add frist

कास्कीमा आज देखि नयाँ आदेश जारी, अटेर गरे कारबाही हुने

पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीले आजदेखि लागू हुनेगरी कोरोना संक्रमण रोकथाम आदेश जारी गरेको छ ।

गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको २६ गतेको बैठकको निर्णय समेतका आधारमा शनिबारदेखि जिल्लाभरी लागू हुनेगरी कोरोना संक्रमण रोकथाम आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिनुभयो ।

प्रशासनले आदेश जारी गर्दै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन, महोत्सव तथा मेलाको आयोजना गर्न र सभा सम्मेलनमा रोक लगाएको छ । शनिवारबाटै जिल्लाभर सार्वजनिक सेवा लिँदा कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ ।
जारी आदेश अनुसार सार्वजनिक सवारी साधनमा यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ भने सिट क्षमता भन्दा बढी यात्रु बोक्न निषेध गरिएको छ ।

सवारीसाधनमा लामो दुरीको यात्रा गर्दा तथा हवाइ जहाजबाट यात्रा गर्दा खोप कार्ड अथवा कोभिड नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने छ ।

धार्मिक पारम्पारिक तथा सांस्कृतिक कार्य गर्दा भिड भाड नगरी घर परिवार मात्र सामेल भएर गर्नुपर्नेछ । आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठनमा जिल्ला भर रोक लगाइएको छ । सेमेस्टर, वार्षिक तथा अन्य परीक्षा सञ्चालनको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न भनिएको छ ।

औषधी लगायतका अत्यावश्यक वस्तु तथा सेवाको कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने र सहज आपूर्तिमा रोक लगाउने जस्ता कार्य भएमा कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

पेशा व्यवसाय तथा उद्योगधन्दा सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न भनिएको छ । जारी आदेश पालनान नगरेमा कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु