add frist

छैन चुनावको रौनक : बेरोजगारीले गाउँमै बस्न दिएन, रोजगारी खोज्दै भारत जानेको लर्को

बाँके, कात्तिक । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्नका लागि निर्वाचन हुन्दैछ । निर्वाचन केन्द्रित दलहरु जनतासँग भोट माग्न व्यस्त छन् त । तर देशको नीति निर्माण गर्ने नेतृत्व चुन्ने अवसरमा युवाहरु नै रोजगारीको खोजीमा छिमेकी मुलुक भारत जान बाध्य छन् ।

मतदानका लागि ८ दिन बाँकी रहँदा नेपालगञ्ज नाका हुँदै पश्चिम नेपालका सयौं युवाहरु रोजगारीका लागि भारततर्फ छिरिरहका छन् । खेतीपातीको काम सकेर रोजगारीको खोजीमा भारत छिर्ने नेपाली युवाहरुका जमात देख्न सकिन्छ, नेपाल–भारत जमुनाहा नाकामा ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख वरिष्ठ सई माधव रिजालले देश चुनावमय बन्दै गएको बेला पनि दैनिक ठूलो सङ्ख्यामा नेपाली युवा रोजगारीका लागि भारत गइरहेको बताउनुभयो ।

समूह–समूह बनाएर भारततिर जाने नेपालीको नेपालगञ्ज नाकामा अहिले पनि लर्को नै लागेको छ । विशेष गरेर कर्णाली प्रदेशका दैलेख, कालिकोट, जाजरकोट, रुकुम, रोल्पाका नागरिक यो नाका हुँदै भारततर्फ गइरहेका छन् । उनीहरूमध्ये धेरैको गन्तव्य भारतको कालापहाड, सिमला, प्रयाग, हैदरावाद र गुजरात हुने गरेको छ ।

निर्वाचनको बेला भारत जान लाग्नुभएका कालिकोटका हर्कबहादुर विकले मलाई चुनावमा मत हालेर कसैलाई जिताउने र कसैलाई हराउने रहर छैन, हामीले भोट हालेर के नै हुन्छ र रु भन्दै दुःखेसो पोख्नुभयो ।

कर्णाली प्रदेशका बहुसङ्ख्यक नागरिकले भारत गएर मौसमी मजदुरी गर्न बाध्य रहेको बताउनुहुँदै विकले काम नपाएपछि पेट पाल्न भारत जानैपर्ने बाध्यता रहेको बताउनुभयो ।

आफ्नो उत्पादनले तीन महिना पनि खान नपुग्ने हुँदा धेरैजना परिवारसहित नै मजदुरी गर्न भारत जानुपरेको नाकामा भेटिएका अधिकांशको भनाइ छ ।

सल्यानका दीपक सुनारले चुनावको मतलब नगरी कमाउन हिँडेको बताउनुभयो । ‘‘चुनावमा मतदान गर्न बसिएन । हामी मजदुरी गरेर खानेलाई केको चुनाव रु अहिले गए पनि उही र पछि गए पनि उही, आखिर जानैपर्छ ।,’’ सुनारले भन्नुभयो ।

भारतको रुपैडिहाबाट विभिन्न स्थानका लागि छुट्ने अधिकांश बसमा नेपालीमात्रै देखिन्छन् । अहिले रुपैडियाबाट नेपालीमात्रै भरिएर दैनिक ८–१० वटा बस गइरहेका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाले दैनिक पाँच सयभन्दा बढी नेपाली कामका लागि भारततिर गइरहेको जनाएको छ । गोरखापत्र अनलाइनबाट ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु