add frist

एकै विद्यालयका २८ जनामा कोरोना संक्रमण, विद्यालय बन्द

बागलुङ । बागलुङ नगरपालिका(१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिनुभयो । दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गरिएको थियो ।

विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुरोध गरिएको खनालले बताउनु भयो ।

बलेवा क्षेत्रमा बागलुङ नगरपालिका १२, १३ र १४ नम्बर वडा पर्छन् । बिहीबार थप तीन स्थानीय बासिन्दामा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कोरोना संक्रमण पाइएपछि स्वास्थ्य कार्यालयको टोली आज जान लागेको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताउनु भयो ।

बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित रहेकामा बिहीबारमात्रै थप संक्रमित थपिएपछि संख्या ४१ पुगेको छ । दुई जना संक्रमित धौलागिरि अस्पतालको आइसोलेशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु