पाचौं सडक खाना महोत्सवको तयारी पुरा, शनिबार उद्घाटन हुने
बुटवल । बुटवलको पर्यटन प्रवद्र्धन र सुस्ताएको बजारलाई चलायमान बनाउने उद्देश्यले होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पाँचौ खाना महोत्सव गर्ने भएको छ । बुटवलको तिनकुनेदेखि बसपार्कसम्म शनिवारदेखि तीन दिनसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । संघले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सडक खाना महोत्सव आयोजना गरेको हो । खाना महोत्सवको तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा सहित बुटवल उपमहानगरपालिका वडा नं. ९ कालिकापथ स्थित तिनकुने देखि उत्तरतर्फ नयाँ बस पार्कसम्मको सडकमा सडक खाना महोत्सव गर्न लागिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी गराउनु भयो ।
अघिल्लो वर्षदेखि यो सडकमा रात्रीकालिन बजार समेत सञ्चालन हुँदै आएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि आयोजना गरिएको सडक खाना महोत्सवमा यश क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्ट तथा विभिन्न जातजाती र संस्कृतिका खानाका परिकारका स्टल राखिने छ । नेपाली खाना तथा कला संस्कृतिको संरक्षण सम्वद्धर्न गर्ने उदेश्यले आयोजना गरिएको सडक खाना महोत्सवमा रात्रीकालिन विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।
सडक खाना महोत्सवमा १ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र दुई करोड बढीको आर्थिक कारोवार हुने लक्ष्य लिईएको छ । मगर, गुरुङ, नेवारी, थकाली लगायत जातीका खानाका परिकार सहित एक सय वटा विभिन्न प्रकृतिका स्टलहरु रहने छन् । साँझ ६ बजेदेखि राती १२ बजेसम्म महोत्सव चल्ने छ । फराकिलो सडकपछि रात्रिकालिन व्यवसायका लागि बसपार्कदेखि होराइजचोकसम्मको क्षेत्र पछिल्लो समय व्यवसायीहरुको रोजाइको केन्द्र बनेको छ ।
खाना महोत्सवको प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । महोत्सवको उद्घाटन अगाडि सांस्कृतिक पहिचान झल्कीने झाँकी सहितको ¥याली निकालिने संघका महासचिव अर्जुन थापाले बताउनु भयो ।
लेखकको सम्वन्धमा