लुम्बिनी एक्स्पो : अधिकांश पसलमा ‘सेल’ र छुट, न्यून आर्थिक अवस्था भएकोलाई राहत पुग्ने अपेक्षा
बुटवल । बुटवलमा रुपन्देही व्यापार संघले आयोजनामा पुस ५ गतेदेखि सञ्चालित लुम्बिनी एक्स्पो २०८० मा थोरै पैसामा धेरै कुरा पाइन्छ। एक्स्पोमा रहेका स्टलमा छुटं, सेल एवं अफर हेर्दा थोरै पैसामा धेरै कुरा किन्न पाइन्छ भन्दा गलत नहोला।
करिब ६ सय स्टल रहेका एक्स्पोमा लगाउने लत्ता कपडा तथा भाडाकुडाका पसलमा सेलका बोर्डहरू देख्न सकिन्छ। स्टल घुमिरहँदा प्रायः पसलबाट ५ सय मा दुई वटा, ३ सय मात्रै, अथवा फिक्स रेट भन्ने आवाज सुन्न सकिन्छ।
देशमा आर्थिक सङ्कटको समयमा चलेका मेला महोत्सवमा केही न केही अफर हुने भन्दै विपन्न वर्ग समेत मेला आएर आवश्यक सामाग्रीहरू किन्ने गरेका छन्।
बुटवल योगिकुटी भाडामा बस्दै आएका ६६ वर्षीय दिलीप सुनार आफ्नो र श्रीमतीलाई जुता किन्दै थिए। जाडो लागेकोले जुत्ता किन्न श्रीमतीले आग्रह गरेपछि निस्केका उनी ‘मेलामा पक्कै सस्तो पाइन्छ’ भन्ने सोचले आएको बताउँदै सोचे अनुसार नै ५ सयमा दुई जनालाई जुत्ता किन्न पाउँदा निकै खुसी लागेको बताए। उनी एक उदाहरणीय पात्र हुन। मेला महोत्सवमा छुट तथा अफर पाउने आशामा पुग्नेको सङ्ख्या पनि धेरै नै छ।
मेला स्टल घुम्दै गर्दा जुत्ता, लुगा तथा भाडाकुडामा सेल लागेसङै अन्य उत्पादनमा पनि अफर चलिरहेका छन्। मेलाका स्टलमा लेज, कुरकुरे,चाउचाउ, बिस्कुट, साबुन लगायतका बस्तुहरूमा अफर चलिरहेका छन्।
यता नयाँ कुराहरू अर्थात् पिरो चाउचाउ, रुपन्देही तथा नेपालमै उत्पादित मह र छोप तथा अचारमा भने चाखेर नपरेमा लैजाने ब्यवस्था उत्पादकले गरेका छन्।
त्यसो त मेला महोत्सवमा आउने सामाग्री कमसल रहने गुनासो आएपनि अनुगमन गर्ने गरिएको रुपन्देही व्यापार संघका महासचिव दयानिधि भण्डारीले बताए। यस्ता किसिमका छुटले आर्थिक अवस्था कमजोर भए पनि किनमेल गर्न सहजता ल्याएको उनको विश्वास छ।
उनले मेलामा राखिएका छुटले आर्थिक अवस्था राम्रो भयकालाई ठुलो प्रभाव नपारे पनि न्यून आर्थिक अवस्था भएकालाई ठुलो राहत पुगेको विश्वास लिइएको बताए।
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहर देखी गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ रुपन्देही व्यापार संघले पुस ५ गतेदेखि सञ्चालित मेला पुस १८ गतेसम्म चल्नेछ।
एक्स्पोमा सबैभन्दा धेरै गार्मेन्ट तथा तयारी पोसाकका १ सय ४१ स्टल छन् । होटेल तथा रेस्टुरेन्टका २३, कृषिका ४३, अन्तर्राष्ट्रिय १०, ब्याग र जुत्ता चप्पलका ६८ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका ७८ स्टल रहेको मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
शृङ्गार, उपहार तथा खेलौनाका ५२,फर्निचर तथा फर्निसिङ, किचन एन्ड प्लास्टिकका ५३,बैंक÷वित्तीय संस्था एवं शैक्षिक संस्थाका १८, अटोमोवाइल्का ६, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेकट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८,स्टेशनरी तथा स्पोर्टसका ८ र औषधिजन्य ६६ स्टल रहेको अध्यक्ष घिमिरेले बताए । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।
लेखकको सम्वन्धमा