लुम्बिनी एक्स्पोमा निःशुल्क माटो परीक्षण
बुटवल । पुस ५ गतेदेखि बुटवलको प्रदर्शनी केन्द्रमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० मा निःशुल्क माटो परीक्षण सुरु भएको छ।
रुपन्देही व्यापार संघको आयोजनामा सञ्चालित लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेलामा सोमबारदेखि निःशुल्क माटो परीक्षण सुरु गरिएको कृषि तथा प्रविधि उपसमिति संयोजक मेघनाथ पौडेलले जानकारी दिए।
उनले उत्पादन घट्ने कारण माटोको अवस्था थाहा नहुनु भएकोले शिविर सञ्चालन गर्न लागिएको बताउँदै यो किसानलाई निकै फाइदाजनक रहेकोले लाभ लिन किसानलाई आग्रह गरे।
उनले माटो परीक्षणको लागि किसानलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको बताउँदै निःशुल्क परिभक्षणले किसानहरूको उत्पादन बढ्ने उल्लेख गरे।
माटो तथा मल परीक्षण प्रयोगशालाको घुम्ती बस खजुरा बाकेबाट ल्याएर मेलाको मञ्च पछाडि कृषि पेभेलियन मुखबाट सेवा प्रदान गर्न सुरु गरिएको हो।
विश्व बैङ्कको सहयोगमा सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाबाट प्राप्त बस सहित ६ जना प्राविधिकहरूले दैनिक रूपमा किसानले ल्याएको माटो परीक्षण गर्ने रुपन्देही व्यापार संघका अध्यक्ष एव मूल आयोजक समिति संयोजक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए।
रुपन्देही व्यापार संघले विगतदेखि नै कृषिको व्यवसायीकरण तथा आधुनिकीकरण, स्थानीय साना तथा घरेलु व्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा सञ्चार, शैक्षिक, सेवा मूलक, वैकल्पिक ऊर्जा, स्वदेशी उत्पादनका व्यवसायलाई महत्त्वपूर्ण ढङ्गले समावेश गर्ने प्रयास यस पटकको एक्स्पोमा पनि व्यवहारमै कार्यान्वयन गरिएको संघका अध्यक्ष घिमिरेले बताए ।
प्राविधिक(जेटिए) चन्द्रकला बुढाथोकीले किसानले ल्याएका माटोको नमुना अनुसार रिपोर्ट आउने भएकोले नमुना ल्याउँदा ध्यान दिनुपर्ने बताइन् । उनले आधा केजी माटो ल्याउनुपर्ने बताउँदै पुरै जग्गाको प्रतिनिधित्व हुने गरी सङ्कलन गर्नुपर्ने बताइन।
नमुना ल्याउँदा सफा प्लास्टिकको प्रयोग गर्न सुझाव दिँदै उनले सतहको माटो भन्दा पनि केही इन्च तलको ढुङ्गा रहित सुख्खा माटो ल्याउनु पर्ने बताइन। उनले दैनिक ५० नमुना परीक्षण गरी रिपोर्ट दिन सकिने बताउँदै बिहान १० बजे भित्र नमुना आएमा छिटो रिपोर्ट दिन सकिने बताइन।
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहर देखी गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि सञ्चालन मेला पुस १८ गतेसम्म चल्नेछ।
एक्स्पोमा सबैभन्दा धेरै गार्मेन्ट तथा तयारी पोशकाका १ सय ४१ स्टल दर्ता भएका छन् । होटल तथा रेस्टुरेन्टका २३, कृषिका ४३, अन्तर्राष्ट्रिय १०, ब्याग र जुत्ता चप्पलका ६८ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका ७८ स्टल रहने मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । श्रृंगार, उपहार तथा खेलौनाका ५२,फर्निचर तथा फर्निसिङ, किचन एन्ड प्लाष्टिकका ५३,बैंक÷वित्तीय संस्था एवं शैक्षिक संस्थाका १८, अटोमोवाइल्का ६, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेकट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८,स्टेशनरी तथा स्पोर्टसका ८ र औषधिजन्य ६६ स्टल रहेको अध्यक्ष घिमिरेले बताए । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।
मेलामा बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्त्व बोकेका सम्पदा तथा स्थलको प्रचारप्रसारसमेत भइरहेको महासचिव दयानिधि भण्डारीले बताए । मेला अवधिमा दर्शकको मनोरञ्जनका लागि लोक दोहोरी, डान्स आइडल, विद्यालय स्तरीय लोक नृत्य, विद्यालय स्तरीय वादविवाद, र्याप र भजन गीत प्रतियोगिता तथा चर्चित कलाकारहरूको प्रस्तुति समावेश गरिने उनले जानकारी दिए ।
लेखकको सम्वन्धमा