एक्स्पो सचिवालय अगाडि प्राचीन पुर्खादेखि अहिलेसम्म झल्काउने प्रतिबिम्ब
बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा सञ्चालित लुम्बिनी एक्स्पो २०८० एउटा अन्तर्राष्ट्रिय व्यापार मेला हो । यहाँ धेरै कुराहरू प्रदर्शनीका लागि राखिएका छन्। जसमध्ये धेरैको ध्यान खिच्न सफल भएको एउटा कुरा जो सचिवालय नजिकै छ – प्राचीन पुर्खादेखि अहिलेसम्म झल्काउने प्रतिबिम्ब।
एक्स्पो सञ्चालनमा आएको दोस्रो दिनसम्म आउनेले खासै ध्यान नदिएको यो प्रतिबिम्ब त्यसयता निकै चाखका साथ हेर्ने गरेका छन्।
एक जना सुरक्षाकर्मी बाहिर बसेर त्यहाँ जानेलाई व्यवस्थित गरिरहेका हुन्छन्। प्राचीन काल देखि हाम्रा पुर्खाहरू कुन तहबाट आजका दिन सम्म आएका छन् भन्ने कुराको प्रतिविम्बका रूपमा राखिएको आयोजकको दाबी छ।
हाम्रा हिजोका लवाई कस्ता थिए हाम्रा कपडा कस्ता थिए हामीहरू बसेर छलफल गर्दा कसरी गर्थ्यौ भन्ने कुरालाई यो प्रतिबिम्बमा उतारिएको छ।
माथि सगरमाथा – तलपट्टि चौरी गाईहरु हिँडडुल गरेका छन् । हिमाल भन्दा तल पहाडका मान्छेहरूको रहनसहन, तथा जीवनस्तरको प्रतिबिम्ब देखाइएको छ।
संघका पूर्व अध्यक्ष यमलाल लोहनीले लुम्बिनी एक्स्पो एउटा प्रदर्शनी स्थल भएको हुँदा प्राचीन नेपाल र नेपाली देखाउने उपयुक्त स्थल सम्झेर यहाँ प्रतिबिम्ब राखेको बताए।
उनले भने,’ यहाँ हाम्रा बच्चाहरू र हाम्रा अहिलेका पुस्ताहरूलाई कतिपय हाम्रा पुराना कुराहरू कथाका रूपमा अथवा कविताका रूपमा वा किताबको रूपमा मात्र अध्ययन गर्ने खालको स्थिति देखा परेकोमा अहिले यो प्रदर्शनीमा उनीहरूले केही कुराहरू सिक्ने मौका पाउन, विद्यार्थी भाईबहिनीहरुलाई पनि त्यसको बारेमा जानकारी रहोस् भनेर हामीले प्रतिविम्बका रूपमा सचिवालयको अगाडि राखेका हौ ।’
हाम्रो पौराणिक इतिहासलाई पनि हाम्रा हजुरबुबाहरू जिजु-हजुरबुबाहरू र अग्रजहरूको भूमिका कहो भन्ने बारेमा चाहिँ अहिलेका पुस्ताहरूले साह्रै उत्साहका साथ हेरेको संघ अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
यो प्रतिबिम्ब माथि देखि तल सम्मको पुरा संरचना बनाउँदा नै ५० लाख जतिको खर्च लागेको अध्यक्ष घिमिरेले जानकारी दिए। उनले लक्ष्य अनुसार लक्षित समूहले यसको बारेमा बुझ्दा र फोटोहरू खिच्दा आयोजक सन्तुष्ट रहेको दाबी गरे। उनले भने,’ खर्च मात्रै ठुलो कुरा होइन। विगतका दिनहरूका कुरा हामीले बुझाउन सक्यौ भने त्यो नै हाम्रो सफलता हो भन्ने हामीले बुझेका छौ । आयोजक खुसी छौ । ‘
एक्स्पोमा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।
लेखकको सम्वन्धमा