रूप फेरेको माघी पर्वले आफैलाई बिर्सेर गयो
- सत्यदीप सन्देश
- 15 Jan, 2024
<
डा. मुकुन्द शर्मा
माघीपर्व को आरम्भ समयका बारेमा यकिन तथ्याङ्क नभए पनि एक जना कहलिएका थारु विद्वान्ले २६४३ औं वर्षगाँठ भनेर फेसबुकमा स्रोतविनाको स्टाटस राखेकाले अर्को तथ्य फेला नपर्दासम्म यसैलाई नै आधार मान्नुपर्ने हुन्छ । हुन त यसको स्रोतका बारेमा युद्धमा हारेको घटनालाई ‘पृथ्वीनारायण शाहले कीर्तिपुरे नेवारहरूको धार्नीका धार्नी नाक काटिदिएका थिए’ भनेर एउटा विदेशीले भनेको भन्ने हवाला दिँदै अर्को विदेशीले नै लेखिदिएको कुरालाई सत्य मान्दै आए जस्तो हुने पो हो कि भन्ने शङ्का गर्ने ठाउँ पनि छँदैछ । थारुहरू केही सम्पन्नशाली र केही हरूवाचरुवा र दासका रूपमा नै सीमित थिए भन्ने कुरा हलिया मुक्ति आन्दोलन र माग पुरा गरिएको भन्ने सरकारको घोषणाले पुष्टि गर्दछ । जेजसो भए पनि भाषा, रीतिरिवाज, वेशभूषा, सांस्कृतिक प्रचलन आदिको सम्पन्नताका दृष्टिले नेवारपछि थारु जाति नै पर्दछन् भन्ने कुरामा दुईमत छैन । केहीसमय अघिसम्म श्रमजीवी थारुहरू श्रममा व्यस्त हुँदा फुर्सद कम मात्र हुने र एकदिन भए पनि चोखोमिठो खाने, राम्रो लुुगा लगाउने, पुराना संस्कृति झल्किने नाचनृत्यहरू गर्ने गराउने गरेर रमाइलो गर्ने प्रचलन थियो भन्ने कुरा मेरो बाल्यकालको अनुभव छ । त्यसबेला थारु संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर कुनै संघसंस्था लागेका थिएनन् । थारु कल्याणकारिणी सभा पनि कोठे बैठकमै सीमित थियो । र पनि थारु जातिका भाषा, रहनसहन, वेशभूषा, रीतिरिवाज, परम्परा, खानपान, संस्कार, मनोरञ्जनका साधनका रूपमा रहेका नाचनचरी, गीत, कथा, गाथा, उखान, टुक्का, गाउँखाने कथा जस्ता विधाहरू जीवन्त नै थिए ।
जब स्थानीय सांस्कृति सम्पदामा स्थानीय अधिकार, आत्मनिर्णयको अधिकार आदि जस्ता नारा राजनीतिक पार्टीले उचाल्न र यस्ता संस्कृतिलाई प्रचारवाजी सामग्रीका रूपमा प्रयोग गर्न थालियो त्यसपछि आफ्नै थातथलोमा बसोवास गरिरहेका थारु जातिका यस्ता सांस्कृतिक परम्पराको निरन्तरतामा ह्रास आई कतिपय हराइसकेका छन् भने कतिपय हराउने पुगेका छन् । कुनै राष्ट्र वा जातिको पहिचान मेटाउनु छ भने त्यसको संस्कृति समाप्त पारिदिनुपर्छ भन्ने एकजना विदेशीले भने जस्तै आज केहीमा धार्मिक परिवर्तनदेखि धेरैजसोमा अन्य संस्कृतिको संवरण गर्ने संस्कृतिको प्रभाव यस जातिमा पनि पर्दै गएको देखिन्छ । यसैले यिनका सांस्कृतिक परम्पराको निर्वाह गर्नका लागि गरिने कार्यक्रम आयोजना गर्न पनि संघसंस्थाहरू आयोजक बनिदिनुपर्ने भएको छ । कुनै आयोजक नभेटिएमा कार्यक्रम नै आयोजना हुँदैन भन्ने कुरा यस वर्षको माघी उत्सव कार्यक्रम केही ंसंस्थाको सहयोगमा मात्र र केही स्थानमा मात्र सञ्चालन हुन सकेबाट थाहा हुन्छ । यसका साथै प्रायः प्रत्येक वस्तीमा हुने गरेका यस जातिका यस्ता कार्यक्रमहरू हाल आएर साविक ३ देखि ७ ओटासम्म गा.वि.स. मिलाएर पुनर्संरचना गरिएका पालिकाको एक ठाउँ वा केही पालिकाको एक ठाउँमा कुनै संस्थाद्वारा आयोजना गरिदिने परम्परा बस्न पुगेको छ ।
कार्यक्रममा पहिरिने वेशभूषा तत्कालीन थारु संस्कृति अनुरूपका रहेका भए पनि ती वेशभूषा त्यही दिनमा मात्र पहिरिने बाहेक अन्य समय र उक्त जातिकै पार्विक वा सांस्कृतिक अवसरमा पनि पहिरिने गरेको देख्न पाइँदैन । ढकिया बुन्ने, माछा मार्ने जस्ता परम्परा त आधुनिकता र भौतिक विकास तथा मुजा, काँस आदि जस्ता खर उत्पादन हुने ठाउँमा घडेरीको विकास हुन गई कच्चामाल उत्पादन हुने वस्तु र स्थानको अभाव तथा त्यसका विकल्पमा आएका अन्य साधन, कृषिमा पेसामा देखिएको विचलन जस्ता कारणले लोप हुन पुगेको हुन सक्छ भने तिनका सीपको हस्तान्तरणको अभावमा आगामी पुस्तालाई ‘थारु जातिमा पहिलापहिला यस्तोयस्तो थियो रे’ भन्ने किम्बदन्तीमा रूपान्तरण हुने अवस्थामा पुग्न लागेको छ । यस जातिका नाचनचरी त झन भारतीय हिन्दी गीतको प्रभाव र आकर्षण, रोजगारीको खोजीमा युवाहरूको पलायन, नाचनचरी, गीत, गाथा, उखान, टुक्का, गाउँखाने कथा जस्ता जातीय पहिचान बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने लोकसाहित्यका विधा तथा जाति झल्किने आफ्ना सीप र वेशभूषाको संरक्षण गर्नुपर्दछ भन्ने बारेमा जनचेतनाको अभाव जस्ता कारणले धर्नुजग, सीता विवाह, सोरठी विवाह, माधोनल नाच, अगहनवाँ गीत जस्ता कैयौं विधाको लोप हुन पुगेको छ । यसको संरक्षण गर्न सके लुम्बिनीको दर्शन गर्न आउने पर्यटकलाई यततिर पनि आकर्षित गर्न सकिन्थ्यो र आय आर्जनको माध्यम बन्थ्यो भन्ने बारेमा यस जातिका अगुवा, यसै जातिका मत लिएर नेतृत्वमा पुगेका नेता, स्थानीय कला संस्कृति पाठ्यक्रममा राख्नुपर्छ भनेर नारा बनाउने राजनीतिक दल, स्थानीय शिक्षक, यस जातिकै उत्थानका लागि भनेर खडा गरिएका संघसंस्था लगायतले गर्न त परै जाओस सोच्न पनि सकेका छैनन् । स्थानीय सरकारले पनि यस्ता विषयमा वैज्ञानिक अनुसन्धान गराई अभिलेख राख्नेतर्फ भन्दा आफ्ना कार्यकर्ताको भरणपोषणमै बजेट समाप्त गर्ने गरेको देखिन्छ । केही स्थानीय सरकारले अध्ययन गराएका भनिएका प्रतिवेदनको अध्ययन र अध्ययन गर्नेको योग्यता हेर्दा अनुसन्धानको रूप कस्तो होला भनेर हाँसो उठ्दो देखिन्छ । जे होस समय क्रमले अरु विधाले रुप फेरे झैं यसले पनि आफ्नो रुप फेर्नु स्वाभाविक हो तर आफैलाई नविर्सोस र पुनः फर्केर आफ्नै रुपमा आओस यही शुभकामना ।
समग्रमा भन्नुपर्दा स्थानीय सरकार मातहतका क्षेत्रमा रहेका सम्पूर्ण जातजातिका सांस्कृतिक सम्पदाका बारेमा वैज्ञानिक अनुसन्धान गराई अभिलेखीकरण गर्नुपर्ने र स्थानीय पाठ्यक्रम निर्माण गर्दा पनि यिनै सामग्रीलाई उपयोगमा ल्याउन सके तथा पाठ्यक्रम निर्माण गर्दा स्थानीय भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, परम्परा, वेशभूषा, लोककला जस्ता विषयलाई जगेर्ना गर्ने प्रकारको बनाउन सकेमा भावी पुस्तालाई हाम्रो परम्परित भौतिक र अभौतिक सांंस्कृतिक सम्पदा सुम्पिन सकिने थियो । तर यी कुरा गन्थनमा मात्र सीमित हुन्छन् कि औंलामा गन्न पुग्ने निकायले भए पनि कार्यान्वयन गर्लान् भन्ने कुरा भविष्यको गर्भमा छ । जे होस माघीले आजसम्म विर्सिन थालेकाले अब उप्रान्त पुनर्जगेर्ना गरी ऊ आफ्नै घरमा पुनः फर्केर आई आफ्नो घर सम्हालेर सबैलाई चित खुवाउने छ भन्ने आशा गर्न सकिन्छ । शुभहोस ।
लेखक पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौंका सहप्राध्यापक हुन् ।