छोरीहरु आफन्तबाटै असुरक्षित
![top-news](https://satyadeepsandesh.com/public/uploads/images/newsimages/maannewsimage26052024_163458_baltkar.jpg)
- सत्यदीप सन्देश
- 26 May, 2024
बुटवल जेठ । बलात्कारका घटनाहरु अपरिचितबाट भन्दा चिनेजानेकै वा आफन्तबाट बढी हुने गरेकाले तथ्यहरु सार्वजनि भएका छन् । पछिल्ला केही वर्षका घटनाक्रमले पीडितहरु लगभग ८० प्रतिशत भन्दा बढी आफन्त र नजिकका व्यक्तिहरुबाट यौन हिंसा र मानव बेचविखनको शिकार बनिरहेका छन् ।
प्यूठानकी १६ बर्षीया बालिका आफ्नै काकाबाट पटक पटक बलात्कृत हुनुभयो । सामान्य परिवारमा जन्मेकी बालिकाको आर्थिक अवस्था असाध्यै कमजोर थियो । बालिका भन्नुहुुन्छ “सामान्य गरिब परिवारमा जेठो सन्तानको रुपमा जन्मिए । बाबाले ज्याला मजदुर गर्नुहुन्छ, आमाले घरको काम गर्नुहुन्छ । मेरो घरमा बाबाआमा भाईबहिनी र काकाकाकीसँगै सगोलमा बस्छौ । दश कक्षासम्म दुखम सुखम पढें । अरु माथि कक्षामा पढने रहर गरिवीको कारण टुंिगयो ।” मैले पढन पाइन् । घरमा गाई बाख्रा थिए । पढन छोडेपछि बिहान बेलुका घरको काममा आमालाई सघाउथे र दिउँसो बाख्रा चराउन जान्थे । सबै राम्रै चलेको थियो । एकदिन बाख्रा चराउन जंगल गएको बेलामा अंकलले मलाई जवरजस्ती मेरो संवेदनशिल अंगमा समात्न खोज्नुभयो । बल्लबल्ल म भागें । म सपनामा झस्के जस्तो भएँ । आफ्नै बाबा समानको मान्छे बाबाको भाईले कसरी यस्तो हर्कत गर्नसक्छन र ? मनमा विभिन्न कुराहरु खेले किन मलाई यस्तो व्यवहार गरेको होला ? “मेरो बाबा आमा सोझो हुनुको फाईदा उठाएको जस्तो अनुभूति गरें । मैले ममाथि अंकलले गरेको हर्कत र मैले खेपेको पीडा घरमा भन्दा विस्वास मान्लान की नमान्लान मलाई उल्टै गाली गर्ने पिटाइ गर्ने गर्छनकी यो कुराले मलाई छटपटी भयो । बेचैन बनायो । तर न आमालाई भन्न सक्छु न बाबालाई त न काकीलाई ....। विस्तारै म अलिक आफुलाई अंकलदेखि टाढा र होसियार हुन खोजें एउटै घरमा बस्ने, एउटै भान्साको खाना खाने, गाई बाख्रा हेर्न जंगल त्यही पापीसँग जानुपर्ने मेरो बाध्यता भयो ।” आँखाभरी आसु पार्दे सुक्क सुक्क गर्दे ....बोल्न सक्नुभएन् ।
धेरै बेरपछि लामो स्वास लिदै उफ ......यसरी बाखा चराउन जाँदा त्यो पापीले मलाई धेरै पटक आक्रमण गर्न खोज्यो म चार पाँच पटक भागेर जोगिए । एक दिन बाख्रा गोठालो गएकै बेला किन डराएकी मैले केही गर्दिन भन्यो । र फोनमा भिडियो हेर भन्यौ र मलाई जवरजस्ती समातेर गिद्धले सिनो लुछेजस्तै गरी लुछ्यो । आँखाभरी आँसु धरधरी बगाउदै “केही हुदैन् अव सधैं यस्तै गर्नुपर्छ भन्यो । म चिच्याए, रोए कराए तर जंगलमा मेरो आवाज कसले सुन्ने ? त्यो पापीले आफुलाई मन लाग्दासम्म मलाई लुछिरहयो । “ आजको कुरा कसैलाई नभन्नु यो तेरो र मेरो वीचको कुरा हो कसैलाई भनिस भने तेरो सबै परिवारलाई सिध्याइदिन्छु भन्दै धम्की दिन थाल्यो । मैले डरले कसैलाई भनिन् म मरिसकेको थिए, बाँच्न मन पटक्कै लाग्न छोड्यो । यो अपराधी पापीष्टबाट कसरी बच्न सकिन्छ र यसलाई जेल हाल्न सकिएला भन्ने हुन्थ्यो तर मेरो केही लाग्दैन्थ्यो ।”
गरिब परिवारमा जन्मेकै कारणले त होला मलाई घरकै बाउ समानको मान्छेले यसरी चुस्यो । चार महिनाको समयमा मलाई त्यो पापीले सात पटकसम्म बलात्कार गरयो । मानसिक यातना दियो मेरो परिवारको मान सम्मान सबै माटोमा मिलाई दियो । “ म धेरै पटक आत्मा हत्या गर्ने सोंच पनि बनाए, तर अवसर भएन् ।” धेरै पहिला यस्तो हर्कत नगर्दे पनि मलाई भारत जाउ घुम्न भन्थ्यो । मैले पढाइ विगारेर को घुम्न जान्छ भन्थे । मेरो पढाईको लागि बाबा आमाले धेरै दुख गर्नुभएको छ मैले केही गर्नुपर्छ भन्थे । त्यो पापीले मलाई धेरै पहिलेदेखि नै बेच्न खोजेको रहेछ । फेरी भक्कानिदै बोल्न सक्नुभएन् ।
एकदिन भोलि राती नै हामीहरु भारत जानुपर्छ १ वजे हिडने हो । यो कुरा कुसैलाई नभन्नु भन्यो । मैले पनि अव भारत जान्छु भनेर वोडरमा बस्ने पुलिसहरुलाई भन्छु र यसलाई जेल हाल्न सकिन्छ की भन्ने कुरा मनमा आयो । र मैले हुन्छ भने आँखाबाट आसुका धारा खसाउदै भन्नुभयो । “ त्यो पापीको सल्लाह अनुसार रातको १ वजे घरबाट ६ घण्टाको बाटो हिडेर, मेरो घर धेरै विकट गाउँमा छ विहानको ११ वजे बल्ल गाडी लाग्ने बाटोमा आइपुगियो । गाडी चढेर कृष्णनगर दिउँसो ४ वजे पुगियो, मनमा धेरै पीडा थियो अव यसले मलाई कता लगेर बेच्छ होला पुलिस भेटिएन भने भन्ने चिन्ताले विरोलेको थियो । ” कृष्णनगर पुगेपछि म अटो खोजेर ल्याउँछु त यही बस भन्यो एक्लै बसेको थिए । मनमा धेरै पीर, चिन्ता र आमा, बाबा र भाई बहिनीको संझनाले सताएको थियो । मनमा अव भेट कसरी होलार यो पापीले कि बेच्छ कि मार्छ भन्ने मनमा थियो र मलाई मारे पनि बाबाआमा भाईबहिनी त बाँच्न पाउँछन भन्ने थियो । यत्तिकैमा आँसु थामिएनन्, भक्कानिनुभयो ।
टोलाएर मनमा विभिन्न कुराहरु खेल्दै थिए एक्कासी आषिश भन्ने संस्थाकी दिदीले बोलाउनुभयो र सोध्नथाल्नुभयो । मलाई ढुंगा खोज्दा देउता भेटेजस्तो भयो । मेरो मनले घरदेखि जे सोचेको थिए त्यही भयो । त्यो पापी काका र मलाई एक्लै एक्लै राखेर सोधपुछ गर्नुभयो हाम्रो कुरा नमिलेपछि घरको फोन नं माग्नुभयो । बाबाले रोक्नुस जान नदिनुस भन्नुभएछ । मैले ममाथि भएको सबै अत्याचार बुबा र प्रहरी सबैलाई भने २ दिन पछि बाबा आएर कानूनी प्रकृयामा गइयो । “अहिले त्यो पापी जेलमा छ । म संस्थामा आश्रय लिइरहेको छु । अहिले सीप सिक्दैछु । धेरै चोटी मरिसकेको मान्छे म अव मर्दिन् ।” अव केही साहस बढेको छ । त्यो पापी जेलमा छ पक्कै न्याय पाउँला । भन्ने आसमा छु । उहाँले लामो सास फेर्दे भन्नुभयो ।
अहिले आरोपित व्यक्तिमाथि जवरजस्ती करणी, मानव बेचखिन तथा ओसार पसार सम्बन्धी कसुरमा मुद्धा चलिरहेको छ । आरोपित पुर्पक्षका लागि कारागार छन् । पछिल्लो समय समाजमा यस्ता धेरै थुप्रै घटनाहरु घटेका छन् ।
प्रदेश प्रहरीको तथ्यांक अनुसार आव.०७६/०७७ मा ४ सय ४३ जना, ०७७/०७८ मा ५ सय ६९ जना, ०७८/०७९ मा ५ सय १४ जना, ०७९/०८० ४ सय ४७ जना र ०८०/०८१ मा ९१ जना पीडित भएको तथ्यांक छ । तथ्यांक अनुसार आ.व. ०७६/०७७ मा रुपन्देहीमा सबैभन्दा धेरै ६३ जना र सबैभन्दा कम रुकुम पूर्वमा ५ जना पीडित भए, त्यस्तै आ.व. ०७७/०७८ मा रुपन्देही र दाङ्गमा सबैभनदा बढी ८० जनार सबैभन्दा कम रुकुम पूर्वमा ४ जना पीडित भए । त्यस्तै ०७८/०७९ सबैभन्दा बढी पीडित दाङ्ग जिल्लामा ८३ जना र सबैभन्दा कम अर्भाखाँची र रुकुम पूर्वमा ४, ४ जना पीडि भएको तथ्यांक छ ।
त्यस्तै ०७९/०८० मा सबैभन्दा बढी दाङ्ग ८५ जना र सबैभन्दा कम अर्घाखाँची ६ जना, त्यस्तै ०८० /०८१ मा दाङ्ग र रुपन्देहीमा २१ जना पीडित भएको लुम्बिनी प्रदेश प्रहरीको तथ्यांक रहेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशको विगत पाँच वर्षको तथ्यांकलाई विश्लेषण गरेर हेर्दा बालिकाविरुद्ध हुने यौनजन्य हिंसाको तथ्यांकन विगतको तुलना डरलाग्दो देखिन्छ । आ.व.२०१८ मा १ सय ५८ ओटा घटना घटेकोमा २०१९ मा २ सय ४८ जना, २०२० मा २ सय ८३ जना, २०२१ मा २ सय ८० जना, २०२२ मा २ सय ९५ जना र २०२३ मा २ सय ४२ जना पीडित भएको देखिन्छ
इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भोला महतले इन्सेकले हरेक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तकमा मानवअधिकारको समग्र अवस्थाको चित्र आउँछ । सोही अनुरुप इन्सेकले आफ्ना कार्यक्रमहरुलाई अगाडी बढाएको छ । घरभित्र हुने यौनजन्य हिंसाका पीडितहरुले सुरक्षाको वातावरण नभएको कारण पीडालाई दवाएर राख्ने, समयमा उजुरी दिन नजाने घरपरिवारभित्र घटेका घटनाहरुमा भरसक घरमै दवाउने भएकोले इन्सेकले यस्ता वढी घटना घटने जिल्लाहरुमा स्थानीय पालिकाहरुमा मानवअधिकार समूह गठन तथा क्षमता अभिबृद्धि गरि उनीहरुलाई परिचालन गर्ने, मानवअधिकारमैत्री संस्कृतिको विकासमा जोड दिने जस्ता कार्यक्रमहरु मार्फत सचेतिकरण तथा पैरवी गरेको छ ।
