test3

नियति

"कथा"

मालिकको आदेश मान्दासम्म त ठिकै थियो उसलाई । मालिकले अह्राएको सबै काम गथ्र्यो उसले । गर्न मिल्ने सम्म मात्र । मालिक विहान सबेरै उठ्थ्यो । अलि कम सुत्ने बानीको ऊ पनि मालिकसँगै बिहानै उठिहाल्थ्यो र मालिकको पछिपछि हिँड्दै गतिविधि नियाल्न थाल्थ्यो । मालिकले अह्राएको मान्दै जान्थ्यो । घरमा कोही अपरिचत आए भने पनि आवाज निकालेरै गाली गर्ने उसको बानी नै थियो । मालिकले तालिम दिएकाले चिनेकै मान्छेलाई पनि झम्टिनै सङ्केत पाउँदा वित्तिकै बस उसलाई पुगिहाल्थ्यो । मान्छे जति सज्जा भए पनि त्यसको छाला, मुटु, हड्डी के निकाल्ने हो सबै थाहा थियो उसलाई । एक पटक त संस्कृत पाठशालामा पढिरहेका बटुवाहरुसँग मालिकलाई रिस उठेछ । तिनले आफ्नो लक्ष्यमा बाधा हाले जस्तो मालिकले ठानेछ र उसलाई सङ्केत गरेछ । अनि त पुगिहाल्यो । त्यसपछि त त्यहाँबाट पाठशाला नै हरायो । अनि देशैभरि संस्कृत पढाउन बन्द भएको थियो । मालिकलेउठेपछि आफुले ठूला सपना देखाएर आश्रयमा राखेका प्राणीहरुको अभिलेख हेथ्र्याे । अनि उनीहरुको सक्रियता कस्तो छ भनेर नेटमा चेक गथ्र्यो । त्यसपछि प्रभुको मूर्तिमा गएर एक छिन् प्रार्थना गथ्र्यो । अनि घर फर्किन्थ्यो । यी काम मालिकका दैनिकी नै थिए । मालिकले बोलाएको सङ्केत पाउँदासाथ ऊ हाजिर हुन्थ्यो । “ऊ त्यो सामान लिएर आ” भन्दासाथ सामान आइपुग्थ्यो। कागजको टुक्रामा अमुकअमुक सामान लेखेर घाँटीमा झुण्ड्याइ दिएपछि पुग्थ्यो उसलाई । पसलबाट सामान घरमा हाजिर हुन्थे । कसैको खुन खान मन लाग्यो भने पनि फोटो देखाइदिए पुग्थ्यो उसलाई । घरका सबै सदस्य कमाउन गएकाले बुढाको एक मात्र साथी थियो ऊ । कुनै दिन मासु खान मन लागे त झन आदेश मात्र दिए पुग्थ्यो उसलाई । गाउँमा कसका कुखुरा, बाख्राका पाठा, परेवा आदि छन्छोपेर ल्याइहाल्थ्यो । आफू घरमा नभएका बेलामा परिवारको जिम्मेवारी पनि सम्हाल्थ्यो उसले । सिकारमा सिपालु भएकाले बाघजस्तो मानेर उसको नाम नै ‘बिघु’ राखिदिएका थिए । कपितानी ट्रेनिङ सेन्टरबाट तालिम पनि लिएको थियो बिघुले । मालिक अहिले बुढो हुँदै गयो । अब केही गर्न र सोच्न पनि सक्न छोड्यो । बिघु पनि बुढो हुँदै गयो । अब सिकार गरेर मालिकलाई पाल्न त परै जाओस आफैलाई पनि पाल्न नसक्ने अवस्थामा पुगेको छ ऊ । उसलाई बुढेसकालमा खुइले रोगले पनि सताएको थियो । उसलाई मालिकले खासै चासो दिन पनि छाडेको थियो । गालि मात्र गरिराख्थ्यो । खान दिन पनि त्यति वास्ता गर्दैनथ्यो । तर पनि बिघु घर छोडेर जान सकिरहेको थिएन । आखिर जाउस पनि कहाँ । मालिकले बिघु जस्तै अर्को घरको लाई पनि मिलाएर सँगै बस्ने र आफ्नै हुलमा मिसिएर बस्ने बानी भने पारिदिएको थियोबिघुलाई । आफुले छोडेर हिँड्न सहज होस भनेर यो सबै गरेको थियो मालिकले । अब उमेर ढल्किँदैगयो । आफूलाई स्याहार्न त के गथ्र्यो कुन्नि तै पनि भएको एउटा सन्तान पनि आफ्नो गल्ति अरुले थाहा पाउँछन्भनेर मुसा मार्न थापेको पासोमा पसेर संसारबाट बिदा भएको थियो । एउटी भएकी श्रीमती त झन्कुरै नगरम् । उमेर छँदा आफ्ना पाठापाठी, कुखुरा, परेवा आदि चोरेर खाइदिएको रिस थियो गाउँलेलाई । अहिले उसलाई देखे भने ढुङ्गा हानिहाल्छन्। अनि कुइकुइँ गर्दै भाग्नु बाहेक बिघुको केही उपाय छैन । सधैंको नियति नै यस्तै थियो उसको । बिघु घर मालिकसँगै घर नजिकैको चोकको बजारतिर निस्केको थियो । मालिक बाटो काट्ने सुरसारमा थियो । त्यसैेबेला एक जनाले हानेको ढुङ्गा छल्दै कुइँकुइँको आवाज निकालेर बिघु पनि मालिकसँगै बाटो काट्नलाई पछि लाग्यो । त्यसैबेला हुइँकिएर आएको ट्रकको एकगास हुन पुगे दुबै जना । त्यहाँ हस्याङफस्याङ गर्दै हिँडेका यन्त्र मानवका जस्ता टाउकाको भीडले त्यो दृश्य हेर्दै आफ्नो बाटो लाग्यो । बिघुसँग खेल्ने र सिकारमा सघाउने गरेका एक हुल आएर सबैले पालैपालो सुँघे । कतिले त त्यसैलाई हल्का उँचो ठाउँ मानेर छड्के खुट्टा पनि लाइदिए अनि सबै फर्के । अर्को दिन बिहान मात्र नगर पालिकाको गाडी हर्न बजाउँदै आयो । एउटा पुलिसको गाडी पनि आएको थियो । बुढालाई वेवारिसे भनेर मुचुल्का तयार गरी बोरामा घुसारेर त्यही ट्रकमा हालियो । विघुवालाई भने त्यत्तिकै फालिएको थियो फोहर माथि । त्यो बिघु मरेको भन्ने हल्ला गाउँमा पनि पुग्यो । सबै जम्मा भएको बेलामा गन्दा त सबै गरेर सत्र हजार कुखुरा र पाठाहरु पो खाइदिएको रछ त्यसले । अब भने गाउँले सबै खुशी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु