१६ लाखको लागि फिल्मिशैलीमा साथीको हत्या

बुटवल । अर्घाखाँची पाणिनी गाउँपालिका–२ डाँडाकटेरी घर भई हाल सैनामैना बस्दै आएका ४३ वर्षीय एक पुरूषले १६ लाखको ट्रक आफ्नो नाममा पारेर फिल्मिशैलीमा साथीको हत्या गरेका छन् ।
बुटवलको मैनाबगरमा गाडि किनवेचको काम गर्दै आएका ४३ वर्षीय दिपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी बिष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका– २ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका – १३,वेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो ।
घटना विवरण अनुसार मृतक विष्णु पाण्डेको नाममा रहेको लु १ ख ७७८१ न. को ट्रक १६ लाखमा गौतमलाई पास दिएपछि उक्त रकम गौतमले यहाँ दिन नसकेकोले पुर्ख्यौली घरमा पुगेर बुवा आमासँग मागेर दिने भन्दै साउन ९ गते गाडी रिजर्भ गरेर अर्घाखाँचीस्थित घरमा लगेका थिए । घरमा गएको भोलिपल्ट घर नजिकैको जंगलमा कालिज मार्न भनी पाण्डेलाई लगेर टाउकोमा फलामको रडले प्रहार गरी भीरबाट खसालेपछि गौतम बुटवलमा आएका थिए ।
उनी बुटवलमा आएपछि र पाण्डेले लगेको मोबाइलमा उनी गएको अर्को दिनपछि सम्पर्क नभएपछि पाण्डेको परिवारले गौतमलाई फोन गरेर खोजतलास गरे पनि आफूलाई जानकारी नभएको जवाफ दिएका थिए ।
मृतकका परिवारको तर्फबाट प्रहरीमा उजुरी दिने संकेत पाएपछि गौतमले आफ्नो परिवारलाई लगाएर उल्टै बेपत्ता भएको निवेदन प्रहरीमा दिए । त्यति बेलासम्म प्रहरीमा पाण्डेका परिवारले ठाडो उजुरी दिएका थिए । गौतमविरुद्ध प्रहरीले यसैलाई आधार मानेर उनीहरुबीच कारोबार भएको ट्रक छोपेर अनुसन्धान थालेपछि गौतम सम्पर्कविहीन भएका थिए ।
१४ गते शनिवार दिउँसो पाण्डे अर्घाखाँचीको पाणिनि २ डाँडाकटेरीको सिद्ध सामुदायिक वनको नेवारे खोला नजिक शरीरमा भित्री टिसर्ट र भित्री वस्त्र मात्र लगाएको, टाउकोमा गहिरो चोटपटक, अनुहार तथा शरीरमा निलडामहरु समेत भएको मृत अवस्थामा भेटिएका छन् । उता उनको शव भेटिएसँगै भागेर भारत पुगेका गौतमलाई पनि प्रहरीले पक्राउ गरी आइतबार बिहान बुटवलमा ल्याएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलमा मृतकका दाजु तेजबहादुर पाण्डेले दिएको जाहेरी तथा प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अुनसार साउन ९ गते उनिहरु अर्घाखाँचीतर्फ लागेका थिए । अर्घाखाँची पाणिनी घरमा पुगेपछि पहिलो दिनसँगै खाना खाएर सुतेका थिए । भोलिपल्ट विहानै आरोपित गौतमले जँगलमा कालिज मार्न जाउँ भनि विष्णुलाई लगेका थिए । जँगलमा लगेपछि एकान्त पारी पछाडीबाट फलामको रडले टाउँकामा हानी हत्या गरेका थिए । २/३ पल्ट टाउँकोमा हानेपछि परान त्यागेका पाण्डेलाई जँगलको भिरबाट धकेलीदिएका थिए ।
आरोपित गौतमले ईलाका प्रहरी कार्यालय बुटवलमा दिएको बयान अनुसार सैनामैना कलौनीमा घर बनाउँदा उनी ऋणमा डुबेका थिए । यसैगरी बुटवलको मैनाबरगरमा सञ्चालन गर्दै आएको मोटर पार्ट्स पसल समेत घाटा भएपछि साथीको ट्रक सित्तैमा हत्याउने र उक्त ट्रकबाट आम्दानी गरी ऋण तिर्ने उद्देश्यसहित हत्याको योजना बनाएका थिए । साथीको हत्या गरी फरार रहेका गौतमलाई नेपाल भारतको सीमानाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतकका दाजु तेजबहादुर पाण्डेले साउन १५ गते आइतबार नै ईलाका प्रहरी कार्यालय बुटवलमा कारबाहीका लागि किटानी जाहेरी दिएका छन् ।
साउन ९ गतेको रातीसम्म परिवारको सम्पर्कमा रहेका मृतक पाण्डे एक्कासी सम्पर्कविहिन भएपछि परिवारले खोज तलासका लागि प्रहरीमा उजुरी दिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा साउन १५ गते जँगलमा मृत अवस्थामा पाण्डेको शव फेला परेको थियो ।