कास्कीमा निषेधाज्ञा खुकुलो, निजी सवारीमा जोर बिजोर

पोखरा । कास्की जिल्लामा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आजको बैठकले उक्त निर्णय गरेको हो । कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । सङ्क्रमण दर बढ्दै गएपछि असार ७ गतेसम्म लागु गरिएको निषेधाज्ञामा पुनः समय थप गरि असार १५ गतेसम्म थप भएको हो ।
यसअघि थपिएको निषेधाज्ञा असार ७ गते सकिँदै छ । यद्यपि निषेधाज्ञालाई खुकुलो भने पारिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार ७ गते राति १२ बजेदेखि निषेधाज्ञामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरी सञ्चालन गर्न दिइने भएको छ ।
निजी सवारी साधनहरू कार, मोटरसाइकल र स्कुटर जोर बिजोर प्रणाली लागु गरी चल्न दिइने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो । साना सवारी चार पाङ्ग्रे र दुई पाङ्ग्रेले स्वास्थ्य मापदण्ड अपनाएर अनावश्यक व्यक्ति नचढाइ बढीमा चारपाङ्ग्रेका हकमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइने छ ।
प्रशासन कार्यालयका अनुसार औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुला रहन पाउने छन् । तर निषेधाज्ञामा यस अघि जस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाज पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमि पुल, व्युटी पार्लर, शैलुनर फुटपाथ पसल लगायतका सेवा एवम् स्थलहरु नखोल्न तथा संचालनमा रोक लगाइएको छ ।
ती माथि उल्लेखित बाहेकका व्यवसायहरु खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसलहरू तथा डिपार्टमेन्टल स्टोर ग्रोसरी, पुस्तक पसल र स्टेशनरी पसल लगायत बिहान ५ बजेदेखि दिनको १२ बजेसम्म दैनिक खोल्न दिइने भएको छ ।