाख बढी श्रद्धालु मेला भर्न आउने अनुमान मन्दिर व्यवस्थापन समितिको छ । गतवर्ष कार्तिकमा पूर्णिमामा परेको र ‘जोक’ परेकाले १ लाख ५० हजार बढी श्रद्धालु आएका थिए ।
सत्यवती ताल मन्दिर व्यवस्थापन समितिका अनुसार मंसिरमा पूर्णिमा पर्दा ‘जोक’ पर्दैन र श्रद्धालुको संख्यामा पनि कमी आउने भन्ने छ तर पछिल्लो समय जहिलेसुकै श्रद्धालु मन्दिरसम्म पुग्ने गर्छन् ।
कार्तिक ७ गतेदेखि ११ गतेसम्म पाँच दिन मेला लाग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पाँच दिनमा कम्तीमा एक लाख श्रद्धालु मेला भर्न आउने अपेक्षा समितिको छ । प्रचारप्रसार गरेपनि नगरेपनि यहाको सत्यवतीमा मेला भर्न हिमाल, पहाड, तराईबाट मात्र होइन भारतका विभिन्न स्थानबाट आउने गर्छन् ।
मन्दिरसम्म पुग्नका लागि सडक स्तरोन्नतीका साथै ताल वरपर भौतिक निर्माणका लागि गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।
कानले नसुन्ने सत्यवती बज्यैको दर्शन गर्ने भक्तजनले चिच्चाएर वर माग्ने गर्छन् । मनोकांक्षा पूरा हुने भएकाले धेरै श्रद्धालु पटकपटक आउने गरेको पाइएको छ ।
मेलाका लागि तयारी पूरा भएको समितिले जनाएको छ । तानसेन र वुटवल क्षेत्रबाट आउने भक्तजनहरु सिद्धार्थ राजमार्गको २४ माइल र झुम्सा पानी मिलबाट पैदल दुई घण्टाको उकालो हिडे सत्यवती ताल पुग्न सक्छन् ।
मेलाबाट उठेको रकम सोही मन्दिर व्यवस्थापनमै खर्च हुने गरेको छ । गतवर्ष भेटि र पसलको भाडाबाट २१ लाख ८४ हजार उठेको थियो । रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले भाकल पुगेकाले एक लाख नगद प्रदान गरेको समितिले जनाएको छ । मेला भर्न पुग्ने श्रद्धालुहरुले बास वा पातीको लिङ्गो लिएर जान्छन् ।
त्यसलाई बोकेरै चिच्चाउदै बर माग्ने र गाडेर त्यसैको फेदमा पुजा गर्ने चलन छ । यहाँ बोका, पाठी, पाठा, हास, कुखुराको बलीसमेत दिइन्छ । छिमेकी जिल्ला रुपन्देही, स्याङ्गजा गुल्मी, अर्घाखाची, नवलपरासी, कपिलवस्तु, दाङ्ग कास्की, काठमाण्डौ लगायत भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट समेत मेला भर्न र पुजाआजा गर्न आउने गर्छन् ।
ताल र मन्दिरसम्म पुग्ने सडक स्तरोन्नति हुन सकेको छैन । यहाको विकासका लागि सरकारी र गैरसरकारी संस्थाले काम गरेपनि उपलब्धि भने देखिएको छैन ।
पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले जानकारी दिए । संघीय, प्रदेश र गाउँपालिकाका साथै विभिन्न संघसंस्थाका साथै राष्ट्रपति चुरे तराई मधेश विकास समितिले समेत यहाँ निर्माणको काम गरेको छ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement