आज भाइटीका : उत्तम साइत ११ बजेर २ मिनेटमा

बुटवल,कार्तिक । यमपञ्चकको अन्तिम दिन आज स्वेदश तथा विदेशमा रहेका हिन्दुहरुले परम्परा अनुसार दिदीबहिनीबाट दाजुभाइको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाइटीका लगाइदैछ । यसवर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
साइतको समय भनिए पनि भाइटीका दिनैभर लगाउन कुनै फरक नपर्ने पनि समितिले प्रष्ट गरेको छ । दिदिबहिनीहरुले आफ्ना दाजुभाइलाई टीका लगाईदिदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरि कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्दछन् ।
पौराणीक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मानपूर्वक पूजाआजा सहित भाइटीका लगाएको सम्झनामा यो परम्पराको सुरुवात भएको मानिन्छ । टीकामा साइतका प्रतिक सात वा पाँच रङ प्रयोग गरिनुका साथै दाजुभाइलाई सगुन, मिठाई, फलफूल, ओखर, कटुस, मसला तथा सेलरोटी खुवाउने चलन छ । दिदीबहिनीले टीका लगाई दिएपछि दाजुभाइहरुले पनि आफ्नो गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको कामना गर्ने गरिन्छ ।
भाइटीकाका दिन भाइलाई दिदीबहिनीले कालको मुखबाट समेत बचाइ दिने पौराणिक कथन छ । यस दिन यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुकासाथ बहिनी यमुनाकोमा आराम गर्न र टीका लगाउन आउने पौराणिक विश्वास छ । यसै दिनको सम्झनामा आज दाजुभाइलाई दिदीबहिनीले टीका लगाएर मिष्ठान्न भोजन गराउने गरिन्छ ।
दिदीबहिनीले लगाई दिने रंगमा सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो निरोगिताको प्रतिक मानिन्छ । आजको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन् ।