शनिवार लुम्बिनी एक्स्पोमा अवलोकनकर्ताको अत्यधिक चाप
- बसन्तराज बराल
- 30 Dec, 2023
<
बुटवल, १४ पुष । बुटवल मण्डप स्थित (लुम्बिनी एक्स्पो २०८० ) बुटवल प्रदर्शनी केन्द्रमा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेलाको १० औं दिन आज शनिवार थामिनसक्नुको भीड भयो । दर्शकहरुको भिड अहिलेसम्मकै अत्यधिक हुन पुग्यो । प्रदर्शनी स्थल बुटवल मण्डपको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रको क्षेत्र अवलोकन कर्ताहरुले ओइरो नै लाग्यो । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज प्रवेश र निकासकाद्वारहरु पनि थप गरिएको थियो ।
रूपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहर देखि गाँउसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि बुटवल मण्डप स्थित प्रदर्शनी केन्द्रमा लुम्बिनी एक्स्पो २०८० भव्य रूपमा सञ्चालन भैरहेका प्रदर्शनीमा दर्शकहरुको अत्यधिक भिडलाई नियन्त्रण गरी सहज रुपमा अवलोकन गर्ने व्यवस्था मिलाउन आयोजकहरुलाई हम्मेहम्मे परेको थियो ।
मेला हेर्न अवलोकनकर्ताहरु विहान ९ वजेदेखि टिकट काउन्टरमा लाइनमा बसेका थिए । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज रुपमा प्रदर्शनी स्थलमा छिर्न मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका संयोजक तथा सदस्यहरु सक्रिय भएका थिए । आज मेला अवलोकन गर्न भिड बढ्ने अनुमान गर्दै पूर्व आवश्यक तयारी गरिएको थियो ।
शनिबार सार्वजनिक विदा परेका कारण दर्शकहरुको भिड अत्याधिक हुने अनुमान गरिएको भए पनि आयोजकले अनुमान गरेको भन्दा धेरै दर्शक आएपनि आधुनिक प्रदर्शनी केन्द्रमा नयाँ व्यवस्थापनका साथ आयोजना गरिएकोले कार्यक्रममा दर्शकहरुले कुनै पनि प्रकारको समस्या झेल्नु नपरेको जनाइएको छ । एक्स्पो हेर्न आएका दर्शकहरुको भिड अत्याधिक बढेपछि टिकट काउण्टर बढाएर टिकट विक्री गरी सहजता प्रदान गरेको मेलाका सदस्य सचिव दयानिधि भण्डारीले बताए ।
लुम्बिनी एक्स्पो सचिवालयले दिएको जानकारी अनुसार शनिवार एकै दिन प्रदर्शनी अवलोकन गर्न १ लाख ६० हजार दर्शक मण्डपमा प्रवेश गरेको अनुमान गरिएको छ । प्रदर्शनी अवलोकन गर्न आउने दर्शकहरुलाई टिकट लिन सहज होस भन्दै आयोजकको तर्फबाट विहानै टिकट काउन्टर थप गरी प्रवेश टिकट विक्री गरिएको थियो । आजको दर्शकहरुको उपस्थितिलाई बुटवलमा हालसम्म आयोजना भएका प्रदर्शनीहरुमा सबैभन्दा धेरै रहेको अवलोलनकर्ताहरुले नै बताएका छन् ।
मण्डप भित्रका दर्शकहरुलाई बाहिर निस्कनका लागि २ वटा छुट्टै निकासको व्यवस्था गरिएको थियो । दर्शकहरुको भिडका कारण बुटवल मण्डप पुरै भरिएको थियो । गेटबाट अवलोकनका लागि छिरेका दर्शकहरु स्टल हुँदै मञ्च रहेको खाली मैदानमा र बाल मनोरञ्जन क्षेत्रमा पुगेका थिए ।
महोत्सव सञ्चालनले यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आर्थिक चलयमान भई व्यवसायीहरूमा उत्साह थपिने आयोजकको दाबी छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरू, कृषि तथा पशुजन्य वस्तुहरू, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरूको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायत थुप्रै कार्यक्रमहरू समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
पुस १८ सम्म चल्ने एक्सपोमा गार्मेन्ट तथा तयारी पोशाकका १ सय ४१,होटेल तथा रेष्टुरेन्टका २३, कृषिका ४० ,अन्तर्राष्ट्रिय १०, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका ७८ स्टल, अटोमोवाइल्का ७ , श्रृंगार, उपहार तथा खेलौनाका ५२,ब्याग र जुत्ता चप्पलका ६८ र,फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिकका ५३,बैंक÷वित्तिय संस्था एवं शैक्षिक संस्थाका १८,सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८, औषधिजन्य ६६ स्टल,स्टेशनरी तथा स्पोर्टसका ८ रहेका मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । मेलामा १० लाख दर्शकलाई अवलोकन गराउने तथा ५० करोड बढीको कारोबार आयोजकको अपेक्षा छ ।