सम्पतिको लोभमा आगो लगाएर हत्या,योजनाकार र परिवारका सदस्यलाई पक्राउ

भैरहवा । प्रहरीले गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै हत्या गरिएका ३४ वर्षीय राजेन्द्र यादवको हत्यामा संलग्न ८ जनामध्ये आरोपित ६ जना योजनाकार र परिवारका सदस्यहरुलाई पक्राउ गरेको छ ।
राजेन्द्र यादवलाई उनकै भाई, काका र काकाको सम्धीले सम्पत्तिका लागि हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले बताए।
एक हप्ता अघि भएको घटनामा हत्याका आरोपितहरु सार्वजनिक गर्दै प्रहरीले मुख्य योजनाकार सियारी २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार मृतकको भाई विरेन्द्र यादव, काकाको सम्धी सन्त कुमार यादव, हत्याका सहयोगी सिद्धार्थनगर ११ का राकेश यादव र अफताव मुसलमानलाई पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक पोखरेलले बताए । अपराधमा संलग्न मध्यस्तकर्ता लङगारे भन्ने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका छन्।
गाउँबाट टाढा एकान्त ठाउँमा योजनाबद्ध रुपमा घटना भएको उनले बताए । मृतकका काकाले मान्छे मार्ने मध्यस्तकर्तालाई पच्चीस लाख वा १ कठ्ठा जग्गा दिने शर्तमा हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको उनले बताए । घटना गराउने मुख्य योजनाकार बुद्धिराम कोहारले नगद २० हजार र ५० हजार गरी २ पटकमा ७० हजार मृतकको काकाबाट लगेका थिए ।
यस्तो छ घटना विवरण
५ गते मृतक र उनका भाई बिहानैदेखि मदिरा सेवन गरेर भारतको नौतनवा सम्म पुगेका थिए । सो पश्चात सन्तकुमार र सोनु मुराउ मोटरसाइकलमै नौतनवा पुगी पुनः मदिरा सेवन गरेका थिए । सोनु मुराउले ५० भारुको पाइप र १०० भारुको निद्रा लाग्ने औषधी, लाइटर किनेर चारै जना नेपाल फर्केका थिए ।
नेपाल आएपछि जितेन्द्रको भट्टीमा पुनः मदिरा सेवन गर्ने बेला भाइले मदिरामा निद्रा लाग्ने औषधी मिसाएर खुवाएपछि उनी अर्धचेत भए । सोही स्थानमा अफताव र राकेशलाई सन्तकुमार यादवले मोटसाइकलसहित बोलाएर प्लाष्टिकको बोतलमा पेट्रोल निकालेर एउटा मोटसाइकलमा राकेश अफताव र विरेन्द्र तथा अर्को मोटरसाइकलमा सन्तकुमार राजेन्द्र र सोनु मुराउ घटनास्थलतर्फ लागेका थिए ।
बीच बाटोबाटै राकेश र अफताब आफ्नो गन्तव्यतर्फ लागेपनि बाँकी चार जना सन्त कुमार यादवको स्पेलेण्डर मोटरसाइकलमा घटनास्थल मायादेवी–७, गैरगट्टी आएका थिए ।
बेहोश रहेका राजेन्द्र यादवलाई मोटरसाइकलबाट झारी नौतनवामा किनेको हरियो सेतो पाइपले सन्त, सोनु र विरेन्द्र तिनै जना मिलेर घाँटी कसेर छातीमा खुट्टाले ५–७ मिनेट सम्म थिचेका थिए ।
मरे नमरेको यकिन गर्न उनीहरुले छाती र नाकमा हात र नाक राखी चेक गरेको प्रहरीले कुकुरबाट गरेको अनुसन्धानबाट पत्ता लगाएको छ ।
मृत अवस्थामा रहेका राजेन्द्रलाई घटना स्थल देखि एक कान्लामुनि घिसारेर लग्ने क्रममा मृतकको पाइन्ट र भित्री बस्त्र तल झरेकोले सो कपडालाई उस्कै छातीमा राखेर सोनु मुराउले पेट्रोल छरी पेस्तोल आकारको लाइटरले आगो लगाएका थिए ।
मृतकले लगाएको घडी, बोकेको मोबाइल सोनु मुराउले लगेको केही समय पछि बाकी तिनै जना घटनास्थलबाट एउटै मोटसाइकलमा चढी फर्केको प्रहरीले जनाएको छ । आरोपितहरु नियन्त्रणमा छन् । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।