रूपाताल : उदायमान पर्यटकीय गन्तब्य
- सत्यदीप सन्देश
- 09 Jan, 2024
<
पितृराज अधिकारी
पोखरा उपत्यकामा रहेका फेवाताल, वेगनास ताल, रुपाताल, दिपाङ्ताल, मैदी ताल, गुदेताल खास्टे ताल र न्युरेनी ताल मध्य रूपाताल तेस्रो ठुलो ताल हो । यो ताल नेपालको गण्डकी प्रदेश अन्तर्गतको कास्की जिल्लाको पोखरा महानगरपालिकाको वडा नं. ३१ र ३२ तथा रूपा गाउँपालिकाको वडा नं. ६ मा अवस्थित छ । समुन्द्रि सतहबाट करिव ६०० मिटरको उचाइमा रहेको यो ताल २८ड्ढ८ ,उत्तरी अक्षाशं र ८४ड्ढ६’ पुर्वी देशान्तरमा अवस्थित छ । रूपातालको क्षेत्रफल १.३५ वर्ग कि.मि रहेको छ । पोखरा उपत्यकाका अन्य तालहरुसंगै यो ताललाई सन २०१६ फेब्रवरी २ मा रामसारमा सुचिकृत गरिएको हो । तालको उत्तरबाट तालवेशी खोला र दोभान खोला यो तालमा मिसिन आउछन भने दक्षिणबाट तालखोला निस्किएर बग्दछ ।
किम्बदन्ती अनुसार रुपाताल चेवान नाम गरेका अन्धा ऋषिको जन्मस्थान हो । ऋषिले ध्यान गरिरहेको बेलामा एकजना सारैती नाम गरेका राजा आफ्ना केहि सहयोगी र राजकुमारीका साथ त्यहाँ आइपुगे । त्यसै बखत राजकुमारीले एउटा चम्कीएको वस्तु देखिन र छुन पुगिन । त्यसपछि अचानक उक्त वस्तुबाट रक्तश्राप हुन पुग्यो र त्यो घटनाले राजालाई रिस उठेका कारणले राजपरिवारका सबैजनाको पिसाव बन्द होस भनी श्राप दिए । यसले राजपरिवारमा ठूलो खलबल मच्चियो । राजाले आफ्नी छोरीलाई ऋषिसंग माफ माग्न भने र ऋषिसामु गएर माफ मागिन । राजकुमारीले आफ्नो गल्तीको लागि उक्त अन्धो ऋषिसंग विवाह गरी सेवामा समर्पित हुने प्रण समेत गरिन । एकदिन ऋषि र राजकुमारी तालमा नुहाइरहेको बेलामा ऋषि पानीमा डुबे । राजकुमारीले अलापविलाप गर्दै भगवानसंग आफ्नो श्रीमान फिर्ता ल्याइदिन प्रार्थना गरिन केहि समयपछि तालबाट दुईजना ब्यक्ति प्रकट भए र उनलाई अलापविलाप गर्दै रुनुको कारण सोधे । राजकुमारी ले सबैकुरा बिस्तारमा भनेपछि उनिहरू भगवान भएको र उनको इच्छा पुरा गरिदिने बताए । केहि बेरमै ऋषि पानीबाट बाहिर आए र त्यतीबेला ऋषि अन्धो नभएर आँखा देख्न सक्ने भएर निस्किए । साथै उनी पहिलाजस्तो बूढो अनुहार नमिलेको नभई भर्खरको बयष्क र सुन्दर अनुहार भएर निस्किए । तालमा डुबेर निस्कदा ऋषिको रूप परिवर्तन भएकाले यो तालको नाम रुपाताल रहन गएको हो । आज ऋषि डुबेको उक्त स्थानमा बाराही मन्दिर रहेको छ ।
रुपातालको निर्माण कसरी भयो भन्ने सन्दर्भमा दुईवटा प्रमुख बिचारहरू रहेका छन । होनि र हेगनको सन् १९६९ मा प्रकाशित रिपोर्ट अन द जिओलाजिकल सर्भे अफ नेपाल मा उल्लेख भए अनुसार विगतमा हालको पोखरा उपत्यका पलेओ – पोखरा तालको अवशेषको रूपमा हालका पोखराका तालहरू रहेका हुन । यसैगरी डाक्टर हर्क गुरुङको सन १९७० मा हिमालयन रिभ्यु मा प्रकाशित जिओ मर्फोलोजी अफ पोखरा भ्याली नामक लेखमा उल्लेख भएअनुसार विगतमा सेती नदीमा मिसिन आउने साहायक खोलाहरूमा नदीले बगाएर ल्याएको पांगो, ढुङगा आदि थुप्रिन जाँदा खोलाहरू थुनिन गई हाल पोखरा उपत्यकामा रहेका तालहरूको निर्माण भएको हो र यसै क्रममा रूपातालको पनि निर्माण भएको हो । रुपातालमा आजपनी रूखका ठुटाहरू पाइनुले डाक्टर हर्क गुरुङको अवधारणा बढी विश्वासिलो मानिन्छ ।
रुपा ताल आसपासमा प्रसस्त सिमसार क्षेत्र रहेको हुँदा यो क्षेत्र सम्भवत पोखरा उपत्यकाका अन्य तालहरूभन्दा जैविक विविधतामा धनी छ । यहाँ सहर, कत्ले, कांडे, भुर्लुक, बाम, ढुङ्गे बाम, भोटी, विकासे भोटी, जुङ्गे, फुर्से, झिङ्गे,बुदुना, भित्ते, बालिम जस्ता स्थानीय जात जातका माछा र रहु, नैनी, भ्याकुर,कमन कार्फ, ग्रास कार्प, सिल्भर कार्प, बिगहेड कार्प, जर्मन कार्प, इजरायल कार्प,माहुर जस्ता आयातीत जातका माछाहरू पाइन्छन् । यो तालमा रातो टाउके हाँस,पुँडे हॉस, नाके हाँस,राज हाँस, जोगी हाँस, कुरकुरे हाँस, जलेवा, स्याङ्कुखुरा, मलेवा, वाज, माटिकोरे, हुटिट्याङ, कुइरे बकुल्ला, कालो बकुल्ला, हिले कौवा जस्ता विभिन्न प्रजातीका चराहरू पाइन्छन् । हिउँदमा साइवेरीयाको मैदानबाट जाडो छल्न विभिन्न प्रजातीका चराहरू यो तालमा आउने गर्दछन् । गृष्मको सुरुवातसँगै यस्ता चराहरू आफ्नौ उत्पत्ती स्थलतर्फ फर्कने गर्दछन् । यो तालमा सिमल काँडे, भैंसी काँडे, कमल, करौंते घाँस, नाभो, जलकुम्बी, पत्क्यौली, नर्कट, जस्ता अन्य स्थानमा बिरलै पाइने वनस्पतिहरू पाइन्छन् । यो तालमा विभिन्न खालका भ्याकुताका प्रजाती, जुका, पुतली शङ्खे किरा, सिपी जस्ता जिवजन्तु हरु पानि पाइन्छन् । यो तालमा विद्यमान जैविक विविधताको संरक्षण गर्नपनि तालको संरक्षण गरी यो ताललाई लोप हुनबाट बचाउन आवाश्यक छ ।
उत्तरबाट रुपातालमा मिसिन आउने तालवेशी खोला र दोभान खोलाले बर्षायाममा ठुलो मात्रामा ढुङ्गा माटो बगाएर ल्याई थुपार्दा विगतमा भन्दा तालको क्षेत्रफल र गहिराई दुबै घट्दै गएको छ । ताल आसपासमा सडक निर्माण र वस्ती विस्तार जस्ता कारणले हालका वर्षहरूमा यो क्रम अझै बढ्दै गएको छ । स्थानीय वयोवृद्धहरूले दिएको जानकारी अनुसार विगतमा ताल उत्तरमा तालवेशीको मरुवासम्म र दक्षिणमा सिठ्ठेनी चौतारासम्म फैलिएको थियो । विभिन्न कारणहरूले ताल बिस्तारै पुरिदै जाँदा विगत सयबर्ष अगाडीको तुलनामा झण्डै पचास प्रतिशतले घटेको अवस्था छ । ताल प्रतिवर्ष १० देखी १५ रोपनीका दरले पुरिदै गएको कुरा विगत लामो समयदेखी तालको अवलोकन गरिरहेका स्थानीय बुढापाकाहरू बताउँछन ।
