जब उपप्रमुख अर्यालले गित गाउन थालिन

बुटवल । सधै काममा ब्यस्त हुने कामकाजी महिला बिहिबार चिटीक्क सारीमा सजिएको देख्दा चिन्न हम्मे हम्मे परेको थियो । कर्मचारी महिला आफ्नै कार्यलय पोशाकमा सधै जसो देखिने , प्रहरी महिला आफ्नै पोशाकमा आफ्नै कर्ममा खटिएका देखिन्थे तर बिहिबार बिभिन्न क्षेत्रमा कार्यरत सबैजसो महिला सारी र कुर्ता सुरवालमा सजिएका थिए । कामको बोझबाट अलि टाढा भएर तीजको रमाइलोमा सबै खुशी देखिन्थे । नगरका महिला जनप्रतिनिधि,कर्मचारी ,बिभिन्न संघ सस्थामा आवद्ध महिला ,पत्रकार महिला , स्वास्थ्य स्वयंसेवक महिला,महिला प्रहरीको बाक्लो उपस्थितीले हल खचाखच भरिएको थियो । प्राय कार्यक्रममा सिमित ब्यक्तmीहरु देखिने हलमा महिलाहरुको बाक्लो उपस्थितीले माहोललाई रमाईलो बनाएको थियो । मन्चमा नगरका प्रमुख , प्रमुख प्रशासकीय अधिकृत सहित अर्का एक जना पुरुष बाहेक सबै महिला देखिन्थे । यो दृश्य हो ,बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उपप्रमुख तीज मिलन कार्यक्रमको ।
बिहिबार वुटवल उपमहानगरपालिकाको आयोजना र नेपाल नगरपालिका कर्मचारी एशोसियसन ईकाइ समिति वुटवल उपमहानगरपालिकाको व्यवस्थापनमा उपप्रमुख तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उप प्रमुख साबित्रा देबि अर्यालले
दुवै पाथि धान दिन्ुस अहिले तिज मान्नलाई
तिज पछि आउने छु बाझो खन्नलाई ।
अर्को साल तिजमा भेट भईन्छ भइन्न
अहिलेको तिजमा नाचौ बरिलै
बोलको पुरानो भाकाको गित गाउदा कार्यक्रमका सहभागी उठेर छमछमी नाँचेका थिए ।
पछिल्लो समयमा पुराना भाकामा गाईने तिजका गितहरु सुन्न कमै पाईने बेलामा वहाँले यो गित लय हालेर गाउदा साच्चिकै तीजको पुरानो झल्को मेटिन्थ्यो ।
आफु जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएपछिको पहिलो तीज मिलन कार्यक्रमको आयोजना गरेर अर्यालले तीजपर्वलाई सबै माझ दिदिबहीनी आमा,र भाइचाराको सम्बन्ध विस्तार गर्नुभएको छ । अर्यालले कार्यक्रममा मन्तब्य दिने बेला झण्डै ४ गितका टुक्का गाउनुभएको थियो ।
कार्यक्रमा बोल्दै उपप्रमुख सावित्रा देवि अर्यालले धनि र गरिबको असमानताका लागि विभिन्न अधिकारका लागि लडाई लडेको स्मरण गर्दे तिज पर्वलाई पनि समृद्ध र समानता संग जोडन अनुरोध गर्नुभयो ।
पहिले घाँस दाउरा , मेलापात, चुल्हो चौकामा मात्र सिमित महिलाहरु आज समृद्ध र अधिकारका लागि एकजुट हुन सफल भएको उनको भनाई छ । उपप्रमुख अर्यालले महिला आन्दोलनका रूपमा तीज पर्वलाई मनाउनुपर्ने बताउनुभयो । उहाँले तीजमा केही विकृतिहरू बढ्न थालेकाले त्यस्ता विकृति हटाउदै प्रगतिशील बनाउनुपर्ने बताउनुभयो ।
नगरप्रमुख पाण्डेयले महिलाका पीडा व्यक्त गर्ने चाडले सकारात्मक सन्देश प्रवाह गर्दै समाज विकासमा योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले तीजलाई महिला अधिकार र महिलाको क्षमता अभिवृद्धिसँग जोडेर अभियानका रूपमा मनाउनुपर्ने आवश्यकता बढ्दै गएको बताउनुभयो ।
पाण्डेले चाडपर्वहरुलाई मौलिकताका साथ मनाउन आग्रह गर्दे कार्यक्रममा उपस्थित महिलाहरुमा शुभकामना दिनुभयो । पाण्डेले यस्ता खालका कार्यक्रममले घर धन्दा ,अफिस र आफ्नो निजि जिवनमा व्यस्त महिलाहरुलाई त्यो सबै बाट टाढा राखेर रमाईलो प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले तीजले समाजमा सकारात्मक सन्देश छर्दै संस्कृति संरक्षण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको अध्यक्षता, नेपाल नगरपालिका कर्मचारी एशोशिएशन बुटवल उपमहानगरपालिका ईकाईका अध्यक्ष अनिलकुमार माण्डव्यको स्वागत र सचिव रेश्मीराज घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।अर्यालले माइतीको र दिदिबहिनीको माया झल्किने भन्दै कार्यक्रममा उपस्थित महिलाहरूलाई टिका पोते उपहार प्रदान गर्नुभएको थियो ।