सांसदलाई अध्यक्ष ओलीको आग्रह: पार्टीले कसैलाई काखापाखा गर्दैन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओलीले पार्टीले कसैलाई काखापाखा नगर्ने भन्दै कुनै अपराध कर्मममा सहभागी नहुन आग्रह गर्नुभएको छ। एमालेको माधव कुमार नेपाल सामूहका सांसदले आज राजिनामा दिने हल्ला चलिरहेको समयमा विज्ञप्ति जारी गर्दै ओलीले यस्तो नगर्न आग्रह गर्नुभएको छ।
उहाँले कतै फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने, विरोधिका स्वार्थलाई मलजल गर्ने जस्ता प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भन्नुभएको छ। ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’
‘हल्ला फैलाए जस्तो, हल्ला चलाएजस्तो, पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन। म यो कुरामा आश्वस्त पार्न चाहन्छु ‘, उहाँले भन्नुभएको छ, ‘तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु।’