लुम्बिनी एक्स्पो २०८० : कृषि पेभेलियन उत्पादन पहिचान गराउने माध्यम
बुटवल । पुस ५ गते देखी बुटवलको प्रदर्शनी केन्द्रमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० चलिरहेको छ। दर्शकको घुइँचो निकै छ। स्टल घुमी सकेर मञ्च(स्टेज) तर्फ जानेहरूको ध्यान स्टेज पछाडिको पेभेलियनले खिच्छ । प्रायः मेला महोत्सवमा कृषिका स्टल अन्य स्टलहरूकै बिचमा हुने गरेकोमा यो पटक स्टेज पछाडि छुट्टै पेभेलियन नै निर्माण गरिएको छ।
उखु पेल्ने कोल, छपियाको माछा,दूध डेरी तथा बेकरी मसिन उपकरण बिक्रेता,लुम्बिनी प्रदेशका जिल्लागत बाली विशेष स्टलहरूमा कृषि उत्पादन, स्पिन्जर च्याउ फर्म तथा कृषि औजारहरू लगायतका स्टलहरू पेभेलियनमा रहेका छन्।
लुम्बिनी प्रदेश कृषि भूमि व्यवस्था मन्त्रालय अन्तरगतका कृषि विकास निर्देशनालय र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले स्टल खर्च गरेर पेभेलियनमा २१ स्टलमा कृषि सँग सम्बन्धी सामाग्री राखिएका छन्।
पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका कृषि अधिकृत आशा भण्डारीले पशुपंक्षिका ५ वटा र कृषिका १६ स्टल रहेको बताइन। उनले स्टलको खर्च प्रदेश सरकारले बेहोरेको बताउँदै यी स्टलबाट बिक्री मात्रै भन्दा पनि आफ्नो उत्पादनको पहिचानमा ध्यान दिई रहेको बताइन।
कृषि विकास निर्देशनालयका अधिकृत दयाराम बस्यालले कृषिजन्य उत्पादन एवं किसानलाई समेट्दै जिल्लागत रुपमा स्टल राखिएको बताए। उनले पेभेलियनको पहिलो स्टलमा निर्देशनालयका कामको बारेमा बताउँदै आवश्यक समन्वय गर्दै आएको बताए।
पर्यटन प्रवर्द्धन एव तालिम गोष्ठी उप समिति संयोजक मनहरी बस्यालले प्रदेश सरकारको यो पहलले कृषकहरूमा उत्साह बढेको बताउँदै मेलामा आएका सबैलाई कृषि पेभेलियन पनि हेर्न आग्रह गरे।
मेलामा सोमबारदेखि निःशुल्क माटो परीक्षण सुरु गरिएको कृषि तथा प्रविधि उपसमिति संयोजक मेघनाथ पौडेलले जानकारी दिए।
उनले उत्पादन घट्ने कारण माटोको अवस्था थाहा नहुनु भएकोले शिविर सञ्चालन गर्न लागिएको बताउँदै यो किसानलाई निकै फाइदाजनक रहेकोले लाभ लिन किसानलाई आग्रह गरे।
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहर देखी गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि सञ्चालन मेला पुस १८ गतेसम्म चल्नेछ।
एक्स्पोमा सबैभन्दा धेरै गार्मेन्ट तथा तयारी पोसाकका १ सय ४१ स्टल छन् । होटेल तथा रेस्टुरेन्टका २३, कृषिका ४३, अन्तर्राष्ट्रिय १०, ब्याग र जुत्ता चप्पलका ६८ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका ७८ स्टल रहने मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । शृङ्गार, उपहार तथा खेलौनाका ५२,फर्निचर तथा फर्निसिङ, किचन एन्ड प्लास्टिकका ५३,बैंक÷वित्तीय संस्था एवं शैक्षिक संस्थाका १८, अटोमोवाइल्का ६, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेकट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८,स्टेशनरी तथा स्पोर्टसका ८ र औषधिजन्य ६६ स्टल रहेको अध्यक्ष घिमिरेले बताए । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।
लेखकको सम्वन्धमा