add frist

गृहपृष्ठ मेरो देश

मेरो देश

"कविता"

सानेको लुगा फाटेको, टुल्कीको जामा टालेको
भुण्टीको दाउराको भारीले चोलीको आङ देखिएको
चित्रेको फाटेको कछाडबाट लमौटी देखिएको
भान्सामा बसेकी बसन्ती धुजाधुजा भएको सारीको फेर बेरेर
भट्ट र गुन्द्रुकका साथ खुडिरहेको
अनि
दश जना परिवारमा एक माना पिठोको तरन,
भाडोमा छैन तर बसन्ती भन्छिन् थोरै थपन
केटाकेटीलाई निर्वाह लगाएर बाडेर खान्छन्
पेट बाहिर आउने कहिल्यै हैन
पानी खाएर सबैले सुन्नेगरी डकार्छन् ।
बिचरा बसन्ती अक्सर भाँडो चाटेर अघायछिन् ।
कस्तो कारुणिक पीडा
दिनभरि भैंसीको गोठालो, नित्य घाँस काट्नुपर्छ,
ढुंग्राभरि दूध दुहेर ल्यायो, दही मथ्नुपर्छ,
ध्यु बेच्नका लागि मात्र, महीको पानीले खोले निल्नुपर्छ ।
म दूध खन्याइसकेपछिको कुराउनीको लोभमा भान्सा कुरेको देखेरहोला
भाउजु भन्छिन् अरुलाइ हैन बाबुलाई कुराउनी दिनुपर्छ ।
त्यसैले त म भाउजुको साख्खैछु,
खानेबेलामा सधै भाउजुकै साथमा हुन्छु ।
अघाइञ्जेल खान नपाए पनि,
पाउने आशमा नजिकै बसेको हुन्छु ।
कथामा सुनेको चौरासी ब्यञ्जनका कुरा
हजुरबा कथा सुनाउदै फलाक्नुहुन्थ्यो मोजमस्तीका कुरा,
एकोहारो सुनिरहन्थे, मुखमा पानी रसाउने हुन्थ्यो
जब सकिन्थ्यो कथा आफूलाई जस्ताको तस्तै हुन्थ्यो ।
पोहोर बहिनी थलिएर टाइफाइटले गई उपचार नपाएर,
ठूलाबा निमुनियाले खसे औषधी नपाएर
अचम्मको दृष्य देख्न पाए मैले हिजो
दिदीसंग पछ्याएर उनकी मितिनी कहाँ जाँदा
हजुरबाको चौरासी ब्यञ्जन देख्दा मनमा बिज्यो
कुन्नी कताबाट हो ? अडरका आधारमा खाना आयो,
मासुका परिकार कतिकति, कैयौं परिकार पाकेका छन् ।
आफै समान भण्ट्याङ्भुण्टुङ खादाखादै थाकेका छन् ।
भाडापिच्छे फ्याकिएकाछन् आफ्नो घरलाई पुग्ने जति
लबाइखुवाइ बिचित्रको रमाएका जहान जति
घर कस्तो न कस्तो, गगनचुम्बी महलै रहेछ
हामी किन पीडित भयौं ? कि तिनको नागरिकता विदेशी रहेछ ?
बोली कुन्नी कहाँबाट ल्याइएको हो बुझ्नलाई भो अति कठिन
बोल्न नेपाली नै हो कि ? झैं लाग्छ तर दिदीसमेत वाक्क भइन् ।
कुनै कुराको पनि कमि छैन सबै राम्रै बिचित्रता आखिर के ले गर्दा ?
कस्ले देखेको छ गरिबकोपीडा ? कस्तो भयो होला अभाबभित्र मडारिनु पर्दा
प्रत्यकको गाडी रहेछ, बाहिर निस्कनु पर्दा
कस्तो मानवीय चोला त्यस्तो ? भएन सबैलाइ के ले गर्दा ?
एउटै आमाका सन्तान, केले यस्तो बिभेद भो ?
चेर्ने मान्छेकै ठूलो स्वर, चोर्न चाही नछोड्ने भो ।
धुताहा र कमिशनखोरको अधिक बिग्बिगी बढेर गो ।
खाने, खुबाउने र रुवाउनेको ताँती नै लाग्यो
न्याय खोज्नका लागि साँच्चै कहाँ जाने हो ?
समानता, स्वतन्त्रता मानवाधिकार सुन्नका लागि मात्र भए,
गास, बास र कपासको सुनिश्चितता कागजमा मात्र सीमित भए ।
स्वाबलम्वन,सर्बाधिकारको सुनिश्चितता सुन्नका लागि मात्र सीमित बने
समाजबाद,सार्वभौंम र स्वधिनता देखाउने दाँत मात्र बने
आफू कहाँ छु र कर्तब्य के हो ? भन्ने कुरा समेत बिर्सेर आज मानिस,
बिखण्डन र पाखण्डीको पुच्छर समाई बैतर्नी तर्ने आँट गर्ने भए ।
हय ! मेरो देश ,किन आज रोहिरहेछ निरन्तर
देशलाई सुसज्जित पार्न सबै जुटा,ैं
देशको मुहार फेर्नका निम्ति
अनि,
मानवताको रक्षा र अधिकारको संरक्षणका निम्ति
अखण्डता र देशको अस्तित्व एवम् स्वाभिमानका निम्ति
समानता र समताका निम्ति,
सभ्यता र संबृद्धिका निम्ति
आआफ्नो ठाउँबाट उठी
लडी रहौं निरन्तर ।

भरतमणि भट्टराई
श्री रामकोट मा वि, रुपा ७, कास्की ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु