असोज २६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

काठमाण्डौं । आगामी मंसिर ४ गते आइतबार हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका तयार गरेको छ।
स्वीकृत कार्यतालिकाअनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ भने मतदान सकिएको दिनदेखि नै मतगणना सुरु हुनेछ। उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गर्ने र २८ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने आयोगको कार्यतालिका छ।
असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गर्ने र २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ। प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा तथा ३३० प्रदेशसभा सदस्य पदका लागि ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन्।
असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ।
मंसिर १ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ र ४ गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान हुनेछ। निर्वाचनका लागि दल दर्ता खुलिसकेको छ र यही साउन ३१ गतेसम्ममा दल दर्ता गरिसक्नु पर्नेछ।