पुन : एकिकरण गर्ने भए १५ दिन भित्र आउनु : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दल दर्ता खारेज गरेको छ । दल दर्ता खारेज गर्दै उसले एकिकृत दलको रुपमा रहने हो भने १५ दिन भित्र केन्द्रिय कमिटीको निर्णय गराएर उपस्थित हुन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई आग्रह गरेको छ।
आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणअघिको अवस्थामा पुगेका दुई दललाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निर्णयसहित उपस्थित हुन भनेको हो।
‘दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरणपछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी–लेनिनवादी० र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,’ निर्वाचन आयोगको निर्णयमा उल्लेख छ।
यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले २०७५ जेठ २३ गते नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । तर सर्वोच्च अदालतले गत आइतबार नेकपाको नाम निर्वाचन आयोगमा पहिले नै दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो भएको भन्दै खारेज गरेको थियो ।
आयोगको बैठकले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा रहेको जानकारी केन्द्रमा संघीय संसद सचिवालयसँगै प्रदेश सभा सचिवालयहरूमा पनि पठाउने निर्णय गरेको छ
आयोगको पत्रसँगै अब संसद सचिवालयले छुट्टाछुट्टै दलका रूपमा एमाले र माओवादी नेताहरूको सिट व्यवस्थापन गर्नुपर्नेछ। उनीहरूको बस्ने ठाउँ फरक हुनेछ।