महतले पीडितलाई न्यायमा पहुँच पुरयाउनका लागि संरचनागत सुधार, उजुरी लिने प्रहरीको क्षमता अभिवृद्धि, यस्ता घटनाहरुलाई प्राथमिकतामा राख्ने र बलात्कार विरुद्ध सुन्य सहिष्णुताको नीति अवलम्बन गरी पीडितलाई न्यायको पहुँचमा पुर्याउनुपर्ने बताउनुभयो ।
पीडितको सुरक्षा, प्रमाणको संरक्षणदेखि लिएर समाजमा पुर्नस्थापनाको काममा समेत स्पष्ट रुपमा सरकारी नीतिको कार्यान्वयनको अभाव, कानुनी कारवाही प्रभावकारी नभएको अवस्था छ । जसले गर्दा दोषीहरु उम्कने वा कम सजाय पाउने अवस्थाले पनि ‘कतिपय अवस्थामा मुद्दाका फाइल पल्टाउँदा थुप्रै ठाउँमा खोजिनुपर्ने तथ्यहरु नखोजिएर संवेदनशीलता र गम्भीरतालाई कसरी कमजोर बनाइएको छ भन्ने पनि भेटिएका तथ्य छन् ।’ बलात्कारका घटनाहरु अकस्मात बढेको भने पक्कै होइन । पहिले लुकाइने त्यस्ता घटनाहरु अहिले बाहिर आउन थालेकाले संख्या बढेको भन्ने लाग्छ । बलात्कारको मुख्य कारण महिलाको शरीरलाई वस्तुका रूपमा हेर्ने पितृसत्तात्मक सोच भएकाले छोरीहरु असुरक्षित हुन्छन् ।
राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सोमनाथ सुवेदीले घरभित्र हुने यौन हिंसा विरुद्ध पीडितले लडन र न्यायमा पहुँच पुरयाउन सक्ने वातावरण राज्यले ग्यारेण्टी गर्नुपर्ने बताउनुहुन्छ । सुवेदी भन्नुहुन्छ घरभित्र परिवारका सदस्यहरुबाटै हुने यौन हिंसाका विषयमा यस्ता हिंसाहरु जगन्य अपराध हो । यसका विषयमा विद्यालयस्तरको पाठयक्रममा राख्नुपर्छ । यसरी पाठ्यक्रममा राख्दा कस्ता कस्ता हिंसाहरु हुनसक्नछ, हिंसा भैहाले कसरी प्रतिवाद गर्न सकिन्छ । कसरी उजुरी गर्ने प्रकृया, कहाँ गर्ने लगायतका विभिन्न विषयमा जानकारी दिन सके सचेतना बढाउन सकिन्छ । अर्कोकुरा जसको लागि कानून निर्माण गरिएको हो । ती नागरिकहरुले जानकारी पाएका छैनन् । यी विषयमा जानकारी दिने दायित्व राज्यको हो । राज्य यस्ता विषयमा संवेदनशिल भएर नागरिकलाई सचेतिकरण गर्ने, कसरी गर्ने भन्दा विभिन्न मिडियाहरुमा पत्रपत्रिकामा लेखर, रेडियो टिभीमा बोलेर सूचनाको प्रवाह गर्न सकिन्छ त्यस्ता विषयमा राज्यले लगानी गर्नुपर्छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बलात्कार र मानव बेचविखन तथा ओसार पसारका आरोपितहरुमध्ये अधिकांश घरभित्रै र नजिकका मान्छे भएकोले कतिपय अवस्थामा इज्जत जाने मानप्रतिष्ठा घट्ने कारणले उजुरी आउदै नआउने वा उजुरी ढिला आउने गरेको बताउनुभयो ।
यस्ता खालका अपराधहरु घटाउनका लागि जनचेतना मूलक कार्यक्रमहरु र कानूनी शिक्षामा जोड दिएर त्यस्ता घटनामा पीडितको न्यायका लागि र सुरक्षाका लागि विभिन्न निकायहरुसँग समन्वय गरेर पीडितलाई सुरक्षित आवास गृहमा पठाउने अपराधीलाई कानून बमोजिम सजायका लागि कारवाही अगाडी बढाएको दिनुपर्ने बताउनुभयो ।