add frist

गृहपृष्ठ अर्थमन्त्री पौडेलले गरे रुपन्देहीमा एकैदिन ३ वटा मोटरेवल पुल उद्घाटन

अर्थमन्त्री पौडेलले गरे रुपन्देहीमा एकैदिन ३ वटा मोटरेवल पुल उद्घाटन

बुटवल,माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज रुपन्देही जिल्लाका ३ वटा पूल उद्घाटन गरे । निर्माण सकिएर संचालनमा आइसकेका ३ वटा मोटरेवल (पक्की पुल) उद्घाटन गरेका हुन् । बिभिन्न कार्यक्रममा सम्बोधन गर्दै उनले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

बुटवल १४ नयाँगाउँमा निर्माण भएको दानब नदी पुल, बुटवल११ को मगरघाट पुल र देवीनगर-बुद्धनगर जोड्ने पुलको उद्घाटन गरेका हुन् ।उनले विकास निर्माणलाई एक साथ अघि बढाउने बताए । उनले भने, ‘विकासका हिसाबले यो ठाउँलाई पछि पर्न दिदैनौं ।’

अर्थमन्त्री पौडेलले अबका समयमा सरकारका कामसँगै विकास निर्माणलाई पनि प्रभावकारी ढङ्गले अघि बढाउने जनाउँदै यसमा साथ दिन सबैलाई आग्रह गरे । यस क्षेत्रका विकासका मुद्दालाई ओझेलमा पर्न नदिन स्थानीयवासीको पनि उत्तिकै भूमिका हुने छ भन्दै अर्थमन्त्री पौडेलले समयसमयमा खबरदारी गर्न आवश्यक रहेको बताए ।

विसं २०७६ भदौ ३० गते निर्माण सम्पन्न भएको दानव नदी पुलको लम्बाइ ९८ दशमलव २५ मिटर र चौडाइ ७ दशमलब २ मिटर रहेको छ । पुलको लागत रु ६ करोड २३ लाख रहेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिए । यसअघि अर्थमन्त्री पौडेलले आजै बिहान योगीकुटी र शिवनगर जोड्ने मगरघाटको पुल उद्घाटन गरेका थिए । सो पुल २०७३ सालमा सम्झौता भएर २०७६ माघमा सम्पन्न भएको हो । १८० मिटर लम्बाइ ११ मिटरकै चौडाइको यो पुलको लागत २१ करोड ४९ लाख रहेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

यता देबीनगर-बुद्धनगर जोड्ने पुल विसं २०७२ असार ३० गते निर्माण शुरु भई २०७६ माघ ५ गते सम्पन्न भएको थियो । पुलको लम्बाइ ११० मिटर र ११ मिटर चौडाइ रहेको छ । पुलको लागत रु १० करोड ४५ लाख रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । पुल नहुँदा बुटवलको तिनाउ नदी पारिका बस्तीलाई समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु