उपमहानगरपालिकाले नियमित पत्रकार सम्मेलनमा नगर प्रमुख र पत्रकारबीच विवाद

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सार्वजनिक कार्यक्रममै पत्रकारमाथि अपमानजनक शब्द प्रयोग गरेका छन् ।
उपमहानगरपालिकाले स्थानीय तहको निर्वाचन पछि चार महिनाको अवधिमा भएका प्रगति सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख पाण्डेले पत्रकार डिबी सुस्लिङलाई अपमानजनक शब्द प्रयोग गरेका हुन्। पत्रकार सम्मेलनमा उनले ग्लोबल आवाजका समाचार प्रमुख सुस्लिङलाई ‘तपाईंले जहिले पनि नेगेटिभ समाचार लेख्ने ? आफूले लेखेका समाचारबारे तपाईंलाई लाज लाग्नु पर्ने हो’ जस्ता शब्द प्रयोग गरेका थिए ।
उपमहानगर प्रमुख पाण्डेले अपमानजनक शब्द प्रयोग गरेको भन्दै प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चौतारीले विज्ञप्तिमार्फत आफ्ना कार्यसमिति सदस्य सुस्लिङप्रति भएको अपमानले स्वतन्त्र प्रेसप्रतिको सम्मानमा आँच पुगेको उल्लेख गरेको छ ।
अध्यक्ष लक्ष्मण पौडेलद्वारा जारी विज्ञप्तिमा पत्रकार सम्मेलन आयोजना गरिएको स्थलमै पत्रकार सुस्लिङलाई नगर प्रमुख जस्तो पदमा बसेको व्यक्तिले अनावश्यक लाञ्छना लगाउँदै अपमानजनक शब्द प्रयोग गर्नु गम्भीर विषय उल्लेख छ । ‘यसप्रति प्रेस चौतारी नेपाल रुपन्देही बुटवल उपमहानगर प्रमुखको उक्त कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।