लुम्बिनी एक्पोमा ब्यापार बढ्दो,दैनिक उपभोग्य सामान एकैठाँउमा पाउदा दर्शक खुसी
- बसन्तराज बराल
- 29 Dec, 2023
<
बुटवल,१३ पुष । स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहर देखि गाँउसम्म व्यापार विस्तार भन्ने नाराका साथ पुस ५ गतेदेखि बुटवल मण्डप स्थित प्रदर्शनी केन्द्रमा लुम्बिनी एक्स्पो २०८० भव्य रूपमा सञ्चालन भैरहेको छ ।
लुम्बिनी एक्स्पो यतिबेला किनबेचको केन्द्र बनेको छ । महोत्सवमा आएर रमाइलो पनि हेर्न पाइने र घर फर्कदा आफूलाई आवश्यक पर्ने स्वदेशीदेखि विदेशी सामान सुपथ मूल्यमा पाइने भएपछि महोत्सव स्थल व्यापारिक केन्द्रबिन्दु बनेको हो ।
महोत्सव अवलोकन गर्न आउने दर्शकमध्ये अधिकांशले घर फर्किदा केही न केही सामान किनेर फर्किने गरेको पाइन्छ । अघिल्ला दिनको तुलनामा व्यापारको कारोबार बढेको आयोजक संस्था रूपन्देही व्यापार संघका महासचिव दयानिधि भण्डारीको दाबी रहेको छ ।
करिब मेलामा रहेका ६ सय ६० बाट फरक–फरक प्रकृतिका स्टलमा दैनिक उपभोग्य सामान पाइने भएपछि दर्शक खुसी हुँदै फर्किने गरेका छन् । ब्यापार मेला पुस १८ गतेसम्म चल्नेछ । आर्थिक मन्दीको बेलामा समेत लुम्बिनी एक्स्पोमा राम्रो व्यापार भएको भन्दै व्यावसायीहरु सन्तुष्टि देखिएका छन् ।
शुक्रबार मात्र करिब ४० लाख बराबरको आर्थिक कारोबार भएको र अहिलेसम्म आउँदा ५ करोड ७० लाख बराबरको कारोबार भएको आर्थिक संयोजक ऋषिराम पाण्डेले बताए । हालसम्म दर्शकको संख्या २ लाख ९० हजार पुगेको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए । शनिबार झन्डै एक लाख भन्दा बढी मेलामा सहभागी हुने संघले अपेक्षा गरेको छ ।
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको मेलाले यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन् । लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन, उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न मेलाले सघाउ पुग्ने आयोजकले विश्वास लिएका छन् । महोत्सव सञ्चालनले यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आर्थिक चलयमान भई व्यवसायीहरूमा उत्साह थपिने आयोजकको दाबी छ ।
मेलाको आर्कषणको केन्द्र सांस्कृतिक कार्यक्रममा विविधि प्रतियोगिता र कलाकारहरुको प्रस्तुतिमा दर्शकहरु मन्त्रमुग्ध बनेका छन । मनोरञ्जनात्मक कार्यक्रमका लागि राष्ट्रिय चर्चित कलाकारहरुको उपस्थितसंगै स्थानिय कलाकारको प्रस्तुतिमा दर्शकहरु रमाएका थिए । शुक्रवार सांस्कृतिक कार्यक्रमतर्फ लोक तथा लोकदोहोरी कलाकार अर्जुन कौशल,शान्तिरानी परियार,योगराज पोखरेल,सम्झना रणपालको प्रस्तुति रहेको थियो । साथै विधालय स्तरीय लोक नृत्य प्रतियोगिता,किसान पाइप लोकदोहोरी प्रतियोगिता, डान्स आइडल र अन्य विविध सांस्कृतिक कार्यक्रम लगायतको प्रस्तुतिले स्टेज तताएको थियो ।
शनिवार चर्चित लोक तथा लोकदोहोरी गायिका शान्तिश्री परियार,दिपक गरौजा,रेनु राना मगर तथा हास्य कलाकार बिष्णु जी पाण्डे (माईला बा) लगायतको प्रस्तुति प्रस्तुति रहने मेला सांस्कृत उपसमितिका संयोजक प्रकाश पौडेलले बताए ।
पुस १८ सम्म चल्ने एक्सपोमा गार्मेन्ट तथा तयारी पोशाकका १ सय ४१,होटेल तथा रेष्टुरेन्टका २३, कृषिका ४० ,अन्तर्राष्ट्रिय १०, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका ७८ स्टल,श्रृंगार, अटोमोवाइल्का ७, उपहार तथा खेलौनाका ५२,ब्याग र जुत्ता चप्पलका ६८ र,फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिकका ५३,बैंक÷वित्तिय संस्था एवं शैक्षिक संस्थाका १८,सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८, औषधिजन्य ६६ स्टल,स्टेशनरी तथा स्पोर्टसका ८¬¬ रहेका मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । मेलाको १० लाख दर्शकले अवलोकन गराउने तथा ५० करोड बढीको कारोबार गर्ने आयोजकको अपेक्षा छ ।