add frist

कोरोना असर : महँगियो खाद्यवस्तु

काठमाडौँ, जेठ । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा दैनिक उपभोग्य खाद्यान्न महँगो भएको छ । चिनी, खानेतेल, अण्डा, गेडागुडीलगायतका खाद्यवस्तुको भाउ बढेको हो । बजार अनुगमन प्रभावकारी नहुँदा भाउ महँगो भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

नेपाल खुद्रा व्यापार सङ्घले पछिल्लो १०र१२ दिनयता चिनी, खानेतेल, गेडागुडीको भाउ महँगो भएको जनाएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्ला दिनमा थोकमै चिनी प्रतिकेजी १० रुपियाँसम्म महँगो भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकेजी ८० रुपियाँ किनबेच भएको चिनी बढेर ९० रुपियाँ पुगेको छ । सो अवधिमा खानेतेल प्रतिलिटर १० देखि १५ रुपियाँ बढेको छ । गेडागुडी पनि प्रतिकेजी १० रुपियाँ महँगो भएको छ भने कुखुराका अण्डाको प्रतिक्रेट ३० रुपियाँ बढेको सङ्घले जनाएको छ । “भाउ बढ्नुको कारण खोज्दा पाइँदैन । पैसा महँगो तिर्नुपरेको छ तर पैसा तिरेअनुसारको बिल पाइँदैन । साना खुद्रा व्यापारी जहिले पनि मर्कामा परेका छौँ,” अध्यक्ष श्रेष्ठले थप्नुभयो ।

उपभोक्ता अधिकारकर्र्मी माधव तिम्लिसिनाले बजारमा चिनी सकिँदै गएको हल्ला आउनेबित्तिकै चिनी उद्योगीहरूले चिनीको भाउ बढाएको बताउनुभयो । “सरकार मातहतको साल्ट ट्रेडिङ कर्पोरेसनमा चिनीको मौज्दात सकिन थालेको तर नयाँ खरिदका लागि अहिलेसम्म स्वीकृति भएको छैन । स्वीकृत भइहाले पनि तत्काल आउनसक्ने अवस्था छैन । यसैलाई अवसरका रूपमा लिई चिनी उद्योगीले चिनीको भाउ बढाउन थालेका छन्,” तिम्लिसिनाले भन्नुभयो । उहाँले सरकारको नियमनकारी निकायले चिनीको भाउ बढ्नुको कारण खोजी कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

यस्तै तेलको कच्चा पदार्थ विदेशमा बढ्न थालेको हल्ला हुनेबित्तिकै नेपाली बजारमा तेलको मूल्य बढाइनु उचित नभएको उहाँले बताउनुभयो । कुन ब्याच वा लटमा उत्पादन भएको तेल हो त्यो हेरेर पनि त्यस्ता उद्योगीलाई कारबाही सकिने प्रशस्त आधार भए पनि नियमनकारी सरकारी निकाय उदासीन भएको आरोप उहाँको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाईंले बजारमा खानेतेल, चिनी, अण्डालगायतको भाउ महँगो भएको भन्ने गुनासो आइरहेको र त्यसका बजारको अध्ययन गरेर अनुगमनको तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जुन वस्तुको मूल्य बढेको भनिएको छ, ती वस्तुको भाउ बढ्नुको कारण के हो रु त्यो अध्ययन गरेर हामी एकरदुई दिनमै अनुगमन गर्छौं । अनुचित व्यापारिक क्रियाकाप गरेको पाइएमा कारबाही गर्छौं । ”

निर्देशक सेढाईंले महामारी जोखिममा स्वास्थ्य सुरक्षा अपनाउँदै विभागले देशभरका आफ्ना सबै संयन्त्रमार्फत बजार अुनगमन गर्ने कार्यलाई तीव्र रूपमा अघि बढाएको पनि जानकारी दिनुभयो । उहाँले अनुचित व्यापारिक क्रियाकलाप गर्नेविरुद्धमा विभागको निःशुल्क नम्बर ११३७ मा उजुरी गरेर असल र सचेत उपभोक्ताको भूमिका निर्वाह गर्नसमेत आमउपभोक्तालाई आग्रह गर्नुभयो ।

साल्ट ट्रेडिङको मौज्दात चिनी सकिँदै
साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारको विशेष भन्सार छुट ल्याएको चिनीको मौज्दात सकिन लागेको छ । दशैँ, तिहारका लागि भनेर भन्सार छुटमा ल्याएको २० हजार मेट्रिक टन चिनी सकिन थालेको हो । साल्ट ट्रेडिङका अनुसार साढे छ सय मेट्रिक टन मात्रै चिनी बाँकी छ ।

नयाँ चिनी खरिदको स्वीकृतिका लागि पठाएको आधा वर्ष भइसकेको तर अहिलेसम्म स्वीकृति नभएको कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले जानकारी दिनुभयो । मौज्दात चिनी आफ्नै बिक्री केन्द्रमार्फत उपभोक्तालाई बिक्री गर्दै आएको भन्दै उहाँले ‘बजार भाउ नियन्त्रण गर्नका लागि व्यापारीलाई दिनसक्ने चिनी हामीसँग छैन’ भन्ने स्पष्ट गर्र्नुभयो ।

साल्ट ट्रेडिङले आफ्ना बिक्री केन्द्रमार्फत प्रतिकेजी ७८ रुपियाँमा चिनी बिक्री गर्दै आएको छ । बजारमा भने हाल चिनीको खुद्रा भाउ प्रतिकेजी ९० देखि ९५ रुपियाँसम्ममा कारोबार भइरहेको छ । गोरखापत्रबाट ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु