एक्स्पोको निःशुल्क माटो परीक्षणमा साढे ५ सय किसानले लिए सेवा
बुटवल । पुस ५ गते देखी बुटवलको प्रदर्शनी केन्द्रमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० मा भएको निःशुल्क माटो परिक्षणबाट करिब साढे ५ सयले सेवा लिएका छन्।
रुपन्देही व्यापार संघको आयोजनामा सञ्चालित लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेलामा सोमबारदेखि सुरु गरेको निःशुल्क माटो परीक्षणमा ५ सय ३० जनाले सेवा लिएको कृषि तथा प्रविधि उपसमिति संयोजक मेघनाथ पौडेलले जानकारी दिए।
उनले उत्पादन घट्ने कारण माटोको अवस्था थाहा नहुनु भएकोले शिविर सञ्चालन गरिएको बताउँदै यसले किसानलाई निकै फाइदा पुर्याएको दाबी गरे।
उनले माटो परीक्षणको लागि किसानलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएकाले सहजताका साथ माटो परीक्षण सफल भएको बताए।
माटो तथा मल परीक्षण प्रयोगशालाको घुम्ती बस खजुरा बाँकेबाट ल्याएर मेलाको मञ्च पछाडि कृषि पेभेलियन अगाडि बस राखेर सेवा दिइएको थियो।
विश्व बैंकको सहयोगमा सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाबाट प्राप्त बस सहित ६ जना प्राविधिकहरूले दैनिक रूपमा किसानले ल्याएको माटो परीक्षण गर्दै सोही दिन नै रिपोर्ट प्रदान गरेको रुपन्देही व्यापार संघका अध्यक्ष एव मूल आयोजक समिति संयोजक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए।
रुपन्देही व्यापार संघले विगतदेखि नै कृषिको व्यवसायीकरण तथा आधुनिकीकरण, स्थानीय साना तथा घरेलु व्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा सञ्चार, शैक्षिक, सेवा मूलक, वैकल्पिक ऊर्जा, स्वदेशी उत्पादनका व्यवसायलाई महत्त्वपूर्ण ढङ्गले समावेश गर्ने प्रयास यस पटकको एक्स्पोमा पनि व्यवहारमै कार्यान्वयन गरिएको संघका अध्यक्ष घिमिरेले बताए ।
प्राविधिक(जेटिए) चन्द्रकला बुढाथोकीले किसानले ल्याएका माटोको नमुना अनुसार रिपोर्ट उहीँ दिन नै दिएको जानकारी गराइन। उनले २० वटा नमुना सही तरिकाले नल्याउँदा सही रिपोर्ट आउन नसकेको भएपनि बाकीका नमुनाबाट कृषकलाई सुझावसहितका रिपोर्ट दिइएको जानकारी गराइन।
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहर देखी गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि सञ्चालन मेला पुस १८ गतेसम्म चल्नेछ।
मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए।
यो पनि
लुम्बिनी एक्स्पोमा निःशुल्क माटो परीक्षण
लेखकको सम्वन्धमा