विगतमा स्थानीयहरूलाई तालको आर्थिक तथा पर्यावरणीय महत्व थाहा थिएन । उनिहरू ’ताल काल’ भनेर भन्ने गर्दथे । स्थानीय काठका मुढाबाट बनाइएका डुङ्गा चढेर ताल वारपार गर्दा मानिसहरु डुबेर मर्ने हुनाले ताललाई काल भन्ने गरिएको हो । तालको महत्वको बारेमा जनमानसलाई थाहा नभएको हुनाले संरक्षणको प्रयासपनि गरिएन । पछि तालको महत्व थाह भएपछि वि.स २०५८ चैत १ गते स्थानीयहरूले रुपाताल पूर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्था लिमिटेड नामको सहकारी स्थापना गरी सहकारी मार्फत माछापालन गरी आयआर्जन गर्नुका साथै जैविक विविधताको संरक्षण गर्ने र सरसफाई गर्ने कार्य गर्दै आएका छन । उक्त सहकारी संस्थाले विभिन्न माध्यमबाट तालको प्रचारप्रसार गर्ने क्रममा सङ्घीय सरकारको आँखा यस तालमा प¥यो र रूपाताल संरक्षण एकिकृत विकास परियोजना मन्त्रिपरिषदबाट आर्थिक वर्ष २०७३/७४ मा स्वीकृत भइ कार्यन्वयनमा आएको छ । रुपाताल एकिकृत विकास परियोजना अन्तर्गत रुपातालको दक्षिणी भागमा ६ मिटर उचाई भएको ६३५ मिटर लामो बाँध बनाइने छ । बाँध बनीसकेपछि तालको हाल भएको ३ देखी ६ मिटर गहिराईमा थप ४ मिटर बृद्धि हुने छ । त्यसैगरी तालको क्षेत्रफल भइरहेको १.३५ वर्ग कि.मि.बाट बृद्धि १.८३ वर्ग कि. मि हुने छ । रुपातालको पश्चिमी किनारमा ६.९० लम्बाई भएको उच्चकोटिको पदमात्र निर्माण गरिने छ । तालको पूर्वी भागमा ७.८० किलो मिटर लम्बाइ तथा ५ मिटर चौडाई भएको नाला सहितको पक्की सडक निर्माण गरिने छ । तालको बिच भागमा माछा आकारको कृतिम थुम्को निर्माण गरी बाराही मन्दिर आकर्षक बगैचा निर्माण गरिने छ । यस बाहायक परियोजनाको एउटा संग्रालय र पौडी पोखरी निर्माण गर्ने लक्ष्य पनि रहेको छ । तालमा निर्माण गरिने बाँधको दक्षिण पुर्वी भागमा आकर्षक पार्क र पिक्निक स्पट निर्माण गरिने छ । तालको उत्तरी भागबाट तालमा मिसिन आउने तालबेशी खोला र दोभान खोलामा ९० वटा चेक ड्याम र ७ वटा कन्जर्वेशन पोण्ड निर्माण गरिने छ । यसले बर्सेनि बर्षायाममा खोलाले बगाएर ल्याएको ढुङ्गा माटोले ताल पुरिने दरमा कमि आउने छ । हाल परियोजनाको २५ प्रतिशत काम सम्पन्न भइसकेको छ । परियोजनाले यी सम्पूर्ण कुराहरू आर्थिक वर्ष २०८१÷८२ सम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । सम्पूर्ण निर्माण कार्यहरू सम्पन्न हुँदा रूपाताल एक बहुउद्देश्यीय आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकास हुने छ ।
पोखरा नेपालको पर्यटकीय राजधानी भनिएपनि सिमित पर्यटकीय स्थलहरू हुँदा पर्यटकहरू लामो समयसम्म आडिन नसक्ने अवस्था छ । यहाँ फेवाताल, सराङ्कोट,बेगनासताल र केहि गुफाहरु पर्यटक स्थलको रूपमा भएको सन्दर्भमा अब रूपाताल एउटा थप आकर्षक पर्यटकीय स्थल बन्ने छ । रुपाताल पृथ्वी राजमार्गबाट करिब ४ किलो मिटरको दुरीमा अवस्थित छ । तालको पश्चिमी क्षेत्रमा भञ्ज्याङ, सुन्दरीडाँड आसपासमा पर्यटकका लागि सुविधा सम्पन्न होटेल ,लज र रेष्टुरेन्ट निर्माण भइ सञ्चालनमा छन । सधै त्यहाँ, बेगनास लेक रिर्सोट विगत लामो समयदेखी सञ्चालनमा रहेका छ । तालको पुर्बी भागमा पनि धमाधम होटल, लज र रेस्टुरेन्ट निर्माण भइ सञ्चालनमा आएका छन । यहाँबाट करिव ५ किलो मिटरको सडक दुरीमा रुपाकोट रिर्सोट सञ्चालन भइरहेको अवस्था छ । रूपाताल एकिकृत विकास परियोजन सम्पन्न भइसकेपछि रुपाताल पदयात्रा,जैविक विविधताको अध्ययन अनुसन्धान ढुङ्गा सयर, तिर्थ यात्रा, केटाकेटीका लागि मनोरञ्जन जस्ता विविध खालका पर्यटकीय गतिविधिहरू लागि प्रसिद्ध स्थल बन्ने छ । पर्यटन विकाससँगै यस क्षेत्रमा विभिन्न खालका पर्यटकसंग सम्बन्धित व्यापार व्यवसायको विकास हुनुका साथै रोजगारीका अवसरहरू सिर्जना हुनेछन् । यसले गर्दा मानिसहरुको आय स्तरमा बृद्धि हुनुको साथै चेतनाको स्तरमा पनि सकरात्मक परिवर्तन आउने छ । माछा जस्तो मानिसका लागी आवश्वक पर्ने पौष्टिक एवं प्रोटिनजन्य खाद्य वस्तुको उत्पानमा रुपाताल पहिले देखिने प्रख्यात छ । पोखराका विभिन्न तालहरूमा पाइने माछा मध्य रूपातालको माछा सबैभन्दा स्वादिष्ट भएकाले ग्राहकहरुका लागि प्रमुख रोजाइको माछा बनेको छ । हाल रुपाताल आसपासमा सञ्चालित होटल रेष्टुरेन्टमा रूपातालको माछाको स्वाद लिन टाढा टाढाबाट पानि आउने गर्दछन् । परियोजनाको कार्य सम्पन्न हुँदा जैविक विविधताको अध्ययन जस्तै जलचर पंक्षीको अध्ययन, माछाका प्रजातीको अध्ययन जलीय वनश्पतिको अध्ययन आदिका लागि रूपाताल आकर्षक एवं उपयुक्त केन्द्र बन्न सक्छ । यस्ता पर्यटकीय गतिविधिले यस क्षेत्रको समग्र सामाजिक – आर्थिक विकासमा थप मद्दत पुग्ने कुरामा पनि सुनिश्चित हुन सकिन्छ